• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने

बसाइँसराइले रितिदै जैमिनीका गाउँ



बागलुङको जैमिनी नगरपालिका

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ ।

सोही वर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे । मानवीय क्षति नभए पनि अधिकांश घरको उठिबास लाग्यो । पैञ्युथन्थापकै घ्युरमा आएको पहिराले गाउँले विस्थापित बने ।

जैमिनैकै दमेक, जैदी र बिनामारेमा पहिराले धेरै धनजनको क्षति भयो । तत्कालका लागि पहिराले पुर्‍याएको क्षतिको राहत त पीडितले पाए, तर बाढीपहिरो, बाँदर र विकास अभावले भइरहेको बसाइँसराइका दीर्घकालीन प्रभाव भने देखिन सुरु गरेको छ । प्राकृतिक प्रकोपका कारण भइरहेको बसाइँसराइको एउटा ज्वलन्त उदाहरण हो जैमिनीको जनसङ्ख्यामा आएको गिरावट । विसं २०७८ मा भएको राष्ट्रिय जनगणनाको तथ्याङ्कले यही उजागर गरेको छ ।

जैमिनीकै मुटु कुश्मीशेरामा रहेको शान्ति माध्यमिक विद्यालयको एसइई व्याच २०६४ का एक सय बढी विद्यार्थीमध्ये अधिकांशले कक्षा १२ उत्तिर्ण गरेपछि जैमिनी छाडेका जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ । शान्ति माविमा जैमिनीका अधिकांश विद्यार्थीले अध्ययन गर्थे । उच्च शिक्षाका लागि घर छाडेर हिँडेकामध्ये धेरैजसो गाउँ फर्किएनन् । युरोप, अमेरिका र देशकै ठूला सहरमा पुगेकाहरु उतै बसेका उहाँले बताउनुभयो ।

रोजगारीका अवसर गाउँमा नहुनु, कृषि पेसाले मात्रै गुजारा नचल्नुलगायतन कारणले नगरको जनसङ्ख्या घट्दो छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जैमिनीमा दुई दशमलव ५३ प्रतिशत जनसङ्ख्या ऋणात्मक रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसङ्ख्या ३२ हजार ४६ रहेकामा १० वर्षपछि २४ हजार छ सय २८ मा झरेको छ । ऋणत्मक जनसङ्ख्या हुनेमा फलेवास नगरपालिका पनि रहेको छ ।

“जनसङ्ख्या धेरै घटेको पाइएको छ”, उपप्रमुख शर्मा भन्नुहुन्छ । देश बाहिरभन्दा देशभित्रै बसाइँ सरेर जाने जैमिनीमा धेरै छन् । जैमिनीका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्य बसाइँसराइसँगै जन्मदर घट्दा जनसङ्ख्या घटेको बताउनुहुन्छ । जैमिनीमा एक प्रतिशतभन्दा कम जन्मदर रहेको तथ्याङ्कले देखाएको छ । रासस