२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र न्यायालयको वर्तमान बहस र गोपाल पराजुलीका संयोगका पानाहरु



अ+ अ-

देशमा हाल जारी बन्दाबन्दीको तम्तयारी सरकारले गरिरहेका बेला पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको आत्मबृत्तान्तपरक पुस्तक संयोगका पानाहरुको विमोचन भएको थियो । त्यस समारोहमा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले अरु दुई पुस्तकको गुह्य रहस्योद्घाटन गर्नुभएको थियो ।

संयोगका पानाहरुबारे बोल्ने क्रममा उहाँले त्यस विषयप्रवेश गर्नुअघि भन्नुभएको थियो– “म स्कुल पढ्दा गुरुले पृथ्वी घुम्छ भनेर सिकाउनुभएको थियो । तर मलाई विश्वास थिएन । बालो दिमाग न हो, खोइ कसरी घुम्छ होला भन्ने लाग्थ्यो । आफूले आज देखेका सबै चिज भोलि पनि आफ्नै ठाउँमा देख्छु, खोइ घुमेको ? घुम्ने भए त यी पनि अन्यत्रै कतै पुग्थे होला जस्तो लाग्थ्यो । यत्रो पृथ्वी कस्ले घुमाउन सक्ला र ? कसैले यसै भनिदियो होला भन्ने ठान्थेँ र घुम्दैन भन्नेमा ढुक्क थिएँ । तर केही समयअघि मैले एकजना पूर्व मन्त्रीको आत्मवृत्तान्त पढ्न पुगेँ । त्यसपछि बल्ल थाहा पाएँ पृथ्वी घुमाउने मानिस त यहाँ पो रहेछ । अनि नेपालको सुरक्षा निकायका एकजना पूर्वप्रमुखले पनि थोरै थोरै भए पनि पृथ्वी घुमाउन सहयोग गरेका रहेछन् ।

तर यो आत्मवृत्तान्त लेखेर गोपाल पराजुलीजीले यसरी पृथ्वी घुमाउने दुस्साहस गर्नुभएको छैन । पृथ्वी घुमाउनु त के बरु मुलुकको प्रधानन्यायाधीशले नै आफूलाई परेको अन्यायलाई खुलस्त गरेर बाहिर निकाल्न समेत सक्नुभएको छैन ।”

उहाँको यो रहस्योद्घाटनपछि त यो भन्दा पनि पहिले ती दुई पुस्तक पढ्नैपर्ने भयो । किनभने मलाई पनि पृथ्वी घुमाउने मान्छेको बारेमा जान्न मन लाग्यो । पुस्तक चाहिँ उही परेछ– धेरै पन्ना देखेर यसअघि मैले पढ्न छोडेको । पछि पढेँ । नभन्दै ती लेखकले नेपालको मात्र नभएर दक्षिण एसिया, चीन हुँदै अमेरिकासम्मकै पृथ्वी फनफनी घुमाएका रहेछन् । तर ती पात्र र पुस्तकको समीक्षा अहिले यो आलेखको आसय भने होइन । अहिलेको प्रसंग गोपाल पराजुलीका संयोगका पानाहरुको हो र उहाँले त्यसरी पृथ्वी घुमाउने प्रयत्न गर्नुभएको छ, छैन भनेर खोज्नु हो ।       

उहाँका संयोगका पानाहरु त्यस्तो समय पारेर आएका छन् कि यतिबेला नेपालका अखबार (अनलाइनका समेत) पानाहरु स्वतन्त्र न्यायपालिका विषयका समाचारले भरिएका छन् । त्यसो त न्यायपालिकाको स्वतन्त्रताको विषय यसरी अखबारका पन्नाहरुमा छर्पष्ट हुने र नागरिकले खोजी खोजी पढ्नुपर्ने विषय हो । किनभने न्यायालयमा बस्नेलाई न्यायमुर्ती भनिने हुनाले मुर्तीले वस्तु नभएर विवेकले काम गर्छन् भन्ने नै हो । तर अहिले त्यस्तो छैन । लाग्छ, यतिबेला न्यायालयमा उठेका बहस र नागरिक पैरवी सुन्दा अहिले इतिहासमै सबैभन्दा विवादमाछ मुलुकको सर्वाेच्च न्यायलय । 

यसअघि राजनीतिक दलका कोटामा न्यायाधीशहरु नियुक्त भएकाले त्यसको परावर्तन अहिलेको नेपाली समाजमा भएको छ । सामाजिक सञ्जालमा अहिले के विषय उठेको छ भने अब पार्टीका न्यायाधीशहरु भएकाले अबका दिनमा झगडियाहरुले पनि आफ्नो पार्टीको न्यायाधीश खोज्ने दिन आउँदैछ । अब न्यायालयमा झगडियाले मेरो मुद्धा हेर्न मलाई त्यही न्यायाधीश चाहिन्छ भन्ने दिन पनि आउँदैछन्, आदि आदि । 

मुलुकको न्यायालय स्वतन्त्र हुँदो हो त यतिविधि मुखरित हुने थिएन नेपाली समाज । आशा र भरोसाको अन्तिम किल्ला हुनुपर्ने मुलुकको न्यायालयप्रति उठिरहेको यो अति नमिठो प्रश्न हो । अहिले यो पुस्तकको समीक्षाका क्रममा वर्तमानको यो प्रसंग जोड्नुपर्नाको कारण के छ भने यो वातावरण ल्याउन लागिपरेको त्यस समयको न्यायक्षेत्रका सिन्डिकेटहरुको घानमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई हालिएको थियो ।

उहाँमाथि मुलुकको सर्वाेच्च न्याय क्षेत्रका मानिसहरु देखिने सारथीका रुपमा मिडियालाई अघि सारेर यसरी खनिएका थिए कि मानौँ पराजुली हटेपछि मात्र यस क्षेत्रमा रामराज्य छाउँछ । तर उनीहरुले गरेको विजारोपणले अहिले सबैभन्दा सम्मानित र सबैभन्दा आलोचनाविहीन हुनुपर्ने निकाय नै सबैभन्दा विवादमा तानिएको छ । यहाँसम्म कि प्रधानन्यायाधीशले इजलास गठनमै यतिविधि आशंकाको ओइरो लागेको छ । यो प्रसंगतिर पनि अहिले त्यति नजाउँ, किनभने न्यायालयको मानहानीको उजुरी पनि मपलाई खेप्नु छैन ।  

नेपाली बजारमा पछिल्ला वर्षहरुमा बडो चल्तीको शब्द छ सिन्डिकेट । यो व्यापार, राजनीति तथा यस्तै अरु पेशातिर त होला तर के मुलुकको सर्वाेच्च न्यायालयमा पनि यस्तो हुन्छ र ? हुन्छ भन्ने जवाफ सुन्दा मानिसलाई बडो अचम्म लाग्न सक्छ । गोपाल पराजुलीले आफ्ना संयोगका पानाहरुमा राखेका कतिपय प्रसंगहरुको गहिराइ नाप्ने हो भने त्यो आश्चर्यको रहस्योद्घाटन राम्रैसँग भएको छ । जीवनभर कानुनी शब्दहरु खेलाउन सिपालु भएर होला उहाँले यी विषयहरुलाई जस्ताको त्यस्तै अर्थात् सीधा भाषामा भने राख्नुभएको छैन ।   

गोपाल पराजुली नेपालमा करिब २८ वर्ष न्याय सेवाममा बिताउनुभएको छ । उहाँ आफ्नो क्षेत्रको सबैभन्दा सर्वाेच्च पद सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर निवृत्त हुनुभयो । यसलाई कुनै पनि जागिरे या पेशाकर्मीले सफलताका रुपमा लिनुपर्छ । करिब तीन दशकको न्याय सेवाजस्तो संवेदनशील क्षेत्र र काममा रहेको कुनै व्यक्तिका लागि निष्ठा, समर्पण र इमान्दारिता नहुने हो भने सर्वाेच्च पदमा पुग्नै गाह्रो पर्छ, त्यो निश्चित हो ।

तीन तीन दशकसम्म कुनै व्यक्तिले आफूले सेवा गर्ने नाममा खराब काम गर्यो भने उसले आफ्ना कार्यको सर्वाेच्चता चुम्नै सक्दैन भनेर सामान्य रुपमा पनि विश्लेषण गर्न सकिन्छ । हुनत उहाँलाई अफूले उचाइका खुड्किलाहरु चढ्दै गर्दा पनि षड्यन्त्र एवं असहयोग त भो नै होला तर पनि यो कृतिभित्र छिर्दै जाँदा भने उहाँलाई प्रधानन्यायाधीश भएपछि नै बढी हमला भएको देखिन्छ । अनि थाहा हुन्छ कि देशलाई नै न्याय दिने ओहदामा रहेको एकजना व्यक्ति कति धेरै अन्यायमा परेको रहेछ भन्ने कुरा । अनि कुनै संस्थाको प्रथम व्यक्तिलाई तपाईँ आजदेखि कार्यालय नआउनु होला भन्ने सूचना त्यस कार्यालयको पिएनले दिन्छ र त्यसले मान्यता पाउँछ भने त्यो बेइमानीको हद कतिसम्म होला भन्ने अनुमान गर्ने ? त्यस्तै नियती भेटिन्छ उनीमाथि । 

आफ्नासँग नै कसरी प्रतिशोध लिने, आफ्नैलाई अन्याय कसरी गर्ने भन्ने विषयमा न्यायमूर्तिहरू संलग्न हुनसक्ने तथ्य पनि यो पुस्तकका पानाहरुमा शुक्ष्म रुपमा खोज्यो भने भेटिन्छ । खासमा प्रधानन्यायाधीशहरु बनाउने र रोक्ने जालो बुन्न स्वयं न्यायमुर्तीहरु नै लाग्दारहेछन् । त्यसैले अहिले बाहिरतिर भन्ने गरिएका बिचौलियाको खेल त्यहाँभित्र पनि हुदोरहेछ । सायद त्यसैलाई सेटिङमा पनि भन्ने गरिएको छ अहिले ।

अनेकन पाटाहरू भेटिन्छन् यसका पानैपिच्छे । र ती सबै रोचक छन् अनि हरेक पानाले गम्भीर प्रकृतिका प्रश्नहरु उठाउँदै गएका छन् । यसैले यो पुस्तकलाई नेपालको न्याय क्षेत्रको अनुसन्धान गर्न मिल्ने एक ग्रन्थका रुपमा अध्ययन गर्न र संग्रह गर्न सकिन्छ । 

न्यायालयमा सबैभन्दा बढी फोहोरी राजनीतिक खेल देखिएको र घटना भएको समेत सुशीला कार्कीको कार्यकाल नै हो । न्यायालयमा सायदै हुने र सुनिने विषय उहाँका समयमा घटना भएरै बाहिर आएको छ । उहाँले आफ्ना केही पूर्ववर्ती न्यायाधीशहरूको गलत सुझाबमा बढी विश्वास गरेर पनि हुनसक्छ अवस्था त्यस्तै नै देखियो । यो विषयको चर्चा यहाँ किन गर्नु परिरहेको छ भने गोपाल पराजुलीको प्रधानन्यायाधीशमा नियुक्ति प्रसंग र उहाँका अनुभवहरूसँग सुशीला कार्की पनि एउटा अहं पात्रका रुपमा रहनुभएकै हो ।

उहाँले गलत सुझावहरुलाई आफ्नो मार्गदर्शक बनाउँदा मुलुकका धेरै क्षेत्र र संस्थाहरुमा देखा परेको सिन्डिकेट प्रथाले सीधै मुलुकको सर्वाेच्च न्यायलयमा प्रवेश पाएको हो । यसमा कसैले होइन भन्न सक्ने ठाउँ देखिन्न, यद्यपि स्वयं कार्कीले नै केही समयअघि सार्वजनिक गर्नुभएको आफ्नो पुस्तकको अधिकांश अंश हामीले यहाँ भनेकोजस्तो कुरा होइन भन्नेमा नै खर्च गरेको देखिन्छ । उहाँले जे कुरा होइन भनेर हतार हतार पुस्तक लेखेरै पुष्टि गर्ने प्रयत्न गर्नुभएको छ, त्यसले उहाँको त्यो समयको गलत कार्यलाई छोप्न पर्याप्त छैन । त्यो कुरा गोपाल पराजुलीले आफ्नो जीवनको संयोगमा सर्लक्कै ब्यहोर्नुभएको हो तर यी संयोगका पानाहरुमा खुलेरै खाउनुभएको भने छैन । 

पुस्तक कभर पृष्ठसहित ५५२ पृष्ठमा छ । यो कृतिका पाँच परिच्छेद र परिशिष्टले सीधा अर्थात् पत्रकारिताको भाषामा नभने पनि कानुनी भाषामा भने नेपालको न्यायलयका धेरै कुरा भनेको छ । पुस्तकमा पूर्वप्रधानन्यायधीश ओमप्रकाश मिश्रको शुभकामना छ र डा.युवराज संग्रौलाको बडो सन्तुलित, वस्तुनिष्ठ र विचारोत्तेजक भूमिका छ । युवाराज संग्रौलाको बोली कलम बाहिर जति बेजोड रहने गर्छ यो कृतिमा पनि कञ्ज्युस्याइँ कतै देखिन्न । यसैले पनि यो कृतिको ओज बढाउन उहाँको कलमले मद्दत पुर्याएको देखिन्छ । 

अन्त्यमा म देशका संवेदनशील निकायका प्रमुखको हैसियतमा रहेर सेवानिवृत्त भएका व्यक्तिले पुस्तक लेख्नु हुदैन भन्ने मान्यता राख्ने व्यक्ति हुँ । जस्तो कि सेनाका प्रमुख भएर निवृत्त हुने र पुस्तक लेख्ने, प्रहरीका प्रमुख भएर निवृत्त हुने र पुस्तक लेख्ने, देशको गुप्तचर निकायका प्रमुख समेत निवृत्त भएर पुस्तक लेख्ने गर्यो भने राज्यको गोपनीयता बाहिर त आउँदैन भन्ने प्रश्न मेरो मनमा उठ्छ । देशको न्यायालयको प्रमुख त झन् यी भन्दा धेरै बढी संवेदनशील व्यक्ति हुन् ।

त्यसैले उनले पनि पुस्तक लेख्नुहुदैन भन्ने मेरो मान्यता थियो । तर जुन आशंका र अप्ठेरोले मैले यो मानसिकता राखेको थिएँ, यो पुस्तक पढ्दा त्यो पुष्टि भएन बरु यसले संवेदनशील विषयलाई पनि कसरी सार्वजनिक जानकारीमा ल्याउन सकिन्छ भन्ने कुरा सिक्न सकियो । फेरि यसको मतलब सुशीला कार्कीले पुस्तक लेखेर जुन काम आफ्ना कारण विग्रिएको थियो, त्यो आफूले गरेको होइन अरु कसैले गरेको हो भनेर पंक्तिपिच्छे दिन खोजेको स्पष्टिकरण पनि यो पुस्तकमा भेटिँदैन ।

अनि अर्काे कुरा आफ्नो पारिवारिक पृष्ठभूमि र आफन्तका कुरा राखिएको पुस्तकभित्रै कसरी आफ्नो उच्च व्यावसायिकताका कुरा पनि कसरी अट्न सक्दा रहेछन् भनेर पनि यो पुस्तकबाट सिक्न सकिन्छ । त्यसैले कानूनका अतिरिक्त पनि यो पुस्तकमा जीवनका अनेकन गोरेटा र व्यवहारहरु भेटिन्छन् ।