२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा

सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा
अ अ+ अ-

महोत्तरी । “हे भोलेबाबा बुझायत अछि जे आववाला दिनमे अहाक् दर्शन भेटत नई भेटत रु” ९हे महादेव, लाग्दछ, अबका आउने दिनमा तपाईँको दर्शन पाइन्छ, पाइन्न रु०, जिल्लाको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित प्राचीन शिवालय सिद्धनाथ मन्दिरलाई बडहरी नदीको बाढीले ढालेको डिलमै उभिएर नजिकको पलार बस्तीकी श्रद्धालु सियानकीदेवी बाँतरले दुःख पुकारा गर्नुभयो ।

‘किछेसाल पहिने बड्का प्लटके बीचमे मन्दिर छल, आब मन्दिरक क्षेत्र बाइढ स ढहल जारहल अई, बुझायत अछि जे ऐगला सालधैर मन्दिर गिर जाइत’ ९केही वर्ष पहिले ठूलो चौरको माझमा मन्दिर थियो, अब त मन्दिर क्षेत्र बाढीले ढाल्दै गएको छ, लाग्दछ, आउने दिनमा मन्दिर ढलिसक्ला०, बाँतरले मन्दिरबारे थप चिन्ता व्यक्त गर्नुभयो ।

बाँतरमात्र नभएर भङ्गाहा नगरका सिद्धपुर, पलार, बखरी र हतिसर्वा बस्तीको माझमा रहेको यो प्राचीन शिवालयबारे यस भेगका आम सर्वसाधारण बर्सेनिको बाढीले मन्दिर क्षेत्रमा मच्चाएको ताण्डवले विह्वल बनेका छन् । असार लाग्नासाथ अहिले दिनहुँ पानी परिरहेपछि मन्दिर यसपालिकै बर्खाले ढाल्ने हो कि भन्ने आम चिन्ता छ ।

महोत्तरीको अति प्राचीन धार्मिकस्थल भङ्गाहा–५ को सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिरको बाढीकै कारण अस्तित्वको सङ्कट परेपछि यसबारे अहिले आम चिन्ता बढेको छ । रातु र बडहरी नदीको सङ्गम (दोभान) स्थित यो मन्दिर पछिल्ला केही वर्षयता बर्सेनि बाढीले कटान गर्दै लगेपछि अब मन्दिर नै ढल्ने चिन्ताले यहाँका सर्वसाधारण विह्वल बनेका हुन् ।

दुवै नदी (रातु र बडहरी) किनारको करिब ३० बिघाभन्दा बढीको  चौरमाझमा रहेको यो मन्दिर अहिले बर्सेनिको नदी कटानले नदीको डिलमा पुगेको छ । मन्दिर परिसरमै नदीको पानी बग्न थालेपछि अब जुनसुकै बेला मन्दिर ढल्ने वा बग्ने स्थिति बनेको सिद्धपुर बस्तीका सामाजिक कार्यकर्ता शङ्कर साह चिन्ता व्यक्त गर्नुहुन्छ । 

रातु र बडहरी नदीमा आउने बर्खे भेलले मन्दिरको उत्तर र पश्चिम डिल ढालिसकेको छ । पूर्व र दक्षिणतर्फको मन्दिर परिसरको चौर अतिक्रमण गरिएपछि अब मन्दिर सानो कोप्चोमा ठिङ्ग उभिएको देखिन्छ । नदी नियन्त्रणका लागि तटबन्ध नबन्दा र अतिक्रमण हटाउन कतैबाट पहल नहुँदा मन्दिरको बिजोग भएको नजिकैको अर्को बस्ती पलारका ७५ वर्षीय चौठी बाँतरले गुनासो गर्नुभयो ।

करिब ३०० वर्षअघि एक दुधारीबाबा नामका साधुले सपनामा पाएको सन्देशअनुसार खोजी गर्दै जाँदा घना जङ्गलबीच शिवलिङ्ग फेला पारेर त्यसको प्रतिष्ठा गरेर सिद्धनाथ महादेव नामकरण गरेका यहाँका बूढापाका आफ्ना पूर्वजले भन्दै आएका सम्झन्छन् । “दुधारीबाबाले पत्ता लगाएर प्रतिष्ठा गरेपछि यो मन्दिरमा सर्वसाधारणले पूजाआराधना शुरु गरेका हाम्रा बाजेले बताउनुभएको हो”, आफु सानो छँदा बाजेले मन्दिरबारे बताएका कुरा सम्झँदै पूर्वप्रशासक भङ्गाहा–३ का ८० वर्षीय तेजनारायण सिंह थारूले भन्नुभयो, “यो प्राचीन धार्मिक धरोहरको अहिलेको बिजोग हेर्दा मन अड्याउने ठाउँ देखिन्न ।”

जिल्लाकै अति प्राचीन यो मन्दिरका लागि विगतमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष), तत्कालीन जिल्ला विकास समिति र भङ्गाहा गाविस ९नगरपालिका बन्नुपूर्व०ले बेलाबेलामा योजना बनाएको बताए पनि ठाउँठाउँमा बालुवा थुपार्नबाहेक केही नगरेका सिद्धपुरका बासिन्दाको गुनासो छ । हुँदाहुँदा अब त सबैतिरको बेवास्ताले मन्दिर रहने नरहने स्थितिमा पुगेको सिद्धपुरका ३५ वर्षीय युवा विनोद मण्डल चिन्ता व्यक्त गर्नुहुन्छ ।

महाशिवरात्रि र साउन महिनाभरि यहाँ लाग्ने धार्मिक मेलाको ठेक्का लगाएर नगरपालिकाले आम्दानी लिने गरेपनि टाढाटाढाबाट आउने श्रद्धालु दर्शनार्थीका लागि खानेपानी, बासस्थान ९धर्मशाला० र प्राथमिक उपचारसम्मको पनि कुनै व्यवस्था नभएको सिद्धपुरका बासिन्दाको रोष छ । “अब त मन्दिरसँगसँगै बडहरी नदीले सीतापुर धतियाटोल र सिद्धपुर बस्तीनै लाने डर छ, घरकै छेउमा नदी बग्न थाल्यो”, भङ्गाहा–५ कै सामाजिक, राजनीतिक कार्यकर्ता किशोरीसिंह राजपूतले भन्नुभयो, “बचाउका उपाय भने केही चालिएका छैनन्, आकाशमा बादल मडारिएको देखेपछि हामी जागेरै रात कटाउँछौँ ।” अहिले लाग्दो असारकै वर्षाले हावाकावा बनाएको बताउँदै सिंहले साउन-भदौको मुख्य बर्खाकालमा के होला रु भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

यसैबीच भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले मन्दिर परिसर, सीतापुर धतियाटोल र सिद्धपुर बस्ती बचाउका लागि छड्के बाँध्ने (ढुङ्गा जालीमा बाँधेर कटान रोक्न गरिएको काम) गरिँदै आइए पनि यो त्यति उपलब्धिमूलक नभएको स्वीकार गर्नुभयो । “पहिले पनि त्यतिखेरका निकायले धार्मिकस्थल बचाउन ठाउँठाउँमा छड्के त बाँधेका हुन्”, साहले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि पनि स्रोत साधनको सीमितताभित्र केही कामका प्रयत्न विभिन्न निकायको समन्वयमा गरिएको हो, तर बर्खे भेलले यी प्रयत्नलाई उपलब्धिविहीन बनाउँदैछ ।” यहाँ मन्दिर र बस्ती बचाउन छड्केले मात्र सम्भव नहुने देखिएको हुँदा अब दुईतर्फी तटबन्ध निर्माण नै स्थायी समाधान हुने साहको भनाइ छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको समान चासो आवश्यक रहेको साहले बताउनुभयो । नगरपालिकाको सीमित बजेट रकमले मात्र यस ठाउँमा उपलब्धिमूलक काम हुने अवस्था नरहेको साह बताउनुहुन्छ ।

मन्दिर परिसरको संरक्षणका नाममा बर्सेनि रकम विनियोजन भए पनि ठोस काम नहुँदा अब केही होला भन्ने विश्वास लाग्न छाडेको वरपरका सर्वसाधारण बताउँछन् । “सधैँजसो बर्सेनि बर्खा लाग्न थालेपछि केही थान जाली र ढुङ्गा झारिन्छन्, बाँध्न थालेजस्तो भनक पाइन्छ, तर उस्ताको उस्तै” मन्दिर नजिकको रामनगर बस्तीकी हीरादेवी दाहाल भन्नुहुन्छ, “टालटुले कनिका छर्काइले यहाँ केही हुने देखिन्न ।” यो प्राचीन धार्मिकस्थल र नजिकका बस्ती जोगाउन अब तटबन्धबाहेकका विकल्प नदेखिएको दाहालको थप भनाइ छ ।

यसअघि पनि मन्दिर संरक्षणका नाउँमा कैयन पटक योजना बनेको बताइए पनि काम भने नहुँदा अब कुरामा विश्वास लाग्न छाडेको सिद्धपुरका बासिन्दाको भनाइ छ । “कुरा त सुनेकौ हौँ नि, काम भएपो भयो भन्ने बुझ्नु”, सिद्धपुरका ७० वर्षीय सोगारथ साहले भन्नुभयो, “हामीलाई त कुरामा विश्वास लाग्नै छाड्यो ।” यस भेगका बासिन्दाले अब मन्दिर र नजिकका बस्ती जोगाउन स्थानीय तहले प्रदेश र केन्द्र सरकारसहितका अन्य सम्बद्ध निकाय घचघच्याउनुपर्ने आवश्यकता देखिएको औँल्याएका छन् । नगरपालिका नेतृत्वले तत्काल यसको पहलकदमी लिनुपर्ने आम सर्वसाधारणको सुझाव छ । (रासस,गोपालप्रसाद बराल)