काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले परिवर्तनकारी सकारात्मक शक्तिहरू एक भै मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाउनु पर्ने उल्लेख गर्नुभएको छ ।
सर्बोच्चको आदेश पछि सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेता नेपालले सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम पनि नदिने जनाउनु भएको छ ।
उहाँले लेख्नु भएको छ–
संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो १ जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो ।तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्। सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन ।
हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपंथी ,लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं !!