२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश कमिटीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत, पुर्नस्थापना तथा भौतिक संरचनाको पुनःनिर्माणको माग गर्दै नेकपा(एमाले) बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक बाढीमा परी मृतक भएकाका परिवारलाई क्षतिपूर्ति र राहत तथा विस्थापित ४०० परिवारलाई राहत र पुर्नस्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री ओलीसँग नदीहरुको नियन्त्रण, खानेपानी, विद्युत, सडक, पुल लगायतका विग्रिएका संरचनाहरुको तत्काल पुनःनिर्माण गर्नपनि एमाले बागमती प्रदेश कमिटीले ध्यानाकर्षष गराएको छ । ज्ञापनपत्रमा मृतकको परिवारलाई क्षतिपूर्ति दिदैँ घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्नुपर्ने, दिर्घकालीन एकिकृत पुनःनिर्माणको लागि कार्य प्रारम्भ गरिनुपर्ने, ४०० परिवारलाई अस्थाइ बसोबासका लागि प्रति प्रतिवार ८ बण्डल जस्तापाता तुरुन्त व्यवस्था गर्नुपर्ने, नदी किनारामा तटबन्ध निर्माण गर्नुपर्ने, बिग्रेका मोटरबाटो मर्मत गरी सञ्चालन गर्न योग्य बनाउनुपर्ने, अस्थाई झोलुङ्गेपुल बनाउनुपर्ने लगायतका माग गरिएको छ । 

नेकपा(एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलले बाढी पीडितको पुर्नस्थापनाका लागि र खोलामा तटबन्ध गर्नेदेखि क्षतिग्रस्त घरहरुलाई मर्मत गर्नका लागि प्रधानमन्त्रीबाट सकारात्मक आश्वास आएको र आफुहरु कार्यान्वयनको आशामा रहने बताउनुभयो ।

असार १ गते सिन्धुपाल्चोकको मेलम्ची, याङ्ग्री र लार्के खोलामा आएको बाढीमा परि सो क्षेत्रका १६ जनाको निधन भएको छ भने करिब ४०० परिवार विस्थापित भएका छन् । बाढीबाट विकासका सम्पूर्ण पूर्वाधारहरुमा समेत क्षति भएको छ ।