६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाका अध्यक्षको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल शुक्रवार इन्डोनेशिया जाँदै (भिडियोसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन इन्डोनेशिया जानु हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा चैत्र ४ गतेदेखि १० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन शुक्रवार बेलुका इन्डोनेशिया प्रस्थान गर्न लाग्नुभएको हो ।

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल शुक्रवार बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्यहरु सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहनुहुनेछ । त्यस्तै संघीय संसदका महासचिव डा। भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, राष्ट्रिय सभा अध्यक्षको प्रमुख स्वकिय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जानकारी दिएको छ ।

सो सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरोः मोविलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्नुहुने भएको छ । त्यसैगरी सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिहरुको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्नुहुनेछ । न्यूज एजेन्सी नेपालसँग भ्रमणबारे संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको ठुलो जोखिममा रहेकाले यसका सम्बन्धमा गम्भिरतापूर्वक कुरा राख्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मुख्य विषय यसपालिको भनेको जलवायु परिवर्तनसँग सम्बन्धित छ । नेपाल जलवायु परिवर्तनको अत्यन्तै ठुलो एउटा संक्रमण, जोखिममा परिरहेको छ । हाम्रा हिमालहरु पनि पग्लिएर काला भइराखेका छन् । तापक्रम बढेको छ । अनि मौसममा पनि यस्तो परिवर्तन आइराखेको छ । अतिवृष्टि, अनावृष्टि धेरै खालका यसका प्रकोपहरु छन् । त्यसकारण यो विषयलाई नेपालले गम्भिरतापूर्वक लिएको छ र यिनै विषयमा केन्द्रीत भएर मैले त्यहाँको सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।’

अध्यक्ष तिमिल्सिनाले गोर्भनिङ काउन्सिलको २०९ औँ सत्रमा पनि भाग लिनुहुने कार्यक्रम रहेको छ । सो सत्रमा राष्ट्रिय सभा सदस्यद्वय भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटाले पनि सहभागिता जनाउनुहुनेछ । त्यसैगरी अनिता देवकोटाले महिला संसद् सदस्यहरुको बैठक एवं छलफलमा, उमाशंकर अरगरियाले युवा संसद सदस्यहरुको बैठक एवं छलफलमा भाग लिनुहुने संसद सचिवालयले जानकारी दिएको छ । प्रतिनिधि सभा सदस्य सुरेन्द्रबहादुर कार्कीले ‘इन्गेजिङ फर अ युनिभर्सल बन अन न्यूक्लियर टेस्टस्’ विषयमा हुने छलफलमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संघीय संसदका महासचिव भरतराज गौतम ‘एसोसिएसन अफ सेक्रेटरिज् जेनेरल अफ पार्लियामेन्ट्स’ सम्मेलनमा सहभागी हुनुहुनेछ ।

सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते शुक्रवार बेलुकी ८ः४५ बजे नेपाल फर्किने संघीय संसद सचिवालयले जनाएको छ ।