२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय समिति विस्तार गर्दै माओवादी केन्द्र



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । 

गत फागुन २३ गते तत्कालीन एमाले र माओवादीलाई सर्वोच्च अदालतले ब्युँताएपछि माओवादी पुनर्गठन गर्नेक्रममा २ सय सदस्यीय केन्द्रीय समिति विस्तार गरी २ सय ९९ जना पुर्‍याउन लागिएको हो । 

तत्कालीन नेकपाको ४४१  सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २ सय ४१  र माओवादीबाट २ सय जना रहेका थिए । एमाले र माओवादी ब्युँतिएपछि माओवादीले २ सय ९९ जना केन्द्रीय कमिटी बनाउन लागेको हो । माओवादीका २ सय केन्द्रीय सदस्य मध्ये १८ जना एमाले प्रवेश गरिसकेका छन् । माओवादीले उनीहरुको स्थानमा समेत थप गरेर केन्द्रीय कमिटी थप गर्न लागेको हो ।

आफ्नै संगठनतिर फर्किएको माओवादी पार्टीको अवस्थाका विषयमा ६ सदस्यीय कार्यदल बनाएर अध्ययन जारी राखेको छ। जसमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल रहेका छन्।

उक्त कार्यदल पार्टी विधान र संगठन अवस्थाका विषयमा गृहकार्यमा लागिपरेको छ ।

सबै प्रदेश र जिल्लाबाट केन्द्रीय सदस्यको नाम सिफारिस भएमा स्थायी कमिटीमा छलफल भई केन्द्रीय कमिटीले अनमोदन गर्नेछ । 

यसअघि नेकपामा केन्द्रीय कमिटी समावेशी नभएको भन्दै आलोचना खेपेकाले माओवादीले त्यसलाई समेत मध्यनजर गर्दै समावेशी टिम सहितको केन्द्रीय कमिटी बनाउने भएको छ ।