२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनः सभापतिमा देउवा, टिमलाई एकढिक्का बनाउन आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले १४ महाधिवेशनमा पुनः सभापतिमा देउवालाई नै अगाडी बढाउने तयारी गरेको छ । उनी पक्षीय नेताहरूको बैठकले देउवालाई सभापतिमा दोहोर्याउने तयारी गरेका हुन् । 

पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आइतबार बागमती र गण्डकी प्रदेशका नेताहरूसँग गरेको छलफलले टिमलाई एकढिक्का बनाई सभापतिमा देउवालाई नै अगाडी बढाउने तयारी गरेका हुन् । 
 
छलफलमा सहभागी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवालाई एकमतले समर्थन गर्दै टिमलाई एक ढिक्का बनाएर अघि बढ्न सबैले सुझाव दिएको बताइन् । 

शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशनको मिति कार्यतालिकासहित निर्धारण गरेपछि देउवाले आफूपक्षीय नेताहरूसँग प्रदेशवाइज छलफल गरिरहेका छन् । शनिबार प्रदेश-१ र प्रदेश-२ का आफू पक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए । 

शनिबारको छलफलमा उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दाबी गर्दै सहयोग गर्न देउवालाई आग्रह गरेका थिए । त्यही विषयमा आजको छलफलमा नेताहरूले कुरा उठाउँदै समूहलाई एकढिक्का बनाएर अघि बढ्न सुझाएका हुन् । 

देउवाले भने निधिले सभापतिमा आफू उठ्ने भन्दै सहयोग मागेको स्वीकारे । तर आफूले भने यो पटक मलाई सहयोग गर्नुस्, अर्को पटक तपाईंलाई गरौंला भनेको जानकारी गराए । 

राप्रपाबाट कांग्रेस प्रवेश गरेका केन्द्रीय सदस्यहरूले पनि देउवाले टिमलाई मिलाएर अगाडि बढ्नु पर्ने र आफूहरू साथ दिन तयार रहेको बताएका थिए । 

छलफलमा बागमती र गण्डकीका गरी १४ नेताहरू सहभागी थिए । बैठकमा सहमहामन्त्री प्रकाशशरण महत, उपाध्याय, बस्नेत, अम्बिका बस्नेत, शिवप्रसाद हुमागाईं, सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, ध्रुव वाग्ले, शंकर भण्डारी, विष्णुविक्रम थापा, किरण गिरीलगायतका नेता सहभागी थिए ।