१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोताको कठघरामा गितकार कल्याण श्रेष्ठ



अ+ अ-

काठमाडौं। गितकार कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उहाँका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले आज यहाँ आयोजित समारोहमा उक्त एल्वम सार्वजनिक गर्नुभएको हो ।

उक्त एल्वममा तिमी अर्कै भयौँ, म सिँढी चढ्दै जान्छु, कर र करार होइन माया, के जिउनु खै जिन्दगी, देउराली भाक्नुपर्ने, के भेट भयो यस्तो र हिमाल हेरेर बोलका जीवन, प्रेम, आत्यात्मिक र देश दर्शनसँग सम्बन्धित सातवटा गीत समेटिएको छ ।

गीतमा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, सुमित खड्का र मिलन नेवारको स्वर र शक्ति बल्लभको सङ्गीत रहेको छ ।

सो अवसरमा प्रमुख अतिथि एवं गीतकार श्रेष्ठका पिता कुलबहादुरले मानिस भएर जन्मिएपछि देशको सेवा र अरुको सम्मान गर्नुपर्छ भन्ने बुद्धि र विवेक सबैमा रहन जरुरी रहेको बताउनुभयो ।

वरिष्ठ गीतकार यादव खरेलले गीत भनेको शब्द, सङ्गीत र गायनको संयोजन भएकाले त्रिवेणीमा जोडिएपछि कलकल बगेको नदीको पानीझैँ हुनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “गीत–सङ्गीतले प्रदान गर्ने मिलन, विछोड र हाँसोका कुरा आम स्रोता र दर्शकले अपनत्व महसुस गर्नुपर्छ, त्यसो भएमा सिर्जनाले निरन्तरता पाउँछ ।” उहाँले भन्नुभयो गितकारका रुपमा श्रेष्ठ स्रोताको कठघरामा उभिनुभएको छ । उहाँको सृजना हेर्दा न्याय पाउने कुरामा कुनै शंका छैन ।

प्रा डा कृष्णहरि बरालले नेपाली गीत–सङ्गीत र साहित्यिक विधामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ शक्तिशाली लेखक र लेखनमा निरन्तता भएको श्रष्टाकारूपमा स्थपित हुने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ सङ्गीतकार शक्ति बल्लभले नेपालको गीत सङ्गीतका सागरमा प्रवेश गर्नुभएकामा पूर्वप्रधानन्यायाधीशलाई स्वागत गर्दै उहाँका गीतमा सिर्जनामा विविधतामात्र नभई नेपाली शब्द भण्डारलाई बलियो बनाएको बताउनुभयो ।

गीतकार श्रेष्ठले गीत–सङ्गीतको नयाँ यात्रामा प्रवेश गरेकाले सिर्जनाका बारेमा आउने प्रतिक्रिया र सुझावलाई पूर्णरूपले सम्मान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्गीतको पवित्र धुनले वातावरण सुधार्न योगदान पु¥याउँछ, हामीले गरेका कर्मले समाजमा सिर्जनशीलता र आशाको सन्देश प्रवाह गर्नुपर्छ भन्ने लाग्छ ।”

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले उहाँका गीतले राष्ट्रियताप्रति इमान्दार हुन खबरदारी गरेको प्रतिक्रिया दिनुभयो ।

कार्यक्रमम गायकहरु सुमित खड्का, आनन्द कार्की र शिशिर योगीले आ आफनो प्रस्तुति दिनुभएको थियो ।