२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको समस्या नेपालीले नै हल गर्छन्, बाह्य दवाब आवश्यक छैन: विपक्षी गठबन्धन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम भएको भन्दै राष्ट्रिय हितको संरक्षण र लोकतन्त्रको रक्षाको निम्ति संयुक्त मोर्चा अग्रसर भएको बताउनुभएको छ । 

बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्र्तक्रियामा बोल्दै सभापति देउवाले प्रतिनिधि सभाको विघटनले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको बताउनुभएको छ । उहाँले आफुलाई प्रधानमन्त्री बनाउने निवेदनलाई अस्वीकार गरी लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार भएको बताउनुभयो । संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षाको लागि पाँच राजनीतिक दलको संयुक्त मोर्चा बनेको उहाँले स्पष्ट पार्नुभयो ।

सभापति देउवाले आफुहरु मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय मुलुकहरुसँग स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सम्बन्ध कायम गर्न चाहेको पनि बताउनुभयो । सभापति देउवाले लोकतन्त्र र संविधानको पक्षमा उभिन पनि सबैलाई आव्हान गर्नुभयो । उहाँले भन्नुभयो – ‘राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटनले लोकतन्त्र माथि नै खतरा उत्पन्न गरेको छ ।

प्रतिनिधि सभाका बहुमत १४९ जनाको हस्ताक्षरसहित राष्ट्रपतिको आव्हान अनुसार हामीले प्रधानमन्त्रीका लागि दाबी गर्‍यौँ । स्वेच्छाचारी किसिमले अस्वीकार गर्दै लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार भएको छ । तसर्थ हामीले लोकतन्त्रका लगि सर्वोच्च अदालतमा निवेदन दिएका छौँ । हामीहरु राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्रको रक्षा र जनतालाई महामारीबाट बचाउने उदेश्यसाथ पाँच राजनीतिक दलको संयुक्त मोर्चाका साथ अग्रसर छौँ ।  हामी सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितमा आधारित स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहान्छौँ । निरंकुशता विरुद्ध लोकतन्त्रको पक्षमा उठौं, सबै किसिमका षडयन्त्र चिर्दै संविधान रक्षामा जुटौं ।’

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु देश र जनताको हितको निम्ति दृढताका साथ अगाडी बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताउनुभयो । आफुहरुको चिन्ता र चासो देशको स्वाधिनता र स्वाभिमानको रक्षा गर्ने रहेको पनि उहाँले बताउनुभयो । आफ्नो गल्ती र कमीकमजोरीलाई सच्याएर आए केपी शर्मा ओलीलाई पनि स्वागत गर्न तयार रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘देशको हितको लागि, जनताको हितको लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडी बढिन्छ । यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो । यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन । कसरी देशको स्वाधिनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ । मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीलाई स्वीकार गरेर, फेरी कोर्ष करेक्शन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र नरहने बताउनुभयो । लोकतन्त्र नरहने शान्ति, समृद्धि र स्थिरता अगाडी नबढ्ने पनि उहाँले बताउनुभयो । अध्यक्ष यादवले राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति नगरेका कारण उहाँको भुमिका शंकास्पद र प्रश्नबाचक रहेको पनि बताउनुभयो । उहाँले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको पक्षमा, न्यायको पक्षमा फैसला गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विघटन लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारी लाद्नका लागि गरेका हुन् । प्रधानमन्त्रीका लागि किन आव्हान गरियो र आव्हान मुताविक दावा पेश गर्दा किन प्रधानमन्त्री नियुक्त गरिएन ? राष्ट्रपतिको भुमिका पनि प्रश्नबाचक र शंकास्पद छ । कि त भन्नुप¥यो ओली बाहेक अरुलाई प्रधानमन्त्री देख्नै सक्तिनँ म भनेर । नत्रभने प्रधानमन्त्रीको रुपमा नियुक्त नगर्नुपर्ने कारण नै छैन । मुलुकमा लोकतन्त्र, गणतन्त्र र संविधान माथि नै प्रहार भएको छ । कार्यकारी प्रमुखबाट प्रहार हुने र राष्ट्रपतिले सदर गर्दै जाने हो भने लोकतन्त्र रहन्न । लोकतन्त्र नरहे शान्ति, समृद्धि र स्थिरता अगाडी बढ्न सक्दैन ।’

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संसद विघटनका विदेशी शक्तिको हात रहेको दाबी गर्नुभयो । उहाँले भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि नेपालको राजनीतिमा अप्रत्याशित रुपमा फेरबदल भएको टिप्पणी गर्नुभयो । प्रतिनिधि सभा विघटनविरुद्धको कदममा ०६२÷०६३ को जनआन्दोलनका सहयात्री दलहरु एक हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सामान्य प्रकारको घटनाक्रम होइन । भारतका कयौँ कुटनीतिज्ञले खुला रुपमा भनेका छन्, भारतीय जनता पार्टीको सरकार नेपालमा ओलीको सरकारसँग मिलेर राजतन्त्र र हिन्दुराज्य व्युताउनको लागि प्रयास गरिरहेको छ । भारताक विरुद्ध धेरै ठुलो जनमत नेपालमा सिर्जना भइराखेको छ । यसको बारेमा भारतिय जनता पार्टीको सरकारले आफ्नो पोजिसन क्लियर गर्नुपर्छ । यसका पछाडी विदेशी शक्तिहरुको पनि हात छ । र विदेशी शक्तिहरु सँगको भेटघाट पछि नेपालमा अप्रत्याशित रुपमा नेपालमा ठुला–ठुला राजनीतिक घटनाक्रमहरु पनि घटेका छन् । प्रतिगमनलाई पराजित गर्नका लागि हिजो २०६२-०६३ सालको ऐतिहासिक जनआन्दोलनमा भाग लिएका शक्तिहरु आज एक ठाउँमा आउनुपर्ने आवश्यकता छ ।’

प्रतिगमनको विरोधमा पाँच राजनीतिक दलहरु एकै ठाउँ उभिएपछि प्रगमन परास्त हुने उहाँले दाबी गर्नुभयो । सत्तारुढले सत्ताको आडमा अल्मल्याउन, जालझेल गर्न तथा षडयन्त्रहरु गर्नसक्नेमा सचेत हुँदै संयुक्त आन्दोलन गर्नुपर्नेमा उहाँको जोड छ ।