२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ बजारमा तीन करोडको कारोबार



अ+ अ-

महेन्द्रनगर । दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष रु तीन करोडको कारोबार भएको छ ।

गत वर्ष करिब सात÷आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताउनुभयो ।

सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज साहकाअनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ । करिब १० वर्षदेखि स्टल राख्दै आउनुभएका शुलभ किचेन सेन्टरका सञ्चालक गङ्गाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्चसमेत नउठेको गुनासो गर्नुभयो ।

करिब २० वर्षदेखि स्टल राखेर व्यापार गर्दै आउनुभएका ६० वर्षीय बलराम साहले भन्नुभयो, “यसपालि स्टाफ खर्च पनि उठेन र योभन्दा राम्रो व्यापार हाम्रो काउन्टरमै थियो ।” उहाँले बजारको व्यवस्थापनमा कमजोरी रहेको गुनासो गर्नुभयो ।

दैनिक उपभोग्य वस्तु बिक्रीवितरण हुने सस्ता बजार जनकपुर–दसैँ मेलाको मुख्य आकर्षण हो । यो मेलामा मुख्यतया साबुन, सर्फ, अगरबत्ती, चियापत्ती, चाउचाउ, भुजिया, प्लास्टिकका भाँडावर्तन, जुत्ताचप्पल र लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्छ ।

घटस्थापनादेखि दशमीसम्म बजार सञ्चालन गरिए पनि मुख्य आकर्षण पञ्चमीदेखि अष्टमीसम्म रहने गरेको सङ्घकी महिला उपाध्यक्ष रिङ्कु शाहले बताउनुभयो । जनकपुर उद्योग वाणिज्य सङ्घको पहलमा विगत ४८ वर्षदेखि जनकपुरमा दसैँ बजार लाग्दै आएको छ ।