५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’– तस्बिरहरु



अ+ अ-

दमौली । मिछुर्लुङ गाउँमा खोलिएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुन थालेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सचिव प्रताप रानामगरले सञ्चालनमा ल्याउनुभएको उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट भिमाद हुँदै मिर्छुलुङ पुगिन्छ । खैरेनीटारबाट आठ किलोमिटर भिमाद बजार र त्यहाँबाट चार किलोमिटर यात्रा गरेपछि मिर्छुलुङ गाउँ पुगेपछि मगर भिलेज रिसोर्ट भेटिन्छ ।

उक्त रिसोर्ट पर्यटकीय तथा अध्ययन केन्द्रका रूपमा विकास हुन थालेको सञ्चालक राना मगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक वातावरण, स्थानीय संस्कृति र मगर संस्कारलाई प्रवद्र्धन गर्दै यो रिसोर्ट सञ्चालन गरिएको छ । यहाँ दिनदिनै आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।”

“मगर संस्कृतिको अध्ययनका लागि जिल्ला तथा जिल्लाबाहिरबाट विद्यार्थी, सर्वसाधारण र सहकारी सङ्घसंस्थाका टोली आउँछन् र यहाँको मनोरम दृश्य हेर्दै मोहित भएर फर्किन्छन्”, सञ्चालक रानाले भन्नुभयो । गत वर्षदेखि सञ्चालनमा आएको रिसोर्टले एक वर्षमै ख्याति कमाइसकेको छ ।

यस रिसोर्टमा रहेको घुमाउने घर र खुर्पेटोले यहाँ पुग्ने सर्वसाधारणको ध्यान खिच्ने गरेको छ । “आजभोलि घुमाउने घर कमै मात्रामा देख्न पाइन्छ, हामीले घुमाउने घर बनाएर राखेका छौँ, घर अगाडि खुर्पेटो पनि छ,” उहाँले भन्नुभयो, “घुमाउने घर र खुर्पेटोमा फोटो खिचाउन आगन्तुक लालायित हुन्छन् ।”

रिसोर्टमा ढिकी, जाँतोजस्ता पुराना सामग्री पनि राखिएको छ । अहिलेका पुस्तालाई पुरातात्विक तथा धार्मिक महत्वका सामग्रीबारे बुझाउन विभिन्न सामग्री राखिएको र अहिले त्यही हेर्न विद्यालयबाट पनि विद्यार्थी आउने गरेको सञ्चालक रानाको भनाइ थियो ।

रिसोर्टमा पुगेका पाहुनालाई प्राङ्गारिक खाना खुवाउने व्यवस्था मिलाइएको छ । यहाँ विभिन्न गीतको छायाङ्कनसमेत हुने गरेको छ । “गाउँले दृश्य भिडिओमा समावेश गर्न र थुप्रै गीतको छायाङ्कन भइसकेको छ,” सञ्चालक रानाले भन्नुभयो । रिसोर्टमा रहेको डुङ्गाको पिङ यहाँको अर्को आकर्षण बनेको छ ।

ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीहरूबाट सङ्कलन गरिएको रकमबाट उक्त स्तम्भ निर्माण गरिएको हो ।

मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहनुभएका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थियो । कूल रु ३८ लाख चार हजार नौ सयको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको बताइएको छ । मगर समुदायको कौरा र झ्याउरे गीतका साथै प्राङ्गारिक खानाको परिकार मिर्छुलुङको विशेषता हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिएको थियो। रासस

तस्बिर: प्रताप राणा