५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँझो जमिनमा फलफूल खेती



अ+ अ-

ढोरपाटन । युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई गाउँमै रोक्न आवश्यक छ ।

बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ । गाउँपालिकाले यस वर्षदेखि बाँझो तथा खाली जमिनमा फलफूल खेती गर्न सुरु गरेको हो । चालु आर्थिक वर्षमा वडा नं ४ मा एक हजार पाँच सय फलफूलका बिरुवा लगाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिनुभयो । थोरै मेहनतबाट राम्रो उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु र किवीका बिरुवा लगाइएको उहाँको भनाइ छ । पालिकाले कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराएको छ ।

खासगरी बसाइँसराइ रोक्न र गाउँमै रोजगार सिर्जना गर्नका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको उहाँको भनाइ छ । अध्यक्ष बुढामगर भन्नुहुन्छ, “यस वर्षदेखि बाँझो जमिनलाई उपयोग गर्ने गरी फलफूलका बिरुवा लगाइएको छ, वडा नं ४ बाट सुरु गरेका छौँ, अर्को वर्षदेखि पालिकाभरि नै लगाउने योजना छ, आफ्नो बारीमा लगाउने कृषकलाई ५० प्रतिशत अनुदानमा बिरुवा दिइएको छ, यसको प्रतिफल आउन केही वर्ष लाग्न सक्छ तर यसले स्थानीयको वातावरणलाई स्वच्छ राख्नसमेत मद्दत पुग्ने छ ।”

व्यवसाय दर्ता गरेर कृषि कर्म गरिरहेका ४० कृषकले फलफूलका बिरुवा व्यावसायिकरूपमा उत्पादन गर्ने गरी बारीमा लगाएको अध्यक्ष बुढामगरको भनाइ छ । कृषि प्राविधिकद्वारा माटो परीक्षण गरी बाँझो जमिनमा बिरुवा लगाइएको उहाँले बताउनुभयो ।

हिउँदे र बर्खे गरी दुई याममा बिरुवा उपलब्ध गराउने गरी पालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताउनुभयो । पहिलो चरणमा हिउँदे सिजनमा लगाउने बिरुवा उपलब्ध गराइसकिएको भन्दै अब बर्खे सिजनमा लगाउने बिरुवा जेठ महिनामा उपलब्ध गराइने पराजुलीको भनाइ छ ।

“अमिलो र फलफूल उत्पादन हुनसक्ने वातावरण र हावापानी भएको सम्भावना देखेर हामीले यो प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो, “यहाँका केही कृषकले दुई वर्ष पहिले लगाएको स्याउको बिरुवा हुर्किसकेको र अबको एक–दुई वर्षमा उत्पादन दिन सक्ने देखिएको छ, यसले गर्दा पनि यहाँको हावापानीमा फलफूल खेती राम्रो हुने सम्भावना धेरै छ ।” रासस