• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

कांग्रेसको निर्णय: चितवन–२ मा जितनारायणलाई उठाउने बारा–२ मा उपेन्द्रलाई सघाउने



file

काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख १० गते बारा–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ ।

बिहीबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा–२ मा जसपाका अध्यक्ष यादवलाई सघाउने निर्णय गरेको हो । सो क्षेत्रमा यसअघि जसपाकै रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको थियो । उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि खाली भएको उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसले चितवन–२ मा भने पार्टीका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो ।

तर दोहोरो नागरिकता प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत भइसक्नुभएका लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो निर्वाचन क्षेत्रमा पनि आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

उक्त निर्वाचन क्षेत्रबाट रास्वपाले पुन: लामिछानेलाई उम्मेदवार बनाउँदैछ । उहाँविरुद्धको राहदानीसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरिसकेको छ ।

त्यसगरी कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएकाले सो क्षेत्रमा पनि उपनिर्वाचन हुनेछ ।