एजेन्सी । युरोपियन च्याम्पियनशीप (युरोकप २०२०) अन्तर्गत आज समूह एफमा दुई खेल हुँदैछ ।
विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्सले यस युरो कपको प्रमुख दाबेदार मानिएको जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै साविक विजेता पोर्चुगल र हंगेरीबीचको खेल पनि आजै हुँदैछ ।
युरोकपको ड्र सार्वजनिक भएसँगै समूह एफलाई ‘ग्रुप अफ डेथ’ भनिएको थियो । जहाँ युरोकपको साविक विजेतासहित तीन पूर्व विजेता (जर्मनी, फ्रान्स र पोर्चुगल) छन् ।
यो समूहको तीनै टिमलाई उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।
यस समूहमा जर्मनी र हंगेरी आयोजकको रुपमा छ । जर्मनीले घरेलु मैदानमा समूहको तीनवटै खेल खेल्ने अवसर पाउनेछ । यस्तै हंगेरीले दुई खेल घरेलु मैदानमा खेल्नेछ ।
फ्रान्स र जर्मनीबीचको खेल राति नेपाली समयअनसार १२ः४५ बजे सुरु हुनेछ । खेल जर्मनीको घरेलु मैदान म्युनिखको एलियान्ज एरेनामा हुनेछ ।
दुवै टोली पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा छन् । किनभने यो ग्रुपका जुनसुकै टिमलाई अर्को चरणमा जानका लागि जित निकाल्नुपर्ने बाध्यता छ । जर्मनीलाई घरेलु मैदानको साथ हुनेछ ।
फ्रान्स र जर्मनी युरोकपमा अहिलेसम्म जम्मा १ पटक आमनेसामने भएका छन् । २०१६ को सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको थियो ।
२०१४ को विश्वकप क्वाटरफाइनलमा पराजित भएयता फ्रान्सले जर्मनीविरुद्ध पछिल्लो ५ खेलमा पराजय ब्यहोरेको छैन ।
समूह एफ
हँगेरी भर्सेस पोर्चुगल ९ः४५ बजे (पुस्कास एरेना स्टेडियम, हँगेरी)
समूह एफ
जर्मनी भर्सेस फ्रान्स १२ः४५ बजे ( एलियान्ज एरेना)