२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा पाँचभाइको सुन्तलाखेती



अ+ अ-

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो ।

कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन् । बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभाइले १८ रोपनी जग्गामा लगाएका पाँच सय सुन्तलाका बिरुवाले आगामी वर्षदेखि उत्पादन दिन थाल्नेछन् । पैँतिस वर्षसम्म शिक्षण गर्नुभएका ६२ वर्षीय रेशमलाल शर्माले आफ्नो छ रोपनी जग्गामा दुई सय सुन्तलाका बिरुवा लगाउनुभएको छ भने अन्य चार भाइले १२ रोपनी जग्गामा करिब तीन सय सुन्तलाका बिरुवा लगाउनुभएको छ ।

भकुण्डेमा घर र खेत तित्याङमा भएकाले धान उत्पादनको लागत बढेको र मकै तथा गहुँ नछर्दा छ महिना बाँझो छोड्नुपर्ने अवस्थामा रहेको खेत अहिले सुन्तलाका बिरुवाले हरियाली बनेको रेशमलाल शर्माले जानकारी दिनुभयो ।

“हामी पाँच भाइको एउटै पाटो खेत थियो, अहिले उक्त खेत सुन्तला बगैचामा परिणत भएको छ, आगामी वर्षदेखि उत्पादन देला, पाँच भाइको सल्लाहमै उक्त खेतलाई एउटै बगैँचाका रूपमा विस्तार गर्न सुन्तला लगाएका हौँ”, उहाँले भन्नुभयो, “धान खेतीभन्दा सुन्तलाबाट दोब्बर आम्दानी गर्न सकिने हाम्रो अठोट छ ।”

रेशमलालसहित, ताराप्रसाद शर्मा, लक्ष्मण शर्मा, केशव शर्मा र दामोदर शर्माले धान खेतीभन्दा सुन्तला खेतीबाटै राम्रो आम्दानी गर्न सकिने भन्दै १८ रोपनी जग्गामा तीन वर्षअघि सुन्तला खेती थाल्नुभएको हो । उक्त सुन्तला बगैँचा जिल्लाकै ठूलो बगैँचाका बनाउने गरी एकीकृत ढङ्गले सुन्तला खेती थालिएको हो । रेशमलाल भने अझै एक सय बिरुवा थप्ने लक्ष्यमा हुनुहुन्छ ।

धान, मकै र गहुँ गरी तीनबाली हुने खेतमा भकुण्डेबाट आएर तीन खेती गर्न सम्भावना नभएको र धान खेती मात्रै गर्दा २५ देखि ३० मुरी धानले खनजोत र खेतालाको रकमसमेत नउठ्ने भएकाले सुन्ताला खेतीमा लागेको अर्का भाइ केशव शर्माले बताउनुभयो ।

“धान खेतीमा भन्दा सुन्तलामा राम्रो आम्दानी हुन्छ भन्ने हाम्रो निर्णय भयो र अहिले सबै बगैँचामा रु पाँच लाख लगानी भइसकेको छ, सिँगानाका उन्नत जातका बिरुवा मापदण्डअनुसार खाडल खनेर लगाइएको छ”, उहाँले भन्नुभयो, “बागलुङ बजारबाट नजिकै रहेको तित्याङमा नमुना सुन्तला बगैँचा बनाएर कृषकका लागि अध्ययन अवलोकनको केन्द्रसमेत बनाइने लक्ष्य छ ।” एक÷एक मिटर लामो र गहिरो खाडलमा गोबर मल हालेर पाँच मिटरको फरकमा सुन्तलाका बिरुवा लगाइएको छ ।

सुरुमा सुन्तला खेतीलाई बढी मेहनत गर्न परे पनि बिरुवा हुर्किएपछि समस्या नहुने कृषक केशवको भनाइ थियो । सुन्तला फार्ममा एक जनालाई रोजगारी दिनेगरी पाँच भाइबीच सल्लाह भइरहेको छ ।

एकीकृतरूपमा सुन्तला खेती गर्दा सुरक्षा, सिँचाइ तथा मलजलमा सहज हुनेछ । अठार रोपनी जग्गामा फैलिएको सुन्तला बगैँचालाई ‘आरम्भ एकीकृत कृषि फार्म’ नामकरण गरेर दर्ता गरिएको छ । उक्त बगँैचालाई तारबार गर्न आवश्यक रहेको सुन्तला किसानको भनाइ थियो सुन्तला किसानलाई बगैँचा व्यवस्थापन तथा औषधि र उपकरणमा अनुदान दिन सकिने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । रासस