२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

साहासिक पदयात्राका लागि थोराङ्ला पास

साहासिक पदयात्राका लागि थोराङ्ला पास
अ अ+ अ-

म्याग्दी । शदर यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेशी झर्दै गरेका चौरी, याक, भेडाच्याङग्रा र घोडाका बथान ।

विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहासिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको आकर्षण हो । थोराङ्ला झञ्ज्याङ समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा छ । गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्लालाई साहासिक गन्तव्यका रुपमा लिइन्छ ।

शरद यामको सुरुवातसँगै मनाङदेखि थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको उपल्लो मनाङका होटल व्यवसायी समेत रहनुभएका जिल्ला समन्वय समिति मनाङका सदस्य घ्याचो गुरुङले बताउनुभयो ।

“थोराङ्ला र तिलिचो ताल घुम्न आउने मुख्य याम शरद र वसन्त नै हो”, उहाँले भन्नुभयो, “पहिले पथप्रर्दशक र भरिया बाहेक अधिकांश विदेशी पर्यटक मात्र आउने थोराङ्ला पदयात्रा पछिल्लो समय नेपालीहरुको पनि रोजाइमा परेको छ ।” थोरङ्ला ला भनेको तिब्बती भाषामा पास हो । शाब्दिक रुपमा यात्राको उच्च बिन्दु हो ।

दसैँ तिहारको बिदामा थोराङ्ला र तिलिचो घुम्नका लागि देशका विभिन्न ठाउँबाट कर्मचारी, व्यापारी, विद्यार्थीहरुको टोली आउने क्रम बढेको गुरुङले बताउनुभयो । सडक यातायात, आवास तथा होटलको व्यवस्था, पदमार्गको स्तरोन्नति, सञ्चार सुविधा विस्तार, डिजिटल मार्केटिङ र भ्रमणसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले घुम्नैपर्ने गन्तव्यमा सूचीकृत गरेका कारण अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आकर्षण बढेको हो ।

मनाङदेखि थोराङ्ला हुँदै मुस्ताङ भ्रमण गरेर फर्किएकी काठमाडौँकी जुली श्रेष्ठले मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, संस्कृति, रहनहसन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउँदा रमाइलो महसुस भएको अनुभव सुनाउनुभयो । यात्रामा अन्नपूर्ण प्रथम द्वितीय र चौथो धौलागिरिको साथै माछापुछ्रे, मनास्लु गङ्गपूर्ण तिलिचो चुचुरो अन्य हिमाल देख्न सकिन्छ ।

“तिलिचो यात्रा हुँदै थोरङ्ला पास गरेर मुक्तिनाथ झर्नु साहसिक यात्रा हो”, श्रेष्ठले भन्नुभयो, “अन्नपूर्ण सर्किटमा थोरङला सबैभन्दा उच्च स्थान भएकाले जोखिमपूर्ण पनि छ ।” चामेदेखि पाँच दिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको मुक्तिनाथ झर्न सकिन्छ । लामो अवधिको पदयात्रा गर्न चाहनेले लमजुङको बेशीसहरदेखि नै यात्रा सुरु गर्न सक्छन् ।

धेरैजसो पदयात्रीहरु गाडीबाट चामे पुगेर त्यहाँदेखि हिँड्ने गर्छन् । चामेबाट अपर पिसाङ र मनाङमा बास बस्ने गर्छन् । यहाँ बास बरेर पदयात्रीहरुले शरीरलाई त्यहाँको वातावरणसँग अनुकूलता मिलाउन सकिन्छ । माथिल्लो मनाङदेखि करिब चार घण्टाको पैदलयात्रा गरेर चार हजार ३६ मिटर उचाइको याकखर्क पुगिन्छ । छिनछिनमा बादल र घाम लाग्ने याकखर्कमा चौरीगाईको खर्क छन् । यहाँ इन्टरनेट सुविधा भएका होटल र लज पनि छन् ।

याकखर्कदेखि सात दशमलब तीन किलोमिटर यात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार चार सय ५० मिटर उचाइमा रहेको थोराङ्ला फेदीमा पुगिन्छ । थोराङ्ला फेदीदेखि चारदेखि पाँच घण्टा यात्रा गरेपछि चार हजार आठ सय छ मिटर उचाइको थोराङ्ला हाइक्यापमा पुगिन्छ ।

होटलहरुको सुविधा भएको हाइक्यापमा बास बसेका पर्यटकहरु बिहान उज्यालो नहुँदै थोराङ्लातर्फको यात्रामा निस्कन्छन् । दिउँसो हावाहुरी चल्ने र मौसम खराब हुने भएकाले बिहानै थोराङ्ला पुग्नका लागि रातिनै यात्रा गर्नुपर्ने पथप्रर्दशक सन्देश अधिकारीले बताउनुभयो ।

हाइक्याम्पदेखि थोराङ्ला हुँदै करिब १३ घण्टाको यात्रा गरेपछि तीन हजार सात सय ६२ मिटर उचाइमा अवस्थित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथमा पुगिन्छ ।

सन् १९७० मा पदयात्राका लागि खुल्ला गरिएको थोराङ्लामा पछिल्लो समय विदेशीसँगै नेपाली पर्यटकहरु पनि आकर्षित भएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को जोमसोमस्थित कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १३ हजार नौ सय १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आएका थिए । उक्त आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार दुई सय ४२ जनाले थोराङ्ला पार गरेका थिए । चालु आर्थिक वर्षको असोज तेस्रो हप्तासम्म थोराङ्ला पार गरेर मुस्ताङ आउने पर्यटकको सङ्ख्या एक हजार सात सय ८१ जना रहेको एक्याप जोमसोमका प्रमुख रेग्मीले बताउनुभयो ।

अन्य ठाउँमा सडकका कारण पदमार्गहरु विस्थापित भएपनि थोराङ्लामा सडक पुग्ने सम्भावना नरहेकाले यसको दीर्घकालीन पर्यटकीय सम्भावना रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङको भनाइ छ । गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले थोराङ्लादेखि मुक्तिनाथ झर्ने मुस्ताङ तर्फको पदमार्ग स्तरोन्नति गरिरहेको उहाँले बताउनुभयो ।