२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

दाङमा सर्पदंशको जोखिम वृद्धि

दाङमा सर्पदंशको जोखिम वृद्धि
अ अ+ अ-

देउखुरी । वर्षाको समय शुरु भएसँगै दाङमा सर्पदंशको जोखिम बढेको छ । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरालाई यही असार ४ गते विषालु सर्पले डस्यो । सोही दिन बिहान ७ः०० बजे गोठमा पराल लिन गएको समयमा उहाँलाई सर्पले डसेको थियो । उपचारका लागि सर्पदंश उपचार केन्द्र गढवामा लगियो । 

त्यहाँ पुर्‍याउँदा बिरामीको अवस्था जटिल भइसकेको थियो । सम्भव नभएपछि त्यहाँबाट अन्यत्र सिफारिस गरियो । लमही अस्पतालमा बालिकाको मृत्यु भयो । “सर्पदंशमा उपचार थाल्न खोजियो, भेनल ओपन नै भएन”, सर्पदंश उपचार केन्द्र गढवामा कार्यरत स्वास्थ्यकर्मी देवीराम आचार्यले भन्नुभयो, “बिरामी अर्धचेत अवस्थामा थियो, विष चढिसकेकाले उपचार नै शुरु गर्न सकिएन ।” 

सर्पदंशका बिरामीलाई विषालु सर्पले डस्यो भने अस्पताल पुर्‍याउन कुनै अलमल गर्नु हुँदैन । त्यो ज्ञान सर्वसाधारणलाई नभएका कारण बिरामीको अकालमा ज्यान जाने गरेको आचार्यले बताउनुभयो । सो गाउँपालिकाको लगानीमा निर्माण भएको भवनमा नेपाली सेना रिपुमर्दन गण दाङको प्राविधिक सहयोगमा सर्पदंशको उपचार शुुरु गरिएको हो । उक्त उपचार केन्द्रमा तत्कालका लागि नेपाली सेनाले तीन तालीम प्राप्त स्वास्थ्यकर्मी खटाएको छ भने गाउँपालिकाले दुई दक्ष स्वास्थ्यकर्मी परिचालन गरेको छ । 

राजपुर गाउँपालिका–३ निवासी १० वर्षीय सङ्गम यादवलाई गत वर्ष असार २६ गते विषालु सर्पले डस्यो । उपचारका लागि लमही ल्याउन खोजियो  तर ढिला भयो । धान रोप्नका लागि खेत तयार पार्न सङ्गम बुबा–आमासँगै खेतसम्म पुग्नुभएको थियो । खेतको आलीमा उभिएको बेला सर्पले डसेको थियो । त्यसपछि सङ्गमको शरीरमा विष चढ्न थाल्यो । सर्पले डसेको आशङ्कामा आली खन्दा मुसा भेटिएको थियो । मुसाले टोकेको भनेर ढुक्क हुने अवस्था नभएपछि उपचारका लागि अस्पताल पु¥याउन थालियो । लमही पु¥याउन नपाउँदै बीच बाटोमै सङ्गमको मृत्यु भयो । 

“समयमा थाहा पाउन पनि सकिएन, बेहोस भएपछि सर्पले डसेको अड्कल गरियो”,  बुबा गुरुप्रसाद यादवले भन्नुभयो, “सर्पले डसेर छोरा गुम्यो, उसलाई बचाउन सकिएन ।” दाङमा सर्पदंशका बिरामीले उपचारको अभावमा ज्यान गुमाउने गरेका छन् । अस्पताल पुर्‍याउन ढिलो हुँदा सर्पदंशका बिरामीले अकालमा ज्यान गुमाउने गरेका हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र अन्य स्वास्थ्य एकाइबाट सर्पदंशका बिरामीलाई प्राथमिक उपचारपछि जिल्लाबाहिर पठाउने गरिएको थियो । गढवामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यो समस्या समाधान भएको छ । सर्पदंशका कारण हरेक वर्ष कम्तीमा पाँचदेखि सात व्यक्तिको मृत्यु हुने गरेको थियो । वर्षा र गर्मी दुवै मौसममा सर्पदंशका घटना बढ्ने गर्छन् । 

दाङ पनि सर्पदंशको जोखिमको जिल्लाभित्र पर्छ । त्यसमध्ये देउखुरी क्षेत्र बढी जोखिम मानिन्छ । गढवामा सर्पदंशको उपचार हुने गर्छ । लमहीमा सञ्चालनको तयारीमा छ । सो सर्पदंश उपचार केन्द्रमा विषालु सर्पले डसेर उपचारका लागि पुगेकाले नयाँ जीवन पाउन थालेका छन् । बिरामीको अवस्था बिग्रिसकेपछि उपचार केन्द्रमा पु¥याउँदा उपचार गर्न गाह्रो पर्ने गरेको छ । 

“सर्पले डस्ने बित्तिकै उपचारका लागि पु¥याउनुपर्छ , झारफुक गर्ने, घरमै अलमलमा पर्दा बिरामीको ज्यान जोखिममा पर्छ”, स्वास्थ्यकर्मी देवीराम आचार्यले भन्नुभयो, “यहाँ आउने धेरै बिरामी विषालु नभएका सर्पले डसेर आउनुहुन्छ ।” बिरामी र आफन्तले ढिला गरी स्वास्थ्य संस्थामा ल्याउने भएका कारण बिरामीलाई बचाउन नसकिने अवस्था छ । 

गढवामा नेपाली सेनाको निगरानीमा उपचार हुने गरेको छ । लमही नगरपालिकाले लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनको तयारी गरेको छ । उपचारलाई प्रभावकारी रुपमा सञ्चालन गर्न देउखुरीमा स्वास्थ्यकर्मी तथा चिकित्सकलाई तालीम प्रदान गरेको छ । लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिकामा कार्यरत स्वास्थ्यर्मीलाई सर्पदंशको उपचार प्रभावकारी रुपमा सञ्चालन गर्न तालीम प्रदान गरिएको लमहीका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । 

आव २०७६-७७ मा मात्रै १३ व्यक्तिको सर्पले डस्दा मृत्यु भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क छ । हरेक वर्ष सर्पदंशका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ । आव २०७४-७५ मा दुई र ०७५-७६ मा तीन व्यक्तिको मृत्यु भएको केन्द्रका सूचना अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो  । देउखुरीको राजपुर, गढवा, राप्ती गाउँपालिका र लमही नगरपालिका सर्पदंशको उच्च जोखिममा छन् । सरकारी अस्पतालमा ‘एन्टी स्नेक भेनम’ भए पनि सर्पदंशका बिरामीले उपचार पाउँदैनन् ।

सर्पले डसेको खण्डमा बिरामीलाई सजिलो हुने गरी भुइँमा सुताएर शरीरमा कसिएको कपडा फुकाली दिनुपर्छ । डसेको ठाउँ वरिपरि प्रेसर ब्यान्डेज लगाउनुपर्छ । यी सबै कुरा गरिसकेपछि छिटोभन्दा छिटो नजीकैको उपचार केन्द्रमा पुर्‍याउनुपर्छ । (रासस, रञ्जीता अधिकारी)