२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरको मछेली खोला किनारमा मात्रै ३ सय बढी घरपरिवारको बसोवास, कसैको छैन लालपुर्जा



अ+ अ-

कञ्चनपुर । स्थानीय सरकारले बाढी र डुबान प्रभावित घरपरिवारको उचित व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिमका अधिकांश नदी किनारमा अव्यवस्थित बसोवास बढ्न थालेको छ । कमैयामुक्त घोषणा गरेको धेरै भइसक्यो । तर सुदूरपश्चिमका कतिपय स्थानमा मुक्त कमैयाहरु अझै पनि नदी किनारमा बस्न बाध्य छन् । जमिनको टुक्रा छैन । नदी किनारमा बाँसका छेस्का जोडेर जेनतेन बनाएको छाप्रो पनि हरेक वर्ष आउने बाढीले बगाउँछ । अनि हरेक वर्ष वर्षातको समयमा शुन्यबाट शुरु हुन्छ उनीहरुको आर्थिक जीवनचक्र । सुरक्षित बासस्थान नहुँदा गरिवी झन बढ्दै गएको छ भने सधै जोखिमयुक्त बसोवासमा रहन बाध्य छन् ।

कञ्चनपुरको धनगढीबाट चौराह हँुदै महेन्द्रनगर जाने पूर्वपश्चिम राजमार्गको बीचमा पर्ने मछेली नदी पुल किनारको बस्तीको जोखिम मूल्यांकन राजमार्गबाटै सहजै गर्न सकिन्छ । बीच जंगल ठूलो नदीको किनारमा ७ परिवार बसोवास गर्दै आएका छन् । मछेली नदीको पुल पनि बाढीको जोखिममा छ । आगामी वर्षातमा मछेली नदीमा आएको बाढीमा भत्कन ठिक्क परेर बसेजस्तो देखिने पुलको छेउमा सानो बस्ती छ । पुल पारीपट्टी स्थानीय सरकारले शहरका छाडा गाईको व्यवस्थापनको प्रवन्ध मिलाएको छ ।

गत वर्षको बाढीले बासस्थान, भाँडाकँुडा, लत्ताकपडा सबै बगाए पछि उँचो स्थान खोज्दै पीडितहरु पुलको छेउमा बस्न थालेका हुन् । स्थानीय सरकारले छाडा गाईको व्यवस्थापन भन्दै पुल पारीपट्टी गाई पालेको छ । गाईलाई घाँस, कुँडो, दाना लगायतको व्यवस्था गरिएको छ तर पुलको अर्कोपट्टी बसेको मानवबस्तीमा चासोसम्म दिँदैन । ज्यान हत्केलामा राखेर लालाबालासहित नदी किनारमा बस्दै आएकी वासमती खुनाको मन रोइरहेको छ । बाटो पारीका गाईका बथान हेर्दै उहाँले भन्नुभयो, ‘मान्छे भएर पनि पशु जत्तिको पनि व्यवहार भएन ।’

चुनावमा भोट माग्न नमस्कार गर्दै आएको सम्झना छ उहाँलाई । चिल्ला गाडी राजमार्गमा हुइकिँदै गर्दा तिनै भोटमाग्न आएकाहरु नै हिँडेको भान उहाँलाई हुन्छ । उहाँ भन्नुहुन्छ, ‘सरकार रोड रोड हिन्छ । भोट माग्नका लागि नमस्ते गर्न आउँछन् । भोट दिएपछि कोही फर्केर आउँदैनन् ।’

पशुको व्यवस्थापनमा ध्यान दिने सरकारले नागरिकको बेवास्ता गरेको उनलाई पटक्कै सैह्य छैन । उहाँ तीनै गाईतिर दाहिने हातले देखाउँदै भन्नुहुन्छ ‘यही रोड पारी छाडा गाईहरुको लागि राम्रो व्यवस्था गरिएको छ । घाँसपानी, खोले पकाएर खान दिन्छन् । तर हाम्रो लागि केही पनि छैन । हेरौँला हेरौँला भन्छन् तर कहिलेहीँ हेर्दैनन् । साना साना बच्चा लिएर कहाँ जाउँला हामी ? वर्षातमा धेरै समस्या हुन्छ । रोजगारी छैन । आईमाई मान्छे सानो बच्चा लिएर कसरी काम गर्न सकुँला ? भोक लाग्छ, घाम हुन्छ अनि बच्चाहरु कराउँछन् । नदीमा बाढी आएपछि फेरि बगाउला । अनि हामी कहाँ जाउँला ।’

आफ्नो भूमि छैन, सरकारले लालपुर्जा नभएकालाई चाउचाउका पोका बाहेक राहत दिँदैन । गत वर्षको बाढीले वाससहित जमिन नै कटान गरेपछि जिल्लास्थित विपद् व्यवस्थापनमा काम गरेका गैरसरकारी संस्थाहरुको सहयोगमा त्यही किनारमा जेनतेन छाप्रो बनाइन् । वर्षौं भयो यसरी जंगलको बीचमा बस्न थालेको ।

एक छोरा एक छोरीकी आमा मागी बिष्ट डगौरालाई पनि सरकारले सुरक्षित वासस्थानमा लैजान्छ भन्ने आश छैन । आफूले सुकुम्वासीको फारम भरेपनि स्थानीय सरकारले अव्यवस्थित बसोवासको कागज थमाएको गुनासो छ उहाँको छ । उहाँ भन्नुहुन्छ, ‘ वडामा गयो । ल ल हुँदैछ भन्छन् । महेन्द्रनगर र गाविसमा गएर कतिपटक फारम भरिसक्यो । अनि रातोमा फारम भराएर सेतो चिट दिएको छ । अहिले हामीलाई नगरपालिका जाउँ भन्छ । अनि नगरपालिकाबाट वडा कार्यालय जाउँ भन्छ । फेरि भन्छन् हुँदैछ चिन्ता नगर्नु ढुक्क बस्नु भन्छन् । रातोमा फारम भरायो सुकुम्वासी भनेर अनि सेतो अर्धकट्टी दिएको छ । सेतोमा भूमिहीन भनेर लेखेको छ । सुकुम्वासी भनेर लेखेको छैन । ’

गाई राखेको स्थानमा बिजुली जडान गरेपछि ती सातै परिवारले नगरप्रमुखलाई बत्तीको अनुरोध गरे । अहिले छाप्रो बाहिर बत्ती बल्छ । तर भित्र छैन ।

उहाँ भन्नुहुन्छ,‘ मान्छेलाई बत्ती छैन गाईलाई बत्ती छ भनेपछि यहाँ बत्ती हालेको । अरु त विश्वासको काम गरेकै छैन सरकारले । जमिन दिन्छ भन्ने त विश्वास लागेकै छैन । ’

आकाश मुनी टाउको मात्रै लुकाउन बनाईएको छाप्रो देखाउँदै उहाँ भन्नुहुन्छ, ‘हिउँदमा पनि जंगलको बीच भएकाले बाघको डर छ । बाघ आयो भने यो त भत्काइहाल्छ नि । रातभरि डराउँछौ । सर्पको पनि डर हुन्छ । ’

नदीले बगाएर बगरमा परिणत गरेको आफ्नो पुरानो बासस्थानतर्फ देखाउँदै मागी भन्नुहुन्छ, ‘हरेक वर्ष यसैगरी सर्दै आएका छौँ । अबको बाढीले पनि यो बगाउँछ । अनि कता जाने हो थाहा छैन ।’

बस्तीको उत्तरपट्टि बाढीसँगै मछेली नदीले ल्याएको बालुवा र गेग्रान भरिएर बनेको टापु छ । सो स्थानमा अहिले ३ सय २५ परिवार बसोवास गर्छन् । नदीले थुपारेको ग्रेग्रानका कारण बीच भाग अग्लो हुँदा वरपर कटान गर्ने जोखिम पनि त्यत्तिकै बढाएको छ । टापुजस्तो भूभागमा बसोवास गर्नेहरु हिउँदको समयमा सोही स्थानमा बालुवा चाल्ने काम गर्छन् । उनीहरुको आम्दानीको स्रोत भनेकै हिउँदको समयमा बालुवा चाल्नु हो । यही काम पनि उनीहरुले वषातको समयमा पाउँदैनन् ।

कृष्णपुर नगरपालिका वडा नम्बर ४ बेलकुण्डीका अर्जुनदेव जोशी गत वर्षको बाढी सम्झँदै भन्नुहुन्छ, ‘बाढी आएपछि राती राती ज्यान जोगाउन डाँडामा उक्लिनुपर्ने बाध्यता छ । लत्ताकपडा भाँडा वर्तन सबै बगाएर लैजान्छ । हिउँदमा गिटी बालुवा चालेर दैनिक जीविका चलाउनुपर्छ । भोट माग्नेबेला आउँछन् । भोलि गर्छौं, पर्सि गर्छौं भन्छन् । जब जितेर कुर्सीमा बस्छन्, फर्किएर हेर्दैनन् । तटबन्धन गरिदिए सुरक्षा हुन्थ्यो । ’

सुकुम्वासी, शुक्लाफाँटबाट बिस्थापित अनि भूमिहीनको बसोबास रहेको सो बगरमा पछिल्लो समय हुनेखानेहरुले पनि जग्गा अतिक्रमण गरी छाप्रो बनाउन थालेपछि वास्तविक पीडितहरुलाई राहत उपलब्ध गराउन कठिनाई भएको सामाजिक कार्यकर्ताहरुको अनुभव छ । स्थानीय सरकारले राहत उपलब्ध गराउने बेलामा प्रभावितको संख्या बढी भएपछि आफैँले सर्वेक्षण गरेर सहयोग उपलब्ध गराएको अनुभव छ सामाजिक कार्यकर्ता गणेश भुलको । उहाँ भन्नुहुन्छ, ‘कृष्णपुर नगरपालिको वडा नम्बर ४ सँग समन्वय गरि गतवर्ष मर्सिकोर, निड्स नेपालले घरधुरी सर्वेक्षण गरेर वास्तविक प्रभावितलाई खाद्यान्न सहयोग र खानेपानीका लागि धारा बनाइदिएका हौँ । ’

भौगोलिक हिसावले कमजोर भूभाग र मध्यम खालको जलाधारीय अवस्थाले गर्दा कृष्णपुर नगरपालिकाका अधिकांश स्थानमा वर्षेनी भूक्षय ,बाढी, पहिरो र नदी कटान हुने गरेको छ । नदी कटान भएका अधिकांश स्थानमा अव्यवस्थित बसोवास बढ्दै गएको छ । नगरपालिका प्रमुख हेमराज ओझा आफूहरुको पहिलो प्राथमिकता तटबन्धन निर्माण गरी बस्ती जोगाउनु नै रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो ‘मोहना नदीले वर्षातको समयमा वडा नम्बर ७, ८ र ९ मा धेरै ठूलो नोक्शान गर्दछ ।

बनारा नदीले वडा नम्बर २ र ३ लाई ज्यादा कटानी गरेर क्षति गरिरहेको हुन्छ । बीचमा रहेको मछेली नदीले पनि वडा नम्बर ४ र २ का केही क्षेत्रहरुमा नोक्शान गरिरहेको हुन्छ । वडा नम्बर १ मा खार खोला, उदाल खोला, र धारापानी खोलाले धेरै नै कटानी गरिरहेका हुन्छन् । बाढी र पहिरोको बढी जोखिम यी क्षेत्रमा छ । साधन र श्रोतको कमी छ । हामीले स्थायी समाधानका लागि ठूलो काम गर्नुपर्नेछ । तर अस्थायी समाधान भनेको । तटबन्धन गरेर बस्तीलाई जोगाउनु नै हो । विपद् व्यवस्थापन तथा रोकथाममा प्रदेश सरकारले गर्ने काम र संघीय सरकारले गर्ने काम महत्वपूर्ण हुन्छ ।’

नगरपालिकाकाले संघ र प्रदेश सरकारका ठूला आयोजना बाहेक २०७६÷७७ देखि यता ३ आर्थिक वर्षमा विपद् व्यवस्थापनमा ३ करोड ३९ लाख ८ हजार १ सय ४३ रुपैयाँ खर्च गरेको छ । २०७७ सालको नगरपालिकाको तथ्यांकमा फुस तथा खरले छाएको ८ सय ६७ घर, जस्ता ÷च्यादरले छाएको ३ हजार ६ सय २ घरहरु रहेको देखिन्छ । तर वर्षेनीको बाढी पहिरोमा घरबार बिहीन हुन पुगेकाहरुको संख्या बढ्दै जाँदा यस्ता फुसर खरले छाएका छाप्राहरुको संख्या पनि बढ्दै गएको छ । स्थानीय सरकारले बास्तविक बाढी प्रभावितको यकिन गरी समयमै उचित सम्बोधन गर्न नगर्ने हो भने कञ्चनपुरमा मात्रै होइन मुलुकका अन्य स्थानमा पनि अव्यवस्थित बसोवासी बढ्दै जानेछ । यसले नागरिकलाई सरकारी सेवा लिनबाट वञ्चित गर्नेछ भने समग्र मुलुककै गरिबीको स्तर पनि बढाउँदै लैजाने देखिन्छ ।

 




भर्खरै