दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका अन्तर्गत विवादास्पद खेलमा ब्राजिलले कोलम्बियालाई पराजित गरेको छ ।
नेपाली समय अनुसार बिहीबार बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई संघर्षपूर्ण खेलमा २–१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलका लागि रोबर्टो फार्मिन्होले ७८औं तथा कासेमिरोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
ब्राजिलले गरेको पहिलो गोल विवादास्पद बनेको थियो । डिबक्स बाहिरबाट नेइमारले प्रहार गरेको बल रेफ्रीलाई लागेर फर्किए पछि त्यो बललाई ब्राजिली खेलाडीले मैदानको बायाँतर्फ फालेका थिए । त्यहाँबाट ब्राजिली खेलाडीले प्रहार गरेको क्रसलाई फार्मिन्होले हेडमार्फत गोल गरेका थिए ।
त्यसपछि कोलम्बियाली खेलाडीले रेफ्रीलाई घेराउ गर्दै “डेड बल” घोषित गर्न र गोललाई रद्द गर्न झण्डै ८ मिनेट प्रदर्शन गरेका थिए । रेफ्रीले “भिएआर” को समेत सहयोग लिएका थिए, र अन्ततः गोललाई सदर गरियो ।
कोलम्बियाका लागि १०औं मिनेटमा लुइज डायजले पहिलो गोल गरेका थिए । त्यसपछि ब्राजिलले कोलम्बियामाथि लगातार आक्रमण र प्रत्याक्रमण गरे पनि गोल गर्न सकेको थिएन ।
यो जितसँगै ब्राजिलले समूहमा आफ्नो स्थिति अझ सुदृढ गरेको छ । ब्राजिलले तीन खेलबाट सबैमा विजयी हुँदै ९ अंक जोडिसकेको छ ।
आजै भएको इक्वेडर र पेरुबीचको अर्को खेल बराबरीमा टुंगिएको छ ।
अंक तालिका ( समूह बी ) | ||
देश | खेल संख्या | अंक |
ब्राजिल | ३ | ९ |
कोलम्बीया | ४ | ४ |
पेरू | ३ | ४ |
इक्वेडर | ३ | २ |
भेनेजुएला | ३ | २ |