४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

चलचित्रमा पात्र चयन कसरी हुन्छ ?

चलचित्रमा पात्र चयन कसरी हुन्छ ?
अ+ अ-

काठमाडौँ  । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनै भूमिकाले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् ।

चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? वा निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने एजेन्सी नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार सुझाव दिने गर्छन् ।

गत आइतबार साँझ नेपाली कलाकारसँग अन्तरक्रिया गर्नुभएका भारतीय निर्देशक, कलाकार तथा कथाकार डाक्टर चन्द्रप्रकाश द्विवेदीले भारतमा एकै एजेन्सीले लाखौँ कलाकारलाई अनुबन्धित गरेर काम दिइरहेको जानकारी दिनुभयो । “मैले पछिल्लो चलचित्र ‘सम्राट पृथ्वीराज’मा काम गर्दा सम्झौता गरेको एजेन्सीसँग १५ लाख बढी कलाकार थिए । त्यसैले भूमिकामा छनोट हुन सोचेजस्तो सहज छैन”, निर्देशक द्विवेदीले भन्नुभयो, “यद्यपि केही समययता ओटिटीका लागि बन्ने चलचित्र र शृङ्खलाले ती कलाकारको काम पर्दासम्म ल्याउन मद्दत गरेको छ ।”

भारतझैँ नेपालमा चलचित्रका लागि कलाकार छनोट गर्ने एजेन्सी छैन । पात्रअनुसार कलाकार छनोट गर्ने प्रचलन केही समययता नबढेको होइन । यद्यपि ती बजारमार्फत निर्देशित छन् । अभिनेता सुनिल थापाको ‘राते काइँला’, राजेश हमालको ‘शङ्कर’, सौगात मल्लको ‘हाकु काले’, दयाहाङ राईको ‘काजी’ लगायतका केही चरित्र दर्शकमाझ लोकप्रिय छन् ।

कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ भन्ने तय निर्देशकले गर्ने गरेका छन् । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । अहिले पात्रअनुसार कलाकार छान्न निर्देशक राख्ने क्रम बढिरहेको छ । चलचित्रको भाषामा उनीहरूलाई ‘कास्टिङ डिरेक्टर’ भनिन्छ ।

नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन् थालेको निर्देशक दिनेश राउतले बताउनुभयो । “सुरुआती समयमा निर्देशक बन्न केन्द्रित रहेर काम गरेँ । सायद त्यो समयमा मैले कलाकार डिमान्ड गर्न सक्दिन थिएँ । त्यसैले काम मात्र गरेँ”, निर्देशक राउतले भन्नुभयो, “पछिल्लो दुई चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’ मा भने भूमिका सुहाउँदो कलाकारको अडिसन लिएर नै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ । साथै हामीले यो कलाकार चाहियो पनि भन्न सक्छौँ ।”

निर्देशनको प्रारम्म्भ ‘नोभेम्बर रेन’ मार्फत गर्दा उहाँले सबै काम आफैँ गर्नुहुन्थ्यो । यद्यपि अहिले कलाकार छनोट गर्ने निर्देशक राख्न थाल्नुभएको छ । उहाँले पछिल्लो चलचित्र ‘प्रकाश’ मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा दिनुभएको थियो । केही चलचित्रमा पात्र छनोट वा भनौँ निर्देशन गर्नुभएका रङ्गकर्मी केदार श्रेष्ठले विशेषत: स–साना पात्रका लागि मात्र निर्देशक आइपुग्ने अनुभव सुनाउनुभयो ।

“मुख्य पात्रका लागि कलाकार छनोट भएपछि सहायक र साना पात्र खोज्दै आउनेको सङ्ख्या बढी छ । उहाँहरूसँग चरित्रबारे स्पष्टता पनि कम पाएको छु तर केही पूर्णरूपमा बुझेर पात्र छनोटको जिम्मेवारी नै दिन समेत आउनुहुन्छ”, रङ्गकर्मी केदार श्रेष्ठले भन्नुभयो ।

अभिनेत्री लक्ष्मी बर्देवाले कथापछि पात्र र त्यसको चयन चलचित्रमा महत्त्वपूर्ण हुने बताउनुभयो । “म अडिसन दिन पुग्छु । हामी कहाँ काम नपाउँदासम्म अडिसन दिने र त्यसपछि नदिने चलन छ । तर हामीले आफू सुहाउँदो भूमिका भए अडिसन दिँदा फरक पर्दैन”, अभिनेत्री बर्देवाले भन्नुभयो, “नेपाली चलचित्रमा अडिसन गर्दा बजारलाई हेरेर निर्देशित हुने सङ्ख्या धेरै छ । प्रक्रियागत रूपमा पूरा नहुँदासम्म धेरै कलाकार अडिसन दिन तयार देखिनु हुन्न ।”

रङ्गकर्मी श्रेष्ठले निर्माताको दृिष्टकोणअनुसार बजार हेर्नु स्वाभाविक भए पनि पात्र छनोटको प्रक्रिया विस्तारै सही दिशामा अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ध्वनि, प्रोडक्सन डिजाइन, कला डिजाइनलगायतको विधामा निर्देशकले जानकार राखेर काम गर्नुहुन्छ । यो सुखद् पक्ष हो । परिवर्तन हुँदैछ ।”

निर्देशक राउतले बजारमा हुने व्यापारको अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताउनुभयो । “कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो तर हामी बजारको निर्देशन भन्दा बाहिर धेरै जान सक्दैनौँ । किनकि सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ”, निर्देशक राउतले भन्नुभयो, “व्यावसायिक पाटोलाई विशेष महत्त्व दिएका चलचित्र अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन् । यद्यपि कलात्मक पाटो हावी भएको चलचित्रमा भने प्रयास भएका छन् ।”

कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुनेगरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ । रासस