२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित News Polar एमालेमा कुर्सीको आसन र देखिएको ‘कुशासन’ News Polar विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण News Polar ‘जग्गा हदबन्दीको समस्या चाँडो समाधान हुन्छ’ News Polar गण्डकी प्रदेशमा प्राकृतिक विपद्ः यातायात सेवा प्रभावित News Polar नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक News Polar पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु News Polar नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छः मन्त्री साह News Polar स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु News Polar नासाको अपोलो कार्यक्रममा संलग्न वैज्ञानिक ह्यामिल्टनको निधन News Polar मर्मतपछि राहुघाटबाट पुनः विद्युत् उत्पादन News Polar कविता: अमरत्व  News Polar बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा News Polar पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन News Polar विद्युत महसुलको डिजिटल भुक्तानीमा ग्राहकलाई थप सहुलियत News Polar एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने News Polar जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न हुँदैनः मुख्यमन्त्री थापा मगर News Polar त्रिविको बजेट ९.७७ प्रतिशतले बढ्यो, ३० अर्ब ८७ करोड विनियोजन

दशैंले बढायो तनहुँमा आन्तरिक पर्यटक

दशैंले बढायो तनहुँमा आन्तरिक पर्यटक
अ अ+ अ-

दमौली, (तनहुँ) । दशैंको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तनहुँका पर्यटकीय गन्तव्यस्थल बन्दीपुर, मानुङकोटमा पर्यटकको चहलपहल उल्लेख्य वृद्धि भएको छ ।

पछिल्ला केही वर्र्षमा दसैँ बिदामा घुमघामको प्रचलनले पर्यटकीय स्थल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । बन्दीपुरमा यतिबेला स्वदेशीसँगै विदेशी पर्यटकको चाप बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बन्दीपुरमा यो बेला पर्यटकको आगमन बढ्ने समय हो । दसैँ बिदाका कारण आन्तरिक पर्यटकको उल्लेख्य सहभागिता छ । विदेशी पर्यटकको आगमन समेत सुरु भएको छ ।”

नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक बन्दीपुर आउने गरेका छन् । बन्दीपुरमा सञ्चालनमा आएको बन्दीपुर केबलकारले पनि बन्दीपुरमा पर्यटकको आकर्षण बढाएको छ । पृथ्वीराजमार्गसँगै जोडिएको केबलकारको बटम स्टेशनसम्म गाडीमा र त्यहाँबाट केबलकार चढेर आन्तरिक पर्यटक बन्दीपुर पुग्ने गरेका छन् ।

बन्दीपुर घुम्न आउनेमध्ये विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी हुन्छ । गत वर्ष बन्दीपुरमा २६ देशबाट पर्यटक आएको तथ्याङ्क छ ।

बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको जनाइएको छ ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । पर्यटकलाई यहाँका गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्कलगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको छ ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने होटल व्यवसायी वैश गुरुङले जानकारी दिनुभयो ।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रीनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेल लगायत होटल सञ्चालन छ ।

यसैगरी पछिल्लो समय व्यास नगरपालिका–५ मानुङकोटमा आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । मानुङकोटबाट बिहानै कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदय हेर्न पर्यटक आउन थालेको होटल व्यवसायी चुडामणि दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहानको समयमा चिसो बढेसँगै दमौली बजारलाई कुहिरोले ढपक्क ढाक्छ । उक्त दृश्य हेर्न आन्तरिक पर्यटक लालायित हुन्छन् ।”

मानुङकोटबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । रासस