४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

आमा अभिनेत्रीको जिम्मेवारी र दायित्व

आमा अभिनेत्रीको जिम्मेवारी र दायित्व
अ+ अ-

काठमाडौँ । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी समय खर्चिने हुँदा विवाह ढिला गर्छन् । यद्यपि केही भने विवाह पश्चात् आफूलाई अब्बल सावित गर्दै अभिनेत्रीका रूपमा उचाइमा पुगेका छन् । ‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन् ।

विवाह र त्यसपछि बच्चाका लागि सहज हुँदैन सार्वजनिक व्यक्तित्वलाई । अभिनेत्री प्रियङ्का कार्कीले कोरोना महामारीअगाडि विवाह गरिन् । लगत्तै लकडाउन भएपछि आफ्नो श्रीमान् आयुष्मान देशराज श्रेष्ठ जोशीसँग समयको उपयोगिताबारे सल्लाह गरेर बच्चाको योजना बनाइन् । “योजना बनाउँदा पनि समय दिनुपर्ने हुन्छ । हामीले यो समय दिँदा सदुपयोगिता पनि हुन्छ भन्ने लागेर योजना बनायौँ । किनकि हामी हाम्रो सन्तानलाई समय अभाव नहोस् भन्ने चाहन्थ्यौँ”, अभिनेत्री कार्कीले भनिन् ।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले गर्भवती भएदेखि मनोवैज्ञानिक अवस्थादेखि मानसिक स्वास्थ्यसम्मको भोगाइलाई साटिन् । “गर्भवतीको समयमा मैले बुझेँ अब म मात्र आत्मनिर्भर छैन । किनकि म अब हामी भइसकेको थिएँ । मैले गर्ने गतिविधि मेरो स्वास्थ्यसँगै मेरो बच्चासँग जोडिन्थ्यो”, उनले भनिन् ।

नृत्य निर्देशक हुँदै चलचित्र निर्देशक बनेकी रेनशा बान्तवा राईले आमा बनेपछि पूर्ण महसुस गरिन् । ‘आमा नायिकाः जिम्मेवारी र करिअर’ विषयमा बोल्दै निर्देशक राईले भनिन्, “आमा भएपछि दायित्व बढ्नु स्वाभाविक नै हो । यद्यपि हामी नै खुसी हुन सकेनौँ भने हामीले बच्चालाई खुसी राख्न सक्दैनौँ । काम गरिरहने हामी जस्ता महिलालाई काम र परिवारको दायित्व पाउँदा खुसी हुन्छौँ । हामीले बच्चासँग बसे मात्र असल आमा भइन्छ भन्ने सोच त्याग्नु पर्छ ।”

निर्देशक राईसँगै अभिनेत्री कार्की र पूर्वमिस नेपाल सुब्बाले गर्भवती भएपछि आमाको दायित्व पूरा गरिरहेको सन्दर्भसम्मको आफ्नो यात्राको विषयमा कुरा गरेका छन् । बच्चा हुर्काउँदै गर्दा एउटी श्रीमतीले श्रीमान्, नातेदार, समाजबाट राख्ने अपेक्षाको विषयमा चर्चा भयो । अभिनेत्री कार्की बच्चा पाउने समयमा ९८ केजी थिइन् ।

चलचित्रको पर्दामा देखिने अभिनेत्रीले आफैँलाई त्यो रूपमा देख्दा स्वीकार्न सकेकी थिइनन् । “म बच्चा पाएर अस्पतालबाट घर फर्किने बेलामा आफ्नो तौल मापन गरेकी छु । ९४ केजी हुँदा आफैँले विश्वास गर्न सकिरहेकी थिइन् । त्यसपछि बच्चा हेर्ने आउनेले दिने प्रतिक्रियाले पनि मलाई मानसिकरूपमा केही हदसम्म असर गरेको थियो । हाम्रो शारीरिक अवस्थालाई लिएर दिइने प्रतिक्रियाले असर पनि गर्छ”, अभिनेत्री कार्कीले भनिन् ।

अभिनय वा विभिन्न कामको सिलसिलामा बाहिर जानु पर्दा सहज त हुँदैन । यद्यपि कामभन्दा पनि सामाजिकरूपमा आउने प्रतिक्रियाले बढी असर गरेको अनुभव उनको छ ।

पूर्वमिस नेपाल सुब्बाले पनि त्यस्ता प्रतिक्रियाले आमाको मनोबल घटाउने बताइन् । “म एउटा डरलाग्दो अवस्थालाई पार गरेर काममा फर्किएकी थिएँ । किनकी हामीले घर पनि त चलाउनै पर्यो । त्यो अवस्थामा आफ्नै सहकर्मीमार्फत पनि बच्चालाई छाडेर कसरी काममा आउन सकेको जस्तो प्रतिक्रिया पाएकी छु । त्यस्ता कुराले सुरूआती समयमा असर गर्ने गरेको थियो”, उनले भनिन् ।

निर्देशक राईले बच्चा हुर्काउने जिम्मेवारी आमा झैँ बुबाको पनि उत्तिकै रहेको बताइन् । “कहिलेकाहीँ बुबाले बच्चाको कपडा बदलिरहेको छ । उसलाई फकाइरहेको छ र आफन्त आएका छन् भने आमालाई भाग्यमानी भन्छन् । बच्चा हुर्काउने दायित्व आमा झैँ बुबाको हो भन्ने किन बुझ्दैनन् ? हाम्रो यो अवस्था छ भने जहाँ महिला काम गर्दैनन् त्यहाँ के होला ? हामीले यससम्बन्धी सोचमा बदलाव ल्याउनु जरुरी छ”, उनको कथन थियो ।

पूर्वमिस नेपाल सुब्बालाई आमा बन्ने आवश्यकता महिलाभन्दा पनि बढी समाज र नातेदारले बनाएको दायरा जस्तो लाग्छ । उनी अध्ययनका क्रममा देखाइने पूर्ण परिवारको चित्रमा बुबा, आमा, छोरा र छोरीको चित्रसँग सहमत छैनन् । “सन्तान जन्मियो भन्दैमा विशेष हुने र पूर्ण हुने भनाइमा म सहमत छैन”, उनले भनिन् । एकल आमाको रूपमा छोरालाई हुर्काइरहेकी पूर्वमिस नेपाल सुब्बाले समाजमा बलियो बन्न सिकाइरहेकी छन् ।

अभिनेत्री कार्की अहिले चलचित्रसँगै टेलिभिजन कार्यक्रममा व्यस्त छिन् । उनलाई आमा भएपछि काममा फर्किने प्रेरणा आफ्नै आमामार्फत प्राप्त भएको थियो । काम गर्ने सिलसिलामा महिला सहभागिता न्यून रहेको चर्चा पनि हुने गर्छ । उनले देखाउनकै लागि महिलालाई समूहमा सामेल गर्न नहुने बताइन् ।

“मैले शृङ्खला निर्देशन गरेँ । महिला राख्दिम् न भनेर राखेर काम राम्रो हुँदैन । उहाँ त्योसम्बन्धी विज्ञ हो कि होइन ? काम गर्न सहज हुनुहुन्छ कि हुँदैन ? उहाँ कत्तिको सुरक्षित हुनुहुन्छ ? लगायतका तथ्यलाई सोच्नु पर्छ”, अभिनेत्री कार्कीले भनिन्, “महिला कम छ भन्ने भन्दा पनि विज्ञ छन् भन्ने आवाज बन्नु जरुरी छ । त्यहाँ कोटा र दयाभावभन्दा पनि प्रतिभा नै चाहिन्छ ।”

निर्देशक राईले आफ्नो चलचित्रको नाम नै परिवर्तन गरिन् । आइएम ट्वान्टी वानलाई ‘ज्याकीः आइएम ट्वान्टी वान’ बनाएपछि पुरुष पात्रको नाममा शीर्षक किन बनाएको भन्ने प्रश्न पनि उदाए । “मेरो दोस्रो चलचित्रमा आइपुग्दा म बजारमार्फत पनि निर्देशित छु । बजारले चाहिरहेको चलचित्र बनाएर आफूलाई चिनाउनुसँगै प्रमाणित गर्नुपर्ने दायित्व छ । त्यसैले मैले पुरुष पात्रको ज्याकीलाई शीर्षक बनाउँदा महिला पात्रको रुबीलाई बनाउन सकिनँ”, निर्देशक राईले भनिन्, “म स्थापित भएपछि वा मैले विश्वास पाएपछि म आफ्नो किसिमको चलचित्रमार्फत मेरो सोचलाई व्यक्त गर्न सक्छु । अहिले म बजारभन्दा बाहिर गए भने बाहिर नै हुन्छु ।”

निर्देशक राई जुम्ल्याहा सन्तान एक छोरा र एक छोरीकी आमा हुन् भने अभिनेत्री कार्कीले एक छोरीलाई जन्म दिएकी छन् । पूर्वमिस नेपाल सुब्बाको सात वर्षीय छोरा छ । उनीहरू तीनैजना आफ्नो क्षेत्रको काममा सक्रिय छन् ।