५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

खोप लगाएपछि संक्रमित घटे, यसरी सामान्य बन्दैछ अमेरिका

खोप लगाएपछि संक्रमित घटे, यसरी सामान्य बन्दैछ अमेरिका
अ+ अ-

मधुकर अधिकारी

वाशिङ्गटन डिसी । विगत डेढ वर्षदेखि कोरोना भाइरसका कारणले अस्तब्यस्त भएको अमेरिकी जनजीवन विस्तारै पुरानै लयमा फर्कन थालेको देखिएको छ । महामारीका कारण घर बसिरहँदा वाक्क भएका मानिसहरु खोप लगाएपछि घरबाट बाहिर निस्केर विस्तारै बजार व्यापार तथा जमघटहरुमा सहभागी हुन थालेका छन् । पछिल्ला हप्ताहरुमा अमेरिकाका विभिन्न शहर तथा बजारहरुमा पनि चहलपहल बढ्न थालेको देखिएको छ भने व्यापारिक प्रतिष्ठानहरुले आफना कारोवारमा वृद्धि भएको बताउन थालेका छन् । 

अमेरिकाका मुख्य पर्यटकीय गन्तव्य न्यूयोर्क, फ्लोरिडा, क्यालिफोर्निया जस्ता राज्यका ठूला रेष्टुरेन्टहरुमा पनि ‘लाइभ कन्सर्ट’ हरु शुरु भएका छन् भने पार्क तथा समुद्रका किनारमा समेत मानिसहरुको चहलपहल बढ्न थालेको छ । मनोरञ्जनका लागि समुद्री किनारमा जाने मानिसहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।  

यतिखेर यहाँका कतिपय पसल, होटल एवं व्यापारिक प्रतिष्ठानहरुले ‘यदि तपाई पूणर् रुपमा खोप प्राप्त व्यक्ति हुनुहुन्छ भने मास्क लगाइरहन पर्दैन’ भनेर सूचना टाँसेका देखिन्छन् । यी सूचनाहरुले अमेरिकीहरुलाई खुशी तुल्याएको अनूभूति पनि उनीहरु व्यक्त गरिरहेका छन् । सन् २०१९ को अन्त्यतिरबाट चीनको वुहानबाट युरोप हुँदै अमेरिका भित्रिएको ठानिएको कोरोना भाइरस (कोभिड १९) का कारण अमेरिकाले अकल्पनीय परिस्थितिको सामना गर्नुपरेको थियो । भाइरसको सङ्क्रमणले १६ महिनाको अवधिसम्ममा विश्वभरिमै सबैभन्दा बढी त अमेरिका प्रभावित भयो । अहिलेसम्म पनि अमेरिका नै सबैभन्दा धेरै प्रभावित देशको पहिलो सूचीमा नै रहेको छ । यो भाइरसले विश्वमा सबैभन्दा धेरै नागरिकको ज्यान लिने देशको सूचीमा अमेरिका परेको छ । 

कोरोना भाइरस विरुद्धको खोप निर्माणमा अमेरिकी कम्पनीहरुले सफलता पाएसँगै अहिले खोप वितरण तीव्र गतिमा भइरहेको छ । अहिले अमेरिकामा फाइजर कम्पनी र मोडर्ना कम्पनीका गरी दुईओटा खोप प्रदान गरिन्छ भने जोन्सन एण्ड जोन्सनको एक डोज खोप प्रदान गरिन्छ । यी तिनवटै खोपलाई आपतकालीन उपयोगको लागि भन्दै अमेरिकाको फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनले अनुमति दिएको हो । कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेपछि अमेरिकाका पचासैवटा राज्यमा पहिला जारी गरिएका कतिपय प्रतिबन्धहरुलाई पनि लचिलो बनाइएको छ भने कति राज्यहरुले त यस्ता प्रतिबन्धहरुलाई पूणर् रुपमा हटाइसकेका छन् । 

जुन महिनाको दोश्रो सातासम्ममा स्थानीय राज्यका गभर्नरहरुले खोप पर्याप्त उपलब्ध भएकाले खोप लगाउन प्रेरित गर्दै मानिसहरु जम्मा हुन पाउने व्यवस्थालाई खुकुलो बनाएका छन् । सबैभन्दा बढी प्रभावित भएको राज्यमध्येको एक न्यूयोर्कले कोरोना भाइरस विरुद्धको प्रतिबन्ध हटाएको घोषणा गर्न विशेष कार्यक्रम नै गरेको थियो । राज्यका ७० प्रतिशतभन्दा बढी नागरिकले खोप लगाएपछि राज्य सरकारले लगाएको विभिन्न प्रतिबन्धहरु हटाइएको बताएको थियो । 

कोरोना भाइरस विरुद्धको खोप लगाएकाहरुलाई कोरोना भाइरस लागेको खण्डमा उनीहरुमा सामान्य लक्षण देखापर्ने र कम फैलन सक्ने नयाँ तथ्य समेत प्रकाशित गरिएको छ । सेन्टर्स् फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन् सेन्टरले डिसेमबर १३ देखि अप्रिल १० सम्म गरेको अध्ययनमा यो तथ्य फेला परेको हो । यी खोपहरुले ९१ प्रतिशत सम्म कोरोना भाइरस विरुद्ध लड्न सक्ने क्षमता प्रदान गर्ने अनुसन्धानबाट पाइएको छ । 
 
कोरोना भाइरस विरुद्ध लडने उद्घोषका साथ राष्ट्रपतिको निर्वाचनमा होमिएका जो वाइडेनले निर्वाचनमा विजय भएर जनवरी २० मा शपथ लिएसँगै लिनुभएको रणनीतिले अमेरिकामा सफलता हासिल गर्न सम्भव भएको हो । वाइडेन प्रशासनले एक सय दिनको लक्ष्यसहित दश करोड जनालाई खोप र मास्कको वाध्यकारी व्यवस्था गरेकाले छ महिनामा नै अमेरिकाको जनजीवन सामान्यतर्फ उन्मुख हुन सकेको वा सम्भव भएको हो । 

वास्तविकता के हो भने वाइडेन प्रशासनको नीतिकै कारण १५० दिनमा ३० करोड अमेरिकीले कोरोना विरुद्धको पहिलो खोप लगाउन सफल भएका छन् । अहिले अमेरिकाको आर्थिक अवस्था थप मजबुत भएको भन्दै वाइडेन प्रशासनको प्रशंसा गरिएको छ । वाइडेन प्रशासनले आपतकालीन युद्धसँग जुधे जसरी राज्य संयन्त्रका हरेक समूहलाई विश्वासमा लिएर यथेष्ट बजेट समेत निकासा दिन सफल भएको थियो । 

अहिले अमेरिकी राज्य सरकारहरुले कोरोना विरुद्धको खोप लगाउने आफनो लक्ष्य हासिल गर्नको लागि पुरस्कारको समेत घोषणा गरेका छन् । यसरी घोषणा गरिएका राज्यहरुमा न्यूयोर्क, क्यालिफोर्निया, मेरील्याण्ड, मेनलगायतका रहेका छन् । अमेरिकाको सबैभन्दा ठूलो राज्य र जनसंख्यामा समेत पहिलो राज्यको रुपमा रहेको क्यालिफोर्नियाले १५ लाख डलरको पुरस्कारको घोषणा गरेको छ । उक्त राज्यमा ३ करोड ९५ लाख ३८ हजार २२३ जनसङ्ख्या रहेको छ । त्यसमध्ये ५६ दशमलव ९ प्रतिशत नागरिकले पूणर् खोप लगाएका छन् । 

अमेरिकामा कार्यरत चिकित्सक तथा एनआरएन ग्लोवल हेल्थ कमिटीका संयोजक डा।सञ्जीव सापकोटाले तत्कालको लागि खोपले काम गरेको स्पष्टसँग देखिएको बताउनुहुन्छ । सापकोटाले सङ्क्रमितको दर घट्दै गएको र खोप लगाउनेको सङ्ख्या पनि प्रतिदिन बढ्दो रहेकाले आगामी दुई तीन महिनाभित्रै निकै सहज अवस्था हुने विश्वास व्यक्त गर्नुभयो । 

“अहिले लिएको खोपले तीन महिना देखि छ महिनासम्म काम गर्छ, त्यसपछिको लागि आधिकारिक निकायहरुले थप अनुसन्धान पश्चात रणनीति सार्वजनिक गर्ने नै छन्” उहाँ भन्नुहुन्छ ।  महामारीबाट पूणर् रुपमा मुक्त भएको घोषणा गर्न थप समय चाहिने भएकाले कहिले सम्ममा खोपको उपलब्धता र नागरिकसम्म खोपको पहुँच हुन्छ त्यसमा निर्भर रहने सापकोटा बताउनु हुन्छ । अमेरिकामा १२ वर्ष माथि उमेर समूहकालाई समेत खोप दिइएकोले विद्यालयहरुमा पठनपाठन समेत शुरु गरिएको छ । सिडिसीले फाइजरको खोपलाई १२ देखि १५ वर्ष उमेर समूहलाई लगाउन अनुमति दिएपछि कोरोना भाइरस विरुद्धको खोप अभियानमा अर्को सफलता हात लागेको थियो । 

अमेरिकामा होटलको ‘अकुपेन्सी’ दर ५९ दशमलव ३ प्रतिशत रहेको थियो र यो दर जुन महिनाको दोश्रो सातामा ६६ प्रतिशत पुगेको छ । यसबाट मानिसहरु खोप लगाएपछि छुट्टीमा निस्किएका छन् भन्ने मजवुत आधार मान्न सकिन्छ । अमेरिकामा रियल स्टेट तथा सेवाका क्षेत्रमा लगानी गर्दै आएका रयाड पण्डित विस्तारै होटलहरुको कोठा भरिन थालेको बताउनुहुन्छ । पण्डित भन्नुहुन्छ “खोप पश्चात अमेरिकीहरुमा यात्रा गर्ने प्रवृत्ति वढेको छ, यसले होटल क्षेत्र बढी चलायमान भएको छ ।” 

अझै पनि कर्पोरेट रुपमा वार्षिक सभा, सम्मेलन हुन भने सकेको छैन । अमेरिकामा हुने सभा सम्मेलनले होटल, एयरलाइन्स् र यातायात क्षेत्रलाई चलायमान बनाउन महत्वपूणर् भूमिका निर्वाह गर्दछ । टेक्सासमा होटल ला क्वान्टा एण्ड स्वीट्मा लगानी गर्नुभएका विकासराज न्यौपाने पनि अमेरिका पुरानै लयमा फर्किन कोसिस गरेकोमा खुशी हुुनुहुन्छ । न्यौपानेले भन्नुभयो “पछिल्लो दुई महिनाको आँकडा हेर्दा व्यवसायले विस्तारै आफ्नो लय समात्न थालेको अनुभूति भएको छ । होटलका कोठाहरु लिने दर बढदै गएको छ ।” 

न्यौपानेका अनुसार टेक्सासमा खोपको उपलब्धता बढेसँगै रिटेल व्यवसाय, रेष्टुरेन्ट लगायत होटल व्यवसायमा वृद्धि भएको छ । अमेरिकाले आफनो स्वतन्त्रता दिवस आगामी दुईसातामा मनाउँदै छ । उक्त दिन अमेरिकामा मानिसहरु ग्रीष्मकालीन रुपमा छुट्टी मनाउनका लागि हिड्ने गर्छन् । यो समयलाई ग्रीष्मकालीन समयको एउटा चाडकै रुपमा समेत मनाएर मानिसहरुले खानपिन, जमघट र यात्रामा आफूलाई अत्याधिक व्यस्त राख्ने गर्छन् । जुलाई ४ अमेरिका स्वतन्त्र भएको दिन हो । यसलाई यहाँको सरकार र नागरिकले पनि उच्च प्राथमिकताका साथ मनाउने गरेका छन् । 

अमेरिका पुरानै लयमा फर्कने कोसिश गरिरहेको भएपनि पछिल्ला दिनहरुमा मानव संशाधनमा निकै चुनौती थपिएको छ । सङ्घीय सरकारले वेरोजगार भत्ता बापतको रकममा दिँदै आएको अनुदान, ‘ईविटी’ कार्ड बापतको रकमको वृद्धि तथा बालबालिकाका सुविधाअन्तर्गत मासिक रुपमा दिने रकमका कारणले पनि होला नागरिकहरु काममा फर्कन त्यति उत्साहित भएको भने देखिएको छैन । यसले गर्दा व्यवसायको वृद्धि हुने मौसममा जनशक्तिको अभावले साना तथा मझौला व्यवसायमा भने चुनौती थपिएको छ । 

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्ले दिएको तथ्याङ्कअनुसार यो आइतबारसम्म अमेरिकामा १४ करोड ९६ लाख ६७ हजार ६४६ अमेरिकीले  खोपको पूणर् मात्रा प्राप्त गरेका छन् । अमेरिकामा ६५ प्रतिशत वयस्क नागरिकले एक मात्रा (डोज) खोप लिएका छन् भने ८७ प्रतिशत ज्येष्ठ नागरिकले कम्तिमा पहिलो खोपको डोज लिइसकेका छन् । 

विश्वमा धेरै नागरिकहरुले खोप प्राप्त गर्नेहरुको सूचीमा जिब्राल्टर, माल्टा देशका ७० प्रतिशत नागरिकले खोप प्राप्त गरेका छन् । यसैगरी कुवेत ६७ दशमलव ३ प्रतिशत, क्यानाडा ६५ दशमलव ४, इजरायल ६३ दशमलव ४, बेलायतका ६१ दशमलव ७ प्रतिशत नागरिकले खोप पाएका छन् । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण ३ करोड ३५ लाख ४१ हजार ९८६ जना नागरिकमा देखा परेकोमा हालसम्म यस सङ्क्रमणका कारणले मृत्युवरण गर्नेको सङ्ख्या ६ लाख १ हजार जना रहेका छन् ।

अमेरिकामा रहेका स्वतन्त्र विश्लेषकहरु र अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको नयाँ प्रजाति (भेरियन्ट्) ले कस्तो असर गर्छ भन्ने कुरामा चनाखोपूर्वक विश्लेषण गर्न सुझाव दिइरहेका छन् । उनीहरु कोरोना भाइरस पूर्ण नियन्त्रणमा आयो भनेर भनिहाल्ने अवस्था छैन भनिरहेका छन् । यसलाई सुझवुझका साथ स्वास्थ्य मापदण्डहरुको ख्याल गर्दै नागरिकहरुलाई आफ्ना काम गर्न घुमफिर गर्न र जमघटहरुमा सामेल हुन पनि उनीहरुले अनुरोध गरिरहेका छन् । रासस