२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित News Polar यस वर्षको ‘मीना दिदी पुरस्कार’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई News Polar कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि News Polar पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य

मकै छाडेर सूर्यमुखी खेतीमा आकर्षित पाल्पाका किसान

मकै छाडेर सूर्यमुखी खेतीमा आकर्षित पाल्पाका किसान
अ अ+ अ-

रामपुर (पाल्पा) । कुनै समय घरआँगनका डिल, वरपर, करेसाबारी, बगैँचामा, सोख र सुन्दरताका लागि मात्रै लगाइने सूर्यमुखी फूल अहिले भने किसानको खेती भएको छ । यसलाई कृषकले व्यावसायीकरण गर्ने गरेका छन् । त्यसैले अहिले घरआँगनमा गमलामा देखिने सूर्यमुखी फूल अब आम्दानीको माध्यम बनेको छ । पाल्पाका कृषकले सूर्यमुखीको खेती नै थालेका छन् ।

मकै बालीको तुलनामा कम लगानी, मेहनत तर आम्दानीका हिसाबले दोब्बर बढी हुने भएपछि व्यावसायिकतामा पाल्पाली कृषकको मोह बढेको पाइएको छ । बजारमा तेलको मूल्यवृद्धि हुँदै गएको अवस्थामा यहाँका कृषकले आयआर्जनका निम्ति सूर्यमुखीलाई प्राथमिकता दिन थालेको पाइन्छ । रामपुर नगपालिका–५ बस्ने युवा बलबहादुर रानाको राम्रै मकै बाली उत्पादन हुने खेत यतिखेर सूर्यमुखी फूलले ढकमक्क छ । घर अगाडिको खेतभरि पहेँलै सूर्यमुखी फूल्दा कृषि कार्य गर्दाको सबै थकान मेटिएको उहाँलाई अनुभूति हुन पनि थालेको छ ।

उहाँ भन्नुहुन्छ, “घर वरपर फूलेको सूर्यमुखी देख्दा काममा काम गर्ने जाँगर बढेर आउँछ, अहिले खेतभरी जताततै सूर्यमुखी फूलेको छ, हराभरा देख्दा मनका अनेकथरि पीडा सबै हराएर जान्छन्, मनमा आनन्दको अनुभूति हुन्छ ।” 

अहिले उहाँको यो सूर्यमुखी खेतीमा हेर्न आउने, फूलको बास्नामाा रमाउने, फूलसँगै रमाउँदै तस्बिर खिच्ने र सामाजिक सञ्जालहरुमा फोटो पोष्ट गर्ने, टिकटक बनाउने, भिडियो बनाउनेको निकै चहलपहल देखिन्छ । यहाँ फुल्दै गरेको सूर्यमुखीसँग बालबालिकादेखि युवायुवती, वृद्धवृद्धाहरू सबै उमेर समूहका व्यक्ति फूलसँग रमाउँदै फोटो खिचाउने र सामाजिक सञ्जालमा छरपस्ट राख्नेको होडबाजी नै छ । रामपुरको मुख्य व्यापारिक केन्द्र बेझाड बजार जाने सडक छेउछाउमा फूलेको सूर्यमुखीको लोभलाग्दो दृश्य देखेपछि सवारी साधनमा यात्रा गर्ने यात्रु पनि एकछिन गाडी रोकेर फोटो खिचाएर मात्रै जाने गर्दछन् ।

अहिले यहाँ दैनिक ३०० भन्दा बढीको हाराहारीमा फूलमा आएर फोटो खिचाउने, टिकटक बनाउने, भिडियो बनाउने गरेको कृषक प्रभु श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेतमा फुलेको फूलसँग ठूलो सङ्ख्यामा अवलोकन गर्ने, रमाउने भेटिन्छन्, विशेषगरी साँझपख भने सूर्यमुखीमा भीड लाग्ने गरेको छ, देख्दै आनन्द लाग्दछ, फुल्न पनि असाध्यै राम्रो फुलको छ ।” 

उहाँले मकै बालीको उत्पादन लिँदै आउनुभएको पाँच रोपनी खेतमा यस वर्ष मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाउनुभएको छ । कृषि ज्ञान केन्द्रको रु छ लाख आर्थिक सहयोगमा रामपुर नगरपालिकाको समन्वयमा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ५ को बेझाड खेतमा करिब २०० रोपनी क्षेत्रफलमा सूर्यमुखी लगाइएको छ । यी जग्गा पहिला भने यतिखेर मकैले भरिएका हुन्थे । 

आम्दानी लिन र तेलजन्य पदार्थको उपभोगका लागि कृषकले सूर्यमुखीलाई व्यावसायीकरण गरेका हुन् । अनुदानमा बीउ तथा सिँचाइका लागि कुलो मर्मत तथा पुनःनिर्माणमा सहयोग पाएपछि उत्साहका साथ कृषक सूर्यमुखी खेतीमा लागेका छन् । प्रतिरोपनी चार मुरी मकै उत्पादन हुने खेतमा अहिले पहेँलै सूर्यमुखी फुल्दा मनका पिरहरु खुशीमा परिणत भएका कृष्णकान्त पौडेल बताउनुहुन्छ । “राम्रै मकै उत्पादन हुने खेतमा सूर्यमुखीबाट अझ धेरै आम्दानी लिनका लागि मकै बाली लगाउन छाडेर सूर्यमुखी लगाउन शुरु गरेको छु, परीक्षणमै राम्रै फल लाग्यो अर्को वर्ष खेती विस्तार गर्नेछु”, उहाँले भन्नुभयो ।

तेलजज्य पदार्थको खपत कम गराउन र मकै बालीको तुलनामा यसबाटै धेरै आम्दानी लिन सकिने, मेहनत र लगानी पनि कम पर्ने भएकाले सूर्यमुखी खेतीलाई व्यावसायिकरूपमा रोजेको कृषक दुर्गादेवी शर्मा बताउनुहुन्छ । “मकै बालीको तुलनामा सूर्यमुखीबाट धेरै आम्दानी लिन पाइने, लगानी र मेहनत कम पर्ने, आफूले उत्पादन गरेको स्वच्छ तेल उपभोग गर्न पाइने भएपछि व्यावसायिक तवरले नै खेती गर्न थालेका छौँ”, उहाँले भन्नुभयो । सामान्य तरिकाले लगाउँदा पनि राम्रै फल दिएकाले यस खेतीप्रति कृषक सन्तुष्ट रहेको र अर्को वर्षको लागि व्यवस्थित ढङ्गले समयमा नै खेती गर्ने सोच राखेको वडा सदस्य विष्णुप्रसाद बस्यालले बताउनुभयो ।
 
रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले परीक्षणका रूपमा लगाइएको सूर्यमुखी सोचेभन्दा राम्रो भएको बताउँदै कृषकले यसलाई निरन्तरता दिन सकेमा बाहिरबाट आउने तेलहन बाली कम गर्न सकिने बताउनुहुन्छ । रामपुरमा तेलजन्य पदार्थको उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रमअन्तर्गत सूर्यमुखी खेती शुरु गरेको वडाध्यक्ष हिमाल मल्लले बताउनुभएको छ ।

रम्भा गाउँपालिका–१ सघाहा बस्ने ऋषिराम अर्यालले विगत चार वर्षयता बजारको तेल उपभोग गर्नुभएको छैन । आफैँले घरमा उत्पादन गरेको सूर्यमुखीकै तेल उपभोग गर्नुहुन्छ । उहाँले गत वर्ष दुई रोपनीमा लगाएको सूर्यमुखीको घरायसी प्रयोजनबाहेक प्रतिलिटर रु ४५० का दरले रु ४० हजारको तेल बिक्री गर्नुभयो । यस वर्ष चार रोपनीमा क्षेत्र विस्तार गरी खेती गर्नुभएको छ । 

अहिले उहाँको खेतमा लगाइएको सूर्यमुखीको उत्पादन शुरु भएको छ । गाउँमै स्वस्थ तेल उत्पादन भएकाले माग बढ्न थालेपछि उहाँ यस व्यवसायमा हौसिनुभएको छ । “चार वर्षयता बजारमा खानेतेल किन्नुपरेको छैन, गत वर्षदेखि बिक्री गर्ने गरी खेती गर्न थालेको छु, आफैँले उत्पादन गरेको तेल उपभोग गर्न थालेपछि हाम्रो परिवार स्वस्थ र फूर्तिलो बनेको छ, यो वर्ष चार रोपनीमा लगाएको सूर्यमुखी करिब नौ मुरीसम्म उत्पादन हुने अनुमान गरेको छु”, अर्यालले भन्नुभयो ।

एक पाथी सूर्यमुखी प्रशोधन गर्दा डेढ लिटर तेल उत्पादन हुने उहाँ बताउनुहुन्छ । सूर्यमुखी खेती लगाउन थालेपछि बाँदर आतङ्क कम भएको  छ । उहाँले बाँदर आतङ्कले मकै बाली स्याहार्नै पाउनुहुन्नथ्यो । सूर्यमुखी लगाउन थालेपछि भने उहाँ बाँदरको समस्याबाट मुक्त हुनुभएको छ भने आयस्रोतका हिसाबले यसबाट मकैको दाँजोमा धेरै फाइदा लिनुभएको छ ।
निस्दी गाउँपालिकाका कृषक पनि सूर्यमुखीमा आश्रित हुन थालेका छन् । गाउँपालिकाको वडा नं ४ को मुढाबास र लामेदमारका कृषकले व्यावसायिक ढङ्गबाट सूर्यमुखी खेती गरेका छन् । मुढाबासमा आर्थिक वर्ष २०७५÷७६ मा ११० रोपनी क्षेत्रफलमा सूर्यमुखी पकेट कार्यक्रमअन्तर्गत गाउँपालिकाले रु एक लाख ५० हजार र आव २०७६÷७७ मा लामेदमारमा ११२ रोपनी क्षेत्रफलमा रु दुई लाख बजेट सहयोगमा व्यावसायिक खेती थालनी गरिएको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउनुहुन्छ । गाउँमै प्रशोधन केन्द्रको व्यवस्था नहँुदा यहाँ उत्पादन भएको सूर्यमुखी नवलपुरको अरुणखोला बजारमा पुगेर प्रशोधन गर्न कृषक बाध्य छन् ।

मुढाबास पकेट क्षेत्रका हर्षबहादुर सुनारीले सूर्यमुखी खेतीका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेपछि व्यसायिकरूपमा खेती गर्न थाल्नुभएको छ । बगनासकाली गाउँपालिकाले भने मौरीपालनलाई प्राथमिकता दिँदै गत वर्ष ३० रोपनी क्षेत्रफलमा सूर्यमुखी खेतीका लागि कृषकलाई बीउ वितरण गरेको थियो । मौरी चरनका लागि राम्रो हुने भएकाले पनि सूर्यमुखी खेतीमा कृषकले जोड दिने गरेको बगनासकाली गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बोहरा बताउनुहुन्छ ।

कृषि ज्ञानकेन्द्र पाल्पाले यस आर्थिक वर्षमा रामपुरको बेझाड खेतलाई सूर्यमुखीको उपयुक्त पकेट क्षेत्रका रुपमा छनोट गरी खेती शुरु गरेको हो । ज्ञानकेन्द्रका अनुसार केन्द्र सरकारको बजेट र कार्यक्रमलाई स्थानीय सरकारको समन्वयमा रामपुरमा सूर्यमुखीको सम्भावना देखेर पकेट कार्यक्रम शुरु गरिएको छ ।  

दाना झार्न अप्ठ्यारो हुने भएको हुदा त्यसको लागि कृषकले मेसिनको माग गरेको खण्डमा समाधानको पहल गर्ने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । कृषकले क्षेत्र विस्तार गर्न चाहेमा सूर्यमुखी खेतीमा ज्ञान केन्द्रले लगानी गर्ने उहाँको भनाइ छ । यस वर्ष रामपुर नगरपालिकासँगै निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला, माथागढी गाउँपालिका लगायतका क्षेत्रमा सूर्यमुखी खेती गरिएको ज्ञानकेन्द्रले जनाएको छ । कुनै समय घर आँगनका वरिपरि, करेसाबारीमा सोखका रुपमा लगाइने गरे पनि पछिल्लो समय भने कृषकले व्यावसायीक रुपमा खेती शुरु गरेका छन् । मौरी चरनका लागी सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिनसक्ने भएका कारणले व्यावसायिकरूपमा खेती गर्न थालेका हुन् ।

सौन्दर्यताका लागि केही बोट आँगनीको डिल, छेउछाउमा लगाउँदै आइए पनि यस खेतीबाट राम्रो आम्दानी लिने उद्देश्यले कृषकले अहिले व्यावसायिकरूपमा खेती गर्न थालेको पाइन्छ । ठूलो क्षेत्रमा खेती गरेको खण्डमा यसको बजार राम्रो रहेको पनि किसानको अनुभव छ । 

एक बालीबाट तेब्बर उब्जनी लिन सकिने हुँदा पनि यस क्षेत्रमा कृषकको आकर्षण बढेको छ । सूर्यमुखी फूलको उत्पादित बियाँबाट तेल उत्पादन गरी मनग्य आम्दानी लिन सकिन्छ भने डाँठलाई दाउराका लागि प्रयोग गर्न सकिन्छ ।

सूर्यमुखी फूललाई बाह्रै महिना फूलाउन सकिन्छ । फूलका कारण मौरीलाई चरन हुने र अर्कातर्फ बियाँबाट तेल आउने भएकाले व्यावसायिकतातर्फ कृषक लागेका हुन् ।  खेतबारी जहाँ पानी जाँदैन त्यहाँ यसको खेती गर्न सकिने र बाह्रै महिना फूल फूल्ने भएकाले यसको आम्दानी पनि राम्रै लिन सकिने अनुभव यहाँका किसानको छ । यहाँ अरु किसानले पनि मकै छाडेर सूर्यमुखी फूलको खेती गर्ने सोच बनाएका छन् । (रासस, सुशीला रेग्मी)