• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको संसदमा विरोध



काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले गरेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको विरोध भएको छ । नेकपा (एमाले) की सांसद सरस्वती सुब्बाले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको विरोध गर्नुभएको हो ।

बैठकमा सभामुखसँग आकस्मिक समय माग्दै उहाँले हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्ने समाचार सुन्दा दु:ख लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल खाद्य संकटको मारमा छ । जलवायू परिवर्तनको उच्च जोखिममा छ । मौलिक हकअन्तर्गत रहेका खाद्य सम्प्रभूता, सुरक्षित आवासलगायत सम्पूर्ण व्यवस्था कार्यान्वयन हुन सकेको छैन । विश्व परिवेशलाई हेर्दा सन् १९९६ मा पहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनता खाद्य जोखिममा थिए । अहिले यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ ।”

नेपालमा खाद्यान्न आयातको अवस्था डरलाग्दो रहेको भन्दै तयार पारिएको भूउपयोग नीति १० वर्ष हुँदा पनि कार्यान्वयन नभएको उहाँले बताउनुभयो । सांसद सुब्बाले भूउपयोग नीति लागू नगरी पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र जनता विरुद्धको काम भएको भन्दै सरकारको निर्णयले जमिनको खण्डीकरण बढाउने र कृषि क्षेत्रलाई समाप्त पार्ने बताउनुभयो ।