सिंहपुर, रक्सौल । राजश्व चुहावट कार्यमा संलग्न एक जनालाई करिब १९ करोड जरिवाना विगो असुल गरी जरिवाना र कैद माग दावी गरिएको छ । भारत घर भई विरगंज महानगरपालिका वडा नं.५ रेशमकोठी मा बस्ने निवेदिका सिन्हा र निजको बुबालाई सो जरिवाना र कैद माग दावी गरिएको हो ।
बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगंजमा १८ करोड ६५ लाख दुई हजार सात सय छ रुपैयाँ विगो असुल गरी निजहरुलाई जरिवाना र कैद माग दावी गर्दै मुद्दा दर्ता गरिएको हो ।
सिन्हा श्री गणेश अपार्टमेन्टको तेस्रो तल्लाको फ्लाट नं. ३०३ खरीद गरी बसोबास गर्दै आएका थिए । सिन्हा र निजको बुबा अशोक कुमार सिन्हाले २२९५७.४८ ग्राम सुन र १०७८.०० ग्राम चाँदीका गरगहना अवैध रुपमा भन्सार चोरी पैठारी गरी लुकाइछिपाई गरेको अभियोगमा पक्राउ भएका हुन्।
प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (झ) बमोजिम कसुर गरेको खुलाएको छ । उक्त कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१) बमोजिम जरिवाना, दफा २३(१)(घ) बमोजिम कैद सजाय र बरामद भएको सुनरचाँदी सोही ऐनको दफा ३३(१) बमोजिम जफत हुन मागदावी गरिएको छ ।