१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’

पनौतीमा सकियो १२ वर्षे मेला, सकिएन पूर्वाधार निर्माण

पनौतीमा सकियो १२ वर्षे मेला, सकिएन पूर्वाधार निर्माण
अ अ+ अ-

पनौती (काभ्रेपलाञ्चोक) । पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ । यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ । यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो । 

जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए । विसं २०७६ देखि नै तयारी थाल्ने निर्णयनगर कार्यपालिकाले गरेको थियो । बाह्र वर्षे मकर मेलाको तयारीका लागि दुई वर्षअघिदेखि भौतिक संरचना निर्माणका काम गर्ने निर्णय गरिए पनि काम भने तीन महिना अघिमात्र सुरु भयो । 

तीन महिनामा नसकिएका काम अहिले पनि मकर मेला लाग्ने त्रिवेणीघाट वरपरको नदी किनारमा अझै अलपत्र छ । यस क्षेत्रमा नगरपालिकाले ढुङ्गा विच्छ्याउने काम सुरु गरेकामा नसकिएर अझै खाली भुइँ देख्न सकिन्छ । किनारमा थुपारिएका ढुङ्गामा अल्झिएर कयौँ भक्तजन पछारिए । कतिलाई सामान्य चोटपटकसमेत लागेको तीर्थ यात्री रञ्जना तिमल्सिनाले बताउनुभयो । 

नगरपालिकाले दुई वर्ष अघिदेखि रु आठ करोड ३५ लाख मेलाका लागि संरचना निर्माण खर्च गरेको छ । यसमध्ये रु सात करोड आठ लाखको पूर्वाधार निर्माण खर्च गरिएको नगरप्रमुख भीम न्यौपानेले राससलाई जानकारी दिनुभयो । रु एक करोड २७ लाखको भने रङरोगन एवं मन्दिरलगायत सांस्कृतिकस्थल मर्मत सम्भारको काम गरिएको थियो ।
 
माघ १ गते मेला सुरु भएपछि ढुङ्गा छाप्ने र रङ लगाउने काम सुरु गरियो । मेला सुरु भएपछि थालिएका यी काम अझै पूरा भएका छैनन् । नदीमा स्नान गर्न राखेको बाँस माघमा पानी परेर बाढी आउँदा बगाएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका परामर्शदाता इञ्जिनीयर सितु सैँजुले बताउनुभयो । पहिलेदेखि नै निश्चित हुने मेलाको तयारीमा यस्ता कमजोरी भएको पनौतीवासीको गुनासो छ । 

नगरपालिकाले व्यवस्थापन गरेको मेलाका समयमा कोरोनाका कारण विद्यालय बन्द गरिएको थियो । पनौती बजारको श्री पनौती आधारभूत विद्यालयका विद्यार्थीले भने माघभर विद्यालयमै खाजा घर चलाए । यस क्रमममा करिब रु तीन लाख आम्दानी भएको जनाइएको छ । विद्यालयका प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकार शैक्षिक भ्रमण जान विद्यालयमै खाजा घर चलाउनुपरेको बताउनुहुन्छ । 

आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी साना हुन्छन् । तिनलाई प्रयोग गरेर विद्यालयले व्यापार गर्दा पनि नगरपालिका मौन छ । विसं २०७४ मा राज्य पुनःसंरचना भएपछि माध्यमिक तह (कक्षा १२) सम्मका विद्यालयको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई नै दिइएको छ । मेला व्यवस्थाका लागि नगरपालिकाको सचिवालयका संयोजकसमेत रहनुभएका वरिष्ठ प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधिकारी मेलाका लागि विद्यालय बन्द गर्ने तयारी गरेकामा कोरोनाकै कारण सरकारले विद्यालय बन्द गरेको स्वीकार गर्नुहुन्छ ।

मेलाको सांस्कृतिक महत्व

पनौती नगरपालिकाको वडा नं ६ र ७ मा पर्ने तीन नदीको संगमस्थल क्षेत्रमा १२ वर्षमा मेला लाग्छ । वडा नं ६ को ब्रह्मायणी मन्दिरमा रहेका दुई खाल्डामा मेला लाग्ने वर्ष पानी भरिन्छ । अरु वर्ष जति गाग्री पानी हाले पनि नभरिने गरेको स्थानीयवासीसमेत रहनुभएका इञ्जिनीयर सैँजु बताउनुहुन्छ । 

माघ महिनामा सूर्य मकर राशिमा भएका बेला लाग्ने मेलालाई मकर मेला भन्ने गरिएको हो । मेला कहिलेदेखि चल्यो भन्ने सम्बन्धमा कुनै कागजात वा दस्तावेज पाइएको छैन । यो मेलाको सन्दर्भ भने देवराज इन्द्रसँग जोडिएको किम्बदन्ती पनौतीमा सुनिन्छ । इन्द्रले पापमोचनका लागि १२ वर्षसम्म तपस्या गरेपछि स्थापना गरेको मन्दिरलाई इन्द्रेश्वर भन्ने गरिएको छ । त्यसअघि गौतम ऋषिको श्रापबाट मुक्त भएपछि स्थापना भएको मन्दिरलाई मुक्तेश्वर भन्ने गरिएको छ ।

यी दुवै मन्दिर चतुःषष्टि अर्थात् ६४ ज्योतिर्लिङ्ग मध्येमा पर्छन् ।  देशभर रहेका ६४ ज्योतिर्लिङ्गमध्ये पनौतीमै चार वटा छन् । इन्द्रेश्वर, विश्वेश्वर, मुक्तेश्वर र भालेश्वर नामका चार ज्योतिर्लिङ्ग रहेको नगरपालिका भएकाले पनि यसको महत्व छ । मकर मेलाका बेला त्रिवेणीघाटमा रहेको वासुकीको शिलामुनि स्नान गर्ने प्राचीन कालदेखिको विधि छ । विधि थाहा नहुनेले भने जतासुकै स्नान गर्ने गरेका छन् । यससम्बन्धी जानकारी पनि राम्रोसँग नदिइएको भन्दै भक्तजनले आपत्ति जनाएका छन् । महत्वपूर्ण तीर्थस्थल भएकामा कतै पनि सूचना पाटीसमेत राखिएको छैन ।

पनौतीमा तीन नदीको सङ्गम भएकाले त्रिवेणीघाट भनिएको हो । लीलावती ९रोशी०, रुद्रावती र पद्मावतीको सङ्गमस्थललाई पवित्र तीर्थका रूपमा मान्ने गरिएको छ । पद्मावती अर्थात् दुधको खोला भने गोरखनाथ डाँडामुनिको रहेकाले देख्न नसकिने विश्वाससमेत यहाँ पाइन्छ । बत्तीस लक्षणले युक्त भएका मानिसले भने यो खोला र दुधखोला देख्न सक्ने धार्मिक विश्वास छ । अहिलेसम्म यहाँ दुधको खोला देखेँ भन्ने मानिस आएका छैनन् । 

गोदावरी र पनौतीको मेला छ-छ वर्षको फरकमा लाग्ने गरेको छ । यस सम्बन्धमा समेत यहाँ किम्बदन्ती सुन्न पाइन्छ । परापूर्व कालमा गोदावरी र पनौतीमा खडेरी प¥यो । पनौतीका राजा दीर्घरथ र पाटनका राजा सत्यरथ दुवैको इष्टदेवी फूल्चोकी माई थिइन् । दुवैले इष्टदेवीको आराधना गरे । 

फूल्चोकी माईले सुन र चाँदीको फूल ल्याउन भन्नुभयो । पाटन क्षेत्रमा सुन र चाँदीका कालीगढ धेरै हुने भएकाले फूल बनाउन गए । पनौतीका राजाले त्यहाँको फाँटमा तोरी मूलाका फूल भेटे । दीर्घरथले तोरी र मूलाको फूल चढाएपछि फूल्चोकी माईले लीलावती खोला पनौतीतिर पठाउनुभएको थियो । पाटनका राजाले सुन र चाँदीको फूल बनाएर ल्याएपछि लीलावतीको आधा पानी गोदावरी पठाएकाले छ-छ वर्षको अन्तरालमा दुवै स्थानमा मेला लाग्ने गरेको विश्वास स्थानीयवासीमा छ । 

मेलामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । कोरोना कालमै मेला परेकाले मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोका चिया १० हजार जना मानिसलाई निःशुल्क खुवाइएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो । मेलामा आउने भक्तजनलाई गुर्जोलगायत ६० भन्दा बढी प्रकारका जडिबुटीबाट बनेको धुलो र चियाको पोकासमेत निःशुल्क वितरण गरिएको उहाँले सुनाउनुभयो । (रासस,पूर्णप्रसाद मिश्र)