१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई प्रधानमन्त्रीको आग्रह- सरकारमा आउनुहोस्, भ्रष्टाचारको फाइल खोल्न तयार छु



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गर्नुभएको छ ।

आज विहान चितवनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री दाहालले रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गर्दै भ्रष्टाचारको जुनसुकै फाइल खोल्न पनि आफू तयार रहेको बताउनुभयो ।

‘तपाईं सरकारमा आउनुहोस्, म भ्रष्टाचारको कुन फाइल खोल्नुपर्ने हो त्यसका लागि तयार छु’, सरकारमा सहभागी हुन लामिछानेलाई आग्रह गर्दै उहाँले भन्नुभयो ।

सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णय गर्नका लागि पार्टी कार्यालय बसुन्धरामा रावस्पाले बैठक बोलाएको छ । यसअघि हिजो विहान भेटमा पनि प्रधानमन्त्री दाहालले सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

लामिछानेले सरकारको न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारको फाइल खोल्ने विषय उल्लेख नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले सरकारमा सहभागी भए न्यूनतम साझा कार्यक्रम पुर्नलेखन पनि गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ ।

सभापति लामिछानेले हिजोको भेटमा प्रधानमन्त्री दाहाल समक्ष सरकारमा सहभागी भए आफूले पहिले पाएका मन्त्रालयबारे के हुन्छ भन्ने प्रश्न समेत गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहालले आज पत्रकारसँगको कुराकानीमा सरकार पाँच वर्ष नै टिक्ने भन्दै पहिलाकै मन्त्रालय खोज्नु अस्वभाविक नभएको बताउनुभएको छ ।