२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम गरेको ज्याला नपाएपछि पुल बन्द



अ+ अ-

खलङ्गा । पुल निर्माणमा काम गरेको ज्याला नपाएपछि स्थानीय मजदुरले झोलुङ्गे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको दार्चुलाको दुहूँ गाउँपालिका वडा नम्बर १ र ५ जोड्ने झोलुङ्गे पुलमा काम गरेका स्थानीयवासीले काम गरेको ज्याला नपाएपछि पुल बन्द गरेका हुन् ।

गाउँपालिकाको रु दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बाइ भएको उक्त पुलको २०७६ सालमा निर्माण सुरु भएको थियो । दुई वर्षभित्र पुल निर्माण गर्नुपर्ने समयसीमा रहेको पुलमा अहिले पनि लोड टेस्टलगायतका काम बाँकी रहेकाले अन्तिम किस्ता भुक्तानी हुन बाँकी रहेको गाउँपालिका–१ का वडाध्यक्ष जितबहादुर बमले बताउनुभयो । पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटिसमेत भेटिएको र पुलको छेउतिरको एक लठ्ठासमेत खुस्किएको अध्यक्ष बमले बताउनुभयो ।

पुल निर्माणको भौतिक काम सम्पन्न भएको दुई वर्ष समय हुँदासमेत ठेकेदार कम्पनीले श्रमिकहरूको ज्याला भुक्तानी नगरेको भन्दै स्थानीय श्रमिकहरूले शुक्रबारदेखि पुल बन्द गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताउनुभयो । पटकपटक काम गरेको ज्यालाका लागि आग्रह गर्दा पनि ज्याला नपाएपछि पुल नै बन्द गर्नुपरेको श्रमिक मजदुरको भनाइ छ ।

झोलुङ्गे पुलको दुवै तिर तारजाली र जस्तापाता लगाएर बार लगाइएको छ । पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलङ्गा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई दुई घण्टा लामो बाटो भएर जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय नवीन जोशीले गुनासो गर्नुभयो ।

निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्सट्रक्सनले श्रमिकहरूको ज्याला अझैसम्म नदिनुका कारण भने खुलेको छैन । निर्माण कम्पनीको अन्तिम चरणको भुक्तानीसमेत लिन बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर १, २ र ५ का स्थानीयवासीले उक्त पुल निर्माणको समयमा मजदुरी गरेका थिए । निर्माण सम्पन्न भइसकेको अवस्थामा मजदुरको ज्याला नदिई ठेकेदार कम्पनी सम्पर्कविहीन भएको स्थानीय पसलधनी नरेन्द्र जोशीले बताउनुभयो ।

यसअघि पनि स्थानीयवासीले पटकपटक आफूहरूले काम गरेको ज्याला पाउनुपर्ने भनी गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै स्थानीय मजदुर आक्रोशित भएका छन् ।

निर्माण कम्पनीले मजदुरसँगै पसलधनी र ट्र्याक्टर व्यवसायीहरूको समेत पैसा दिएको छैन । स्थानीय श्रमिकहरू पसलधनी र ट्र्याक्टर व्यवसायीहरूले बेलाबेला गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रशासन कार्यालय दार्चुलामा अनुरोध गर्दा पनि कुनै निकास नआएपछि पुल बन्द गर्न बाध्य भएको पसलधनी नरेन्द्र जोशीले बताउनुभयो ।

“हामीले पटकपटक गाउँपालिका र प्रशासनलाई काम गरेको ज्याला दिलाइदिन आग्रह गर्‍यौँ, गाउँपालिकाले आश्वासन मात्रै दियो, हामीले काम गरेको ज्याला त पाउनु पर्‍यो, ज्याला मजदुरी गरेर परिवार पाल्ने हाम्रो समस्या कसले बुझ्छ रु”, श्रमिक राजेन्द्र जोशीले भन्नुभयो ।

गाउँपालिकाले पटकपटक ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोज्दा ठेकेदार कम्पनी सम्पर्कमा नआएको गाउँपालिकाका निवर्तमान अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले बताउनुभयो । “पहिलेदेखि नै हामीले ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोजेका हौँ, उहाँहरू सम्पर्कमा आउनुभएन”, उहाँले भन्नुभयो ।

पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएको र ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

श्रमिकहरूले श्रम गरेबापतको रकम पाउनुपर्ने र स्थानीय श्रमिकहरूले पनि सार्वजनिक पुल बन्द गर्न नहुने उहाँको भनाइ छ । “ठेकेदारलाई गाउँपालिका र प्रशासनले सम्पर्क गर्न खोजे पनि सम्पर्क भएको छैन”, उहाँले भन्नुभयो । पुल निर्माण भइसकेको भए पनि निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरणसमेत नगरेको गाउँपालिकाका प्रवक्ता देवबहादुर बमले जानकारी दिनुभयो ।

“पुल गाउँपालिकालाई हस्तान्तरणसमेत भएको छैन, पुल सञ्चालनको अनुमति नै छैन, त्यहाँ आवतजावत नगर्न हामीले पनि आग्रह गरेका छौँ, पुलको लोड टेस्टसमेत नभएको रहेछ”, प्रजिअ जोशीले भन्नुभयो । उहाँले पुल प्रयोग गर्दा कुनै अप्रिय घटना भए राज्य जिम्मेवार नहुने बताउनुभयो । रासस
–––