२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

नानको महिमा

नानको महिमा
अ अ+ अ-

चीन । नेपाल र चीनबीचमा खानपानमा निकै भिन्नता छ। पाँच हजार वर्षको जीवन्त इतिहास बोकेको चीनले हजारौँ प्रकारका खाद्य संस्कृति समेटेको छ। चीनकै फरक भूगोलमा फरक खालका खानेकुराले स्थानीय संस्कृति र इतिहासलाई अध्ययन र विश्लेषण गर्न सकिन्छ।

नेपालीहरुले बिहानै उठेर नखाइन नहुने चिया पाँच हजार वर्ष अगाडि चीनमा आविष्कार भएको हो। तर चिनियाँहरुले खाने चिया नेपालीकोभन्दा फरक हुन्छ। हामी चियापतिलाई पानीमा उमालेर त्यसमा दूध र चिनी मिसाएर खान्छौँ। अझ हिजोआजा त तेजपत्ता, सुकुमेल, अँलैची, ल्वाङ, अदुवा लगायतका विभिन्न प्रकारका मरमसला मिसाएर खाने चलन छ। चियाको आविस्कार गरेर विश्वको सबैभन्दा धेरै उत्पादन र उपभोग गर्ने चीनमा भने चिया खाने संस्कृति अलिक फरक छ। तातोपानीमा चियाँपति भिजाएर सुरुप सुरुप पिउँछन् चिनियाँहरु। त्यसमा न चिनी मिसाउँछन् न त मरमसला। तर तिब्बती अल्पसंख्यकले खाने चिया चाहिँ अलिक फरक छ। चौँरीको दूधमा घिउ र नुनसँगै टोलङ (ढुङ्ग्रो)मा चिया पारेर खाने चलन छ। नेपालका शेर्पा जातिले पनि ठ्याक्कै त्यसरी नै बनाउँछन् र खान्छन् चिया।

चीनको उत्तरपश्चिममा पर्ने सिन्च्याङ प्रान्तमा भने चिया अलिक फरक तरिकाले खाइने रहेछ। चीन बसाइको आठ वर्षमा पहिलोपटक सिन्च्याङको भ्रमणले अल्पसङ्ख्यक उइगुर जाति र कजाक जाति लगायत स्थानीय मुसलमान धर्म मान्ने जातिका खानपान कताकति नेपालीसँग मिलेको पाउँदा यो आलेख तयार बनाउने जाँगर चलेको हो। सिन्च्याङमा दूध र चियापति पानीमा मिसाएर पकाइने रहेछ। पकाउने शैली नेपालकै जस्तो। त्यसमा उनीहरु थोरै नुन हाल्छन् र नेपाली शेर्पा जातिले खाने चिया अथवा तिब्बती चिया जस्तै स्वादिलो बनाउँछन्।

दूध चियापछि सिन्च्याङको खानेकुरामा सबैभन्दा लोकप्रिय बस्तु हो नान। हजुर नान रोटी। तपाईं हामीले खाने जस्तै नानरोटी। अनि बनाउने तरिका पनि उही। ठूलो ड्रमको पुछारमा भुङ्ग्रो र त्यही ड्रमको भित्रपट्टि टाँसेर पकाइने काइदा। गौशालाका फुटपाथमै जोडिएका साना खाजाघरले सडककै छेउमा त्यसरी नै बनाउँछन् नान। सिन्च्याङमा नान बनाएको देख्ता त्यही झल्को आउने। सिन्च्याङका ग्रामीण क्षेत्रमा अहिले पनि उसैगरी पकाइन्छ नान। सहरी क्षेत्रमा चाहिँ भुङ्ग्रोको ठाउँमा विद्युतीय ड्रम प्रयोग गर्न थालिएको छ।

स्वाद पनि उस्तै अनि नाम पनि उही 'नान'। थाहा छैन यो 'नान' शब्द नेपालबाट सिन्च्याङमा आयो अथवा सिन्च्याङबाट नेपालमा गयो। कतकति नेपालबाट आएको हो कि भन्ने अनुमान गर्न सकिन्छ। किनभने चिनियाँ भाषामा 'नान'को अर्थ दक्षिण हुन्छ। दक्षिणबाट आएको खानेकुरा भएर यहाँ 'नान' भनिएको त हुनसक्छ किनभने नेपाल सिन्च्याङबाट सोझै दक्षिणमा पर्छ। तर हामीले चाहिँ के आधारमा 'नान' भन्यौँ थाहा छैन। त्यसो त इरान, अफगानिस्तान, पाकिस्तान, भारत र अफ्रिकी मुलुकमा पनि 'नान' नै भनिदोरहेछ।

चीनमा जुन दिशाबाट खानेकुरा आयो त्यही अनुसार नाम राख्ने चलन चाहिँ छ। जस्तो पश्चिमी क्षेत्रबाट आएको खरबुजालाई 'सी क्वा' भनिन्छ। चिनियाँ भाषामा 'सी' भनेको पश्चिम दिशा हो र 'क्वा' भनेको फल हो। त्यस्तै दक्षिण दिशाबाट आएकाले फर्सीलाई 'नान क्वा' भनिन्छ।

सिन्च्याङ प्राचीन रेशमी मार्गको महत्वपूर्ण हब हो। यहाँबाट मध्य एसिया र युरोपमा व्यापारिक सञ्जाल विकास भएको थियो। त्यसैले नान पनि यहीँबाट विभिन्न देशमा फैलिएको हुन सक्छ। किनभने सबैभन्दा पहिले मान्छेसँग जाने भनेको खाने कुरा नै हो। त्यसमा पनि नान त झनै सजिलो। पकाएर पोको बनाएर बोकेपछि हप्तौँ अथवा महिनौँसम्म खान सकिने भएकाले घुमन्ते व्यापारीले नानको स्वाद र नामलाई विश्वव्यापी बनाएका हुन सक्छन्।

हिजोआज सिन्च्याङमा नान गैरभौतिक सांस्कृतिक सम्पदाको रुपमा विकास हुन थालेको छ। सिन्च्याङ प्रान्तको त्यस्तो कुनै बजार छैन जहाँ नान नपाइयोस्। त्यस्तो कुनै रेष्टुरेन्ट छैन जहाँ नान नहोस्। तपाईंले जेसुकै खानेकुरा अडर गरेपनि साथमै आउँछ नान। मुख्य खानेकुरा पनि नान अनि डेजर्डको रुपमा पनि नान। ओहो नान पनि कति प्रकारका। सूर्यमुखी फूलको बिया राखेको नान, कालो तिल राखेको नान, सेतो तिल राखेको नान, बदाम राखेको नान, ओखर राखेको नान, अप्रिकोट राखेको नान, किसमिस राखेको नान, सादा नान, दूधमा बनाएको नान केके हो केके।

नान खानेकुरा मात्र नभएर जीवन र संस्कृति बनेको छ सिन्च्याङमा। नानको मात्र प्रदर्शनी तथा मेलाको आयोजना हुने गर्छ। नान मात्र पाइने छुट्टै बजार पनि छ। अनि नान सङ्ग्रहालय र नान महोत्सव पनि। सन् २०२० को मे महिनामा सिन्च्याङको खशकरमा 'नान सांस्कृतिक तथा औद्योगिक पार्क' स्थापना भएको छ। १० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको यस पार्कमा २ हजार व्यक्तिले काम पाएका छन्। यहाँ नान बनाउने कला प्रदर्शनीसँगै सिकाइन्छ पनि। नानकै बारेमा नाटक र नृत्य पनि प्रदर्शनी हुन्छ। नानको व्यापार पनि कति हो थाहा छ?अनलाइन र सहभागीले प्रत्यक्ष किन्ने गरेको सबै मिलाउँदा दैनिक ५ लाख चिनियाँ युआन अर्थात् झन्डै एक करोड रुपैयाँ दैनिक।

नान सङ्ग्रहालयमा राखिएका नानबाट यसको इतिहासदेखि वर्तमानसम्म जानकारी समेटिएको छ। पहिलेका मान्छेले कसरी र कस्तो नान बनाउँथे भन्ने कुरासँगै हिजोआज नानबाट सिन्च्याङका मान्छेको आर्थिक अवस्था सुद्रिएको कथा प्रष्ट्याउने गर्छन् यस्ता नान सङ्ग्रहालयले।

कतिपय पार्कमा विशाल प्लास्टिकका नानका नमूनाहरु राखिएका हुन्छन्। बजारमा नानकै नमूनामा विभिन्न खेलौना र अन्य सामान किन्न पाइन्छ। साँचो बोक्ने किरिङ, महिलाहरुले झोलामा झुण्डाइने नमूना, केटाकेटीका लुगा, घरभित्रका सजावट सामग्री सबैतिर नान अङ्कित चित्रहरु। उपहार दिन अथवा खान जे भए पनि सिन्च्याङ आउने पर्यटकले किनेर बोक्ने पनि नान। यस्तो लाग्छ सिन्च्याङ भनेकै नान हो र नान भनेकै सिन्च्याङ। काठमाडौँमा आफूलाई मिठो लाग्ने नानको माहोल त सिन्च्याङ आएपछि पो थाहा पाइयो। नानको महिमा अपरम्पार रहेछ प्रभू।