• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने तयारी ★   आगामी आर्थिक वर्षको बजेट आज, के–के छन् नयाँ कार्यक्रम ? ★   गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ: सभापति देउवा ★   सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माण होस्ः राष्ट्रियसभा अध्यक्ष दाहाल ★   जनमुखी विकासका लागि प्रेरणा मिलोस्ः सभामुख घिमिरे ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना ★   अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित ★   गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छः राष्ट्रपति ★   गणतन्त्र दिवस मनाइँदै ★   गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत होः प्रधानमन्त्री दाहाल

पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि हिमाल आरोहण



म्याग्दी । पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् ।

सेभेन समिट ट्रेक्समार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट टे«क्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिनुभयो । उनीहरूले मङ्गलबार बिहान ७ः३० बजेको समयमा धवलागिरि आरोहण गरेका हुन् । दुवैजनाले शेर्पाको सहयोगबिना हिमाल आरोहण गरेको कम्पनीले जनाएको छ ।

आरोहण गरेर फर्किएपछि बार्केटले चार हजार सात सय मिटरको उचाइमा स्किसमेत गर्नुभएको थियो । दुवैजना एमएडी स्कि परियोजनाअन्तर्गत धवलागिरि हिमाल आरोहण गर्न गएका थिए । गत चैत अन्तिम साता आधार शिविर पुगेका अन्य आरोही पनि धवलागिरिको चुचुरो नजिकै पुगेका बताइएको छ । धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरूले आरोहीका लागि बाटो बनाइसकेका छन् ।

स्पेनका ८३ वर्षीय कालोर्स सोरियाको टोली क्याम्प–३ मा पुगेको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस याममा २४ पुरुष र ११ महिलाले धवलागिरि हिमाल आरोहणको अनुमति लिएका छन् । सेभेन समिट कम्पनीबाट २६ जनाले धवलागिरि हिमाल चढ्न लागेका छन् । सेभेन समिट, इलाइट र पाइनर एडभेन्चरले धवलागिरिमा आरोही लगेका हुन् । चैतको अन्तिम साता धवलागिरि गएका आरोही प्रतिकूल मौसमका कारण करिब एक महिनासम्म आधार शिविरमा रोकिएका थिए ।

वैशाख अन्तिम हप्तादेखि मौसममा सुधार आएपछि आरोही चुचुरोतर्फ लागेका थिए । पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न म्याग्दीको दानाका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले वैशाखमा धेरै हिउँ परेकाले आरोहणमा ढिलाइ भएको बताउनुभयो ।

सन् १९६० मे १३ मा पहिलोपटक अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्वीस धवलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जेले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेका थिए । पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा विदेशी र नेपाली आरोही काठमाडौँबाट सडकमार्ग हुँदै ताकम र त्यहाँबाट हेलिकोप्टरमार्फत आधार शिविर पुग्ने गरेका छन् । आधार शिविरसम्म पुग्नका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले पदमार्ग निर्माण गर्दै आएका छन् । अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धवलागिरि पदमार्गको यात्रा चुनौतिपूर्ण मानिन्छ । यस याममा पनि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविर पुगेका छन् । धवलागिरि हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ ।