२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नतिजाप्रति जवाफदेही भएर जिम्मेवारी अनुरुपको काम गर्नुस्: गृहमन्त्री पौडेल (भिडियो सहित)



अ+ अ-

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री विष्णु प्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताउनुभएको छ । 

शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफुले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेहि भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताउनुभएको छ ।

उहाँले आफुसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताउनुभयो । संवैधानिक व्यवस्था र कानुनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उहाँले निर्देशन दिनुभयो । मन्त्री पौडेलले नतिजामुखि काम आफुले खोजेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिन । म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ ।

कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यसहिसाबले अगाडी बढ्नुपर्छ भन्ने मान्यता राख्छु । यहाँहरुले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ । कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन । गृह सचिवले हस्तक्षेप गर्दैन । संवैधानिक व्यवस्था, कानुनी प्रवन्ध र स्थापित प्रणालीहरु छन्, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारीपुरा गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ । मलाई नतिजा चाहिन्छ । नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरुले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु ।’

मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरीपनि आफुकहाँ नआउनको लागि निर्देशन गर्नुभयो । आफु मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उहाले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘म कहाँ एउटा पनि पुलिस नआओस् । अन्याय भयो भनेर साच्चि नै अन्याय अनुभुत गरेर आउछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोशनका निम्ति, थमौतिका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस् । प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ । मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही÷जिम्मेवार छौँ, त्यस ढंगले गर्नेछौँ । त्यसबाहेकका यावत् कामहरु यहाँहरुले गर्नुपर्दछ ।’

उहाँले राजनीतिक परिस्थितिको प्रभाव गृहमन्त्रालयमा पर्न नहुने पनि बताउनुभयो । अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्नपनि उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो – ‘राजनीतिक परिस्थितिको प्रभावचाहीँ गृह प्रशासनमा पर्नु हुँदैन । सुरक्षा निकायमा पर्नु हुँदैन । राजनीतिक परिस्थिति अलग चिज हो । त्यो आफ्नो ढंगले चल्दै गर्छ । त्यसबाट यहाँहरु प्रभाव नहुनुहोला । अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित हुँदैन । शान्ति सुरक्षा, जिउधनको रक्षामा रम्भिरताका साथ ध्यान दिनुस् ।’

मन्त्री पौडेलले आफु मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताउनुभयो । उहाँले गृह सचिवसँग दिनमा एकपटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिनुभयो ।