२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई पहिल्यै गाँसमा ढुंगा !



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जे नहोस् भनेका थिए, आखिर त्यही भएको छ । सनिबार आफ्नो निवास बुढानीलकण्ठमा जुन आशंकाले उनले काँग्रेसका केही नेता कार्यकर्ताको बैठक बोलाएका थिए, त्यो खुला भएको छ । 

सभापति देउवाले आज प्रदेश नं २ का काँग्रेस नेताहरुको बैठक बोलाएका थिए । बैठक दिवा भोज सहितको थियो । त्यसै अनुसार दुई नं प्रदेशका केही नेता निर्धारित समयमै बिहान ११ बजे पुगेका थिए । त्यस समयमै देउवाले कुरा नारे र छलफल पनि शुरु भयो । 

प्रसंग थियो नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको । कुराकानी पनि त्यसैमा केन्द्रित थियो । शुरुमा देउवाले भदौमा महाधिवेशन गर्न सकिएला केरे भनेर कुरा शुरु गरेका थिए । काँग्रेस नेता आनन्दप्रसाद ढुंगानाले शुरुमै भने, महामारीले के भन्छ नत्र त सकिन्छ नि किन नसक्नु ? 

बैठकमा ढुंगानासहित जंगीलाल यादवलगायत अरु नेता पनि थिए । तर देउवाको टार्गेटमा थिए विमलेन्द्र निधि । यसमा निधिले पनि सकिन्छ भनेर जवाफ दिए । शुरुमा यसै विषयमा हल्का फुल्का कुरा नै भयो । त्यसपछिको खास कुरा थियो देउवा र निधिको ।
 
खासमा देउवाले निधिको सहयोगको याचना गरेका थिए । उनले आफू आगामी महाधिवेशनमा एक पटकका लागि सभापति उठ्ने जानकारी गराए । त्यतिमात्र पनि उनको उद्देश्य थिएन । आजको भेटघाटको खास उद्देश्य थियो कि देउवाले दुई नं प्रदेशका नेताहरुकै रोहबरमा अफ्नो सहयोग माग्ने ।  

त्यसै अनुसार देउवाले निधिसँग सहयोग पनि मागे । उनले भनेका थिए, ल निधि म एकपटकलाई फेरि सभापतिमा उठ्ने निर्णय गरेको छु, तिमीहरुको सहयोग चाहिन्छ, यो मेरो अन्तिम पटक हुनेछ ।  

आसन्न १४औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी थालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फायर खोलेपछि विमलेन्द्र निधिले भने सहज रुपमा लिएनन् । उनले तुरुन्तै प्रतिक्रिया जनाए । र भने, यस पटक त मैले उठ्ने भनेरै सभापतिजीलाई पटक पटक भनेको छु नि । 

तर यो अपेक्षित जवाफ थियो देउवाका लागि । उनले गत वर्ष नै हुने भनिएको काँग्रेसको महाधिवेशनमा नै आफू सभापति उठ्ने प्रचार गराएका थिए । आज पनि त्यही भने । उनको भनाई उद्धृत गर्दै एकजना निधि निकट नेताले भने, होइन यसपालि म उठ्छु मलाई तपाइँको सहयोग चाहिन्छ, तपाईँ प्रधानमन्त्री हुनुहोला म पूरै सहयोग गर्नेछु । 

तर देउवाले मानेनन् । उनले यस पटक मलाई सहयोग गर्नु, अर्काे पटक म निधिलाई सभापतिमा सहयोग गर्छु भने । त्यसपछि पनि निधिले भने होइन, अर्काे पटक धेरै ढिला भइसक्छ, कोइराला क्याम्पले अब छोड्दैनन् ।  

देउवाले आज पहिलो पटक पार्टी सभापति उठ्ने औपचारिक जानकारी पनि गराएका छन् र आफ्नो समूहका नेताहरुसँग छलफल पनि थालेका छन् । आज पहिलो दिन नै २ नं प्रदेशका ेनेताहरुसँग उनले छलफल थालेको कारण पनि निधिसँग आवश्यक सहयोगको याचनाकै लागि थियो । 

देउवा निकट स्रोत भन्छ निधिले पहिले देखि नै अबको महाधिवेशनमा उठ्ने प्रचार गराएकोले नै सभापति देउवाले २ नं प्रदेशका नेताहरुसँग आजको पहिलो बैठक बोलाएका थिए । ती नेताले भने तर पहिल्यै गाँसमा ढुंगा भनेजस्तै भयो ।  

तर देउवाले भने आफू सभापति उठ्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गरिरहेका थिए ।

निधि लामो समयदेखि देउवाकै क्याम्पमा छन् । यसरी आफ्नो समूहमा रहेका निधिको प्रस्तावलाई सभापति देउवाले सहज रुपमा नलिएको एक नेताले बताए । पटक पटक भन्दा पनि निधिले अडान नछोडेपछि देउवाले लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो भनेर बोल्न छोडेका थिए । 

यसमा निधिले आफू लामो समयदेखि टिममा रहेको र देउवाकै समर्थनमा सभापति लड्न चाहेको बताएका थिए । उनले सभापति देउवालाई सभापतिमा चुनाव लड्ने तयारीबारे पुनर्विचार गर्न समेत आग्रह गरेको एक नेताले बताए ।

कांग्रेसले शुक्रबार मात्र १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई अन्तिम रुप दिएको छ, जसअनुसार केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुनेछ । त्यसपछि आज पहिलो पटक देउवाले सभापतिमा उठ्ने जानकारी गराएका हुन् र निधिसँग छलफलका लागि २ नं प्रदेशका नेतासँगको छलफलको आयोजना गरेका थिए ।