१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः चेन्नईद्वारा लखनउ १२ रनले पराजित



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले लखनउ सुपर जाइन्ट्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेन्नईले लखनउलाई घरेलु मैदान एमए चिन्दरबम स्टेडियममा १२ रनले पराजित गरेको हो ।

यो सिजनमा महेन्द्र सिंह धोनीको टोलीको पहिलो जित हो । उसले पछिल्लो खेलमा गुजरात टाइटन्ससँग हार बेहोरेको थियो । चेन्नईको टोली सन् २०१९ पछि यही मैदानमा खेल्न आएको थियो । आईपीएलमा चेन्नईको लखनउ सुपरजाइन्ट्स विरुद्धको यो पहिलो जित हो । यसअघि दुई टोलीबीच गत वर्ष मात्रै खेल भएको थियो । लखनउका कप्तान केएल राहुलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए ।

चेन्नईले २० ओभरमा सात विकेट गुमाएर २१७ रन बनाएको थियो । जवाफमा लखनउको टोलीले २० ओभरमा सात विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो । खेलमा कुल ४२२ रन बनेको थियो । जारी प्रतियोगितामा लखनउको यो पहिलो हार हो । पछिल्लो खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई हराएको थियो । चेन्नई सुपर किंग्सको टोलीले अब अप्रिल ८ मा वानखेडे स्टेडियममा चिर प्रतिद्वन्द्वी मुम्बई इन्डियन्ससँग खेल्नेछ । त्यस्तै लखनउले ७ अप्रिलमा आफ्नो घरेलु मैदानमा सनराइजर्स हैदरावादसँग खेल्ने छ ।

२१८ रनको लक्ष्य पछ्याएको लखनउ सुपर जायन्ट्सले उत्कृष्ट सुरुवात गरेको थियो । उसले पहिलो ६ ओभरमा ८० रन बनाएको थियो । काइल मेयर्सले २२ बलमा ५३ रनको इनिङ खेले । उनले आठ चौका र दुई छक्का प्रहार गरे । उनले कप्तान केएल राहुलसँग पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरे । उनी छैटौं ओभरको तेस्रो बलमा आउट भए । मेयर्सको आउट भएपछि लखनउले नियमित अन्तरालमा पराजय भोग्यो । जसका कारण टोलीले हार बेहोर्नुपरेको थियो ।

निकोलस पूरनले १८ बलमा ३२ रनको इनिङ खेले । उनले दुई चौका र तीन छक्का प्रहार गरे । पूरन जबसम्म क्रिजमा थिए, लखनउले खेल जित्ने आश जिवितै थियो । १६ औं ओभरको अन्तिम बलमा उनी आउट भएपछि लखनउको आशा लगभग समाप्त भयो । आयुष बडोनीले १८ बलमा २३, कृष्णप्पा गौतमले ११ बलमा नटआउट १७ र मार्क वुडले तीन बलमा १० रन बनाए पनि यी खेलाडीले टोलीलाई जिताउन सकेनन् । मार्कस स्टोइनिसले १८ बलमा २१ र कप्तान केएल राहुलले १८ बलमा २० रन बनाए । क्रुणाल पाण्डे ९ र दीपक हुडा २ रन बनाएर आउट भए । चेन्नईका लागि मोइन अलीले ४ र तुषार देशपाण्डेले २ विकेट लिए । मिचेल सान्टनरले एक सफलता प्राप्त गरे ।

यस खेलमा चेन्नईका लागि अम्बाती रायुडुको स्थानमा तुषार प्रभावशाली खेलाडीको रुपमा मैदान उत्रिएका थिए । उनी गुजरातविरुद्ध पनि प्रभावशाली खेलाडी थिए, तर त्यसमा उनले खासै केही गर्न सकेनन् । यस खेलमा पहिलो ओभरमा महँगो साबित भएपछि उनले पुनरागमन गर्दै दुई विकेट लिए र चेन्नईलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले । उनले अन्तिम ओभरमा निकोलस पूरनपछि आयुष बडोनीलाई आउट गरे ।

यसअघि ऋतुराज गायकवाड र डेभोन कोनवेले चेन्नई सुपर किंग्सलाई उत्कृष्ट सुरुवात गराए । ऋतुराजले लगातार दोस्रो खेलमा अर्धशतक बनाए । उनले ३१ बलमा ५७ रनको इनिङ खेले । यस क्रममा गायकवाडले तीन चौका र चार छक्का प्रहार गरे । ऋतुराजका अलावा डेभोन कोनवेले २९ बलमा ४७ रनको इनिङ खेले । उनले पाँच चौका र दुई छक्का प्रहार गरे । गायकवाड र कोनवेले पहिलो विकेटका लागि ९.१ ओभरमा ११० रनको साझेदारी गरे ।

अम्बाती रायुडुले १४ बलमा २७ रन बनाएर अविजित रहे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । शिवम दुबेले १६ बलमा २७ रन बनाए । मोइन अलीले १३ बलमा १९ रनको योगदान दिए । कप्तान महेन्द्र सिंह धोनीले तीन बल सामना गरे । उनले पहिलो दुई बलमा दुई छक्का प्रहार गरे । तेस्रो बलमा मार्क वुडले उनलाई आयुष बडोनीबाट क्याच आउट पारे । धोनीको स्ट्राइक रेट ४०० थियो । धोनीको १२ रनले अन्तमा लखनउलाई ओझेलमा पार्यो र यो जितको अन्तराल बन्यो । बेन स्टोक्स आठ र रविन्द्र जडेजाले तीन रन बनाएर आउट भए । लखनउका मार्क वुड र रवि बिश्नोईले तीनरतीन विकेट लिए । आवेश खानले सफलता हात पारे ।

यसैबीच आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।