२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरपोलको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने नेपाल प्रहरीको कर्मचारीलाई झण्डा हस्तान्तरण



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र इन्टरपोलको झण्डा फहराउन आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएका नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई शुभकामानसहित झण्डा हस्तान्तरण गरिएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा, इन्टरपोलको झण्डा एवम् आरोहणमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले आरोहणमा जान लागेका प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीसहितका सदस्यलाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय तथा इलाइट हिमालयन एडभेन्चरलाई उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले यस आरोहण मार्फत इन्टरपोलको सदस्य राष्ट्रहरूको शान्ति सुरक्षा, अपराध अनुसन्धान एवम् नियन्त्रणमा भएको प्रतिवद्धताप्रति नेपाल प्रहरीको पनि पूर्णरूपमा ऐक्यबद्धता रहेको सन्देश तथा पर्यटकहरूको सुरक्षाको अनुभूति हुने सन्देश समेत प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले आरोहण सम्बन्धी सङ्क्षिप्त जानकारी दिनुभएको थियो । उक्त आरोहणको लागि प्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०७९ फागुन २६ गतेको निर्णयानुसार स्वीकृत भई आए पश्चात माउन्टेनियरिङ तालिम प्राप्त गरी ६ हजार ४७६ मिटर उचाईको मिरा पिक लगायत अन्य हिमालहरू सफलतापूर्वक आरोहणको अनुभव प्राप्त गरेका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली उक्त आरोहणको लागि छनौट भएको र उक्त आरोहणको लागि इलाइट हिमालयन एडभेन्चरसँग सहकार्य गरिएको प्रहरी उपरीक्षक जबराले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, इलाइट हिमालयन एडभेन्चरका डाइरेक्टर, एभरेष्ट समिटर्स एशोसियसनका महासचिव एवम् वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सन् १९२३ मा अष्ट्रियाको भियनामा स्थापना भएको इन्टरपोलले सफलतापूर्वक १००औं वसन्त पूरा गरेको अवसरमा इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा नेपाल प्रहरीले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउने योजना अन्तर्गत विश्व सम्पदा सूचीमा सूचिकृत सर्वोच्च शिखर सगरमाथामा नेपाल प्रहरीका कर्मचारीले आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डाहरू फहराउने कार्यक्रमको योजना रहेको सो अवसरमा जानकारी दिईयो ।

नेपाल प्रहरीले विभिन्न हिमाल आरोहण गरिसकेको र नेपाल प्रहरी संगठनमा हिमाली शाखाको वि.सं. २०४२ सालमा स्थापना भई नेपाल प्रहरी कर्मचारीहरू र नेपाल प्रहरी परिवार संघका पदाधिकारीहरूले समेत विगतमा विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गर्नुका साथै प्रहरी कर्मचारीहरूले सगरमाथा सफाई अभियानमा सहभागी भएको, विभिन्न आरोहण दलमा सम्पर्क अधिकृतको रूपमा भूमिका समेत निर्वाह गरिसकेको छ ।

यस आरोहण मार्फत कुनैपनि आपराधिक क्रियाकलाप हुन नदिने र कानुन कार्यान्वयनमा नेपालको पूर्णरूपमा ऐक्यबद्धता रहेको भन्ने महत्वपूर्ण सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा टेवा पुग्नुको साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति हुनेछ ।