एजेन्सी । श्रीलंकाले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपमा स्थान बनाउनका लागि छनोट खेल्ने भएको छ ।
आइसिसी सुपर लिगको अन्तिम खेलमा श्रीलंकाले घरेलु टोली न्युजिल्यान्डसँग ६ विकेटको हार ब्यहोरेसँग सोझै विश्वकपमा स्थान बनाउने सम्भावना समाप्त भएको हो । विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा श्रीलंकाले सहभागीता जनाउने छ ।
श्रीलंकाले सुपर लिग मा २४ खेलमध्ये ७ मा जित र १३ मा हारसहित ८१ अंकका साथ नवौं स्थानमा अन्त्य गर्यो । योसँगै अपौचारिक रुपमा छनोट खेल्ने पक्का भएको छ । सुपर लिगको नियम अनुसार आयोजक भारतसहित शीर्ष आठ टोलीले मात्रै विश्वकपमा सोझै स्थान बनाउछन् ।
भारत, पाकिस्तान, बंगलादेश, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र इंग्ल्यान्ड गरि ७ टोली सोझै विश्वकपमा पुगि सकेका छन् । अब वेस्ट इन्डिज, आयरल्याण्ड र दक्षिण अफ्रिका मध्ये एक टोलीले सोझै विश्वकपमा स्थान बनाउनेछन् । वेस्ट इन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ । दक्षिण अफ्रिका १९ खेलमा ७ मा जित र १३ मा हारसहित ७८ अंकका साथ १० औं स्थानमा छ । आयरल्याण्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंक्का साथ ११ औं स्थानमा छन् ।
आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली र क्वालिफायर प्लेअफका शीर्ष दुई गरि कुल १० टोली हुनेछन् । सुपर लिगबाट श्रीलंका, जिम्बावे र नेदरल्यान्ड्सले छनोट खेल्ने पक्का भएको छ । अब दक्षिण अफ्रिका, आयरल्याण्ड र वेस्टइन्डिज मध्य दुई टोलीले छनोट खेल्नुपर्ने हुन्छ ।
लिग २ मा नेपाल, स्कटल्याण्ड र ओमानले विश्वकप छनोटमा स्थान बनाई सकेका छन् । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली अमेरिका, नामिबिया, युएई, पपुवा न्युगिनीसँगै च्यालेन्ज लिग ए र बी का विजेता क्यानडा र जर्सीबीच प्रतिस्पर्धा जारी छ । जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् ।
श्रीलंकाले दिएको १ सय ५८ रनको लक्ष्य घरेलु टोली न्युजिल्याण्डले ३२.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डका लागि विल योंगले १ सय १३ बलमा अविजित ८६ रनको अर्धशतकीय ईनिङ्स खेले । उनले ११ चौका प्रहार गरे । यस्तै, हेनरी निकोलस. ५२ बलमा ४४ रनसहित अविजित रहे । श्रीलंकाका लागि लाहिरु कुमाराले २ तथा कासुन रजिथा र कप्तान दासुन शनकाले समान १र१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४१.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो । उसका लागि ओपनर पथुम निशंकाले ६४ बलमा ५७ रनको अर्धशतकीय ईनिङ्स खेले । कप्तान दासुन शनकाले ३१ रन जोड्दा चमिका करुणरत्ने २४ रनमा आउट भए ।
धनन्जय डी सिल्भाले १३ रन बनाउँदा श्रीलंकाका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । न्युजिल्याण्डका लागि म्याट हेनरी, हेनरी शिप्ले र ड्यारेल मिचेलले समान ३/३ विकेट लिए ।










