२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस १४औँ महाधिवेशन : यी हुन् सभापतिका आकांक्षी, कस्तो छ जोड घटाउ



अ+ अ-

काठमाडौं । मिति नजिकिएपछि कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ र भावी नेतृत्वका लागि दाबेदारी आउन थालेका छन् । पहिलो पुस्ताका शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै दोस्रो पुस्ताका नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ र डा. शेखर कोइरालाले सभापतिमा दाबी गरेका छन् ।

सभापति देउवाले १४औँ महाधिवेशनमा आफू पुनः सभापतिको उम्मेदवार बन्ने स्पष्ट पारिसकेका छन् । नेता कृष्णप्रसाद सिटौलाले भने अहिले उम्मेदवारीबारे बोलेका छैनन् । भावी नेतृत्वको दाबेदारीका लागि उनीहरूका आ–आफ्ना तर्क छन् । 

कोभिड– १९ को जोखिमबीच नेतृत्वका आकांक्षीले महाधिवेशनलक्षित भेटघाट, संवाद र छलफल अघि बढाएका छन् । १६ देखि १९ भदौेसम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको कार्यतालिका छ । प्रमुख प्रतिपक्षी दल र देशको पुरानो लोकतान्त्रिक पार्टी भएका नाताले कांग्रेस महाधिवेशन सिंगो देशकै राजनीतिक मार्गचित्रका लागि अर्थपूर्ण छ । 

देउवा : बलियो दाबेदारी, तर छैनन् विवादमुक्त

कांग्रेसका वर्तमान सभापति देउवा दुईपटक सभापति बन्न पाउने पार्टीको विधानबमोजिम फेरि सभापति भएर आफूमाथि लागेको ‘असफल सभापति’को छवि सुधार्न चाहन्छन् । यस आधारमा उनी स्वाभाविक र बलियो दाबेदार हुन् । ७६ वर्षे देउवालाई पटक–पटक पार्टी र सरकारको नेतृत्व गरिसकेका कारण अब विश्राम लिन उनकै सहकर्मीबाट दबाब छ । तर, उनले १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गर्दै आफूनिकट नेताहरूसँग छलफलसमेत गरिरहेका छन् ।

‘मेरो नेतृत्वमा कांग्रेस पराजित भयो । कांग्रेसले जारी गरेको संविधान र लोकतन्त्र संकटमा छ, यस्तो वेला म पुनः पार्टीको नेतृत्व गरेर देशको पहिलो पार्टी बनाउन चाहन्छु । मुलुकलाई सही ट्र्याकमा ल्याउन चाहन्छु,’ देउवाले भनेका छन् । उनले आफूलाई सभापति बनाउन सातै प्रदेशका नेताहरूसँग छलफल गर्दै बढीभन्दा बढी महाधिवेशन प्रतिनिधि आउने गरी तयारी गर्न निर्देशन दिएका छन् । 

चारपटक प्रधानमन्त्री भइसकेका देउवा ०४६ सालपछि नेपाली राजनीतिका शक्तिशाली खेलाडी हुन् । नेविसंघको दोस्रो सभापति बनेका देउवाले आठौँ महाधिवेशनपछि तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको लिगेसी पछ्याए । १०औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापतिमा पराजित भए । ०५९ मा कांग्रेस विभाजन हुँदा उनले नेपाली कांग्रेस प्रजातान्त्रिकको नेतृत्व गरे । 

०६४ मा पार्टी एकतापछि १२औँ महाधिवेशनमा पुनः सुशील कोइरालासँग पराजित भएका देउवा १३औँ महाधिवेशनबाट सभापतिमा चुनिए । तर, पटक–पटकको प्रयासपछि कोइराला बिरासत तोडेर सभापति हुने सौभाग्य पाएका देउवा पार्टी सभापतिको भूमिकामा लोकप्रिय बन्न सकेनन् । 

१३औँ महाधिवेशनमा सभापतिमा उनले पौडेललाई पराजित गरेका थिए । अर्का प्रत्याशी सिटौला भने पहिलो चरणबाटै बाहिरिए । त्यसयता पार्टीको केन्द्रीय समिति र संसदीय दलमा देउवा प्रस्ट बहुमतमा छन् । तर, उनकै नेतृत्वमा भएको निर्वाचन परिणाममा कांग्रेस इतिहासमै कमजोर बन्यो । उनीमाथि पार्टीलाई विधान र पद्धतिमा हिँडाउन नसकेको र संसद्मा प्रमुख प्रतिपक्षीको भूमिकामा समेत कमजोर देखिएको आरोप छ । तर, उनीनिकट नेताहरू भने पछिल्लो राजनीतिक घटनाक्रमले देउवाको छवि सुध्रिएको दाबी गर्छन् । 

उनीनिकट केन्द्रीय सदस्य सीता गुरुङ सभापतिमा देउवाको बलियो दाबेदारी रहेको बताउँछिन् । ‘म सभापति भएकै वेला दुई कम्युनिस्ट पार्टी मिले । कांग्रेसले कम सिट जिते पनि लोकप्रिय भोट पाएको छ । पार्टीभित्र पनि मैले सोचेजसरी काम गर्न पाइनँ । कोरोना र विविध कारणले वेलामा महाधिवेशन पनि हुन सकेन,’ देउवालाई उद्धृत गर्दै गुरुङ भन्छिन्, ‘मेरो नेतृत्वमा पार्टीको विधानमा समावेशी र सामूहिक नेतृत्व प्रणालीको विकास भएको छ, त्यसलाई कार्यान्वयन गर्छु । पहिलो पार्टी बनाउँछु । र, मुलुकलाई लोकतन्त्र र संविधानको बाटोमा डोर्याएपछि नेतृत्व तपाईंहरूलाई नै सुम्पिने हो ।’ 

पौडेल : पाएका छैनन् पार्टी र सरकारको नेतृत्व गर्ने अवसर

पार्टीभित्र प्रतिपक्षीको नेतृत्व गरिरहेका वरिष्ठ नेता पौडेल पनि १४औँ महाधिवेशनबाट सभापतिको दाबी गरिरहेका छन् । उनी अब सभापतिका लागि आफूसँग प्रतिस्पर्धा गर्ने कोही पनि नभएको दाबी गर्छन् । पार्टीभित्र नेतृत्व पुस्तान्तरणको बहस चलिरहँदा पौडेलले प्रश्न गरेका छन्, ‘मैले देउवाजीसँगै सती जानुपर्ने कारण के छ ? उहाँ हट्दा उहाँसँगै बढारिनुपर्ने ? के त्यो न्यायोचित छ र ?’ 

तर, उनले नेतृत्व गर्दै आएको समूहमा उनले सम्मानजनक ठाउँ लिएर नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्ने आवाज चर्को छ । पौडेललाई दर्जनभन्दा बढी नेतालाई मिलाएर अघि बढ्नुपर्ने चुनौती छ । पौडेलले शुक्रबार मात्रै आफूनिकट केन्द्रीय सदस्यको भेला गरेर आन्तरिक छलफल गरेका छन् । 

१३औँ महाधिवेशनमा कोइराला परिवारको बिरासत बोकेर सभापतिको उम्मेदवार बनेका पौडेल पराजित भएका थिए । कांग्रेसको भ्रातृ संस्था नेविसंघको संस्थापक सदस्य पौडेलले ०४० पछि पार्टीभित्र विभिन्न भूमिकामा रहेर काम गरेका छन् । ७७ वर्षीय पौडेल पार्टीको महामन्त्री, उपसभापति र कार्यबाहक सभापतिसमेत भइसकेका छन् । 

पटक–पटक मन्त्रीसमेत भइसकेका पौडेललाई अहिलेसम्म पार्टी र सरकारको नेतृत्व गर्ने अवसर भने जुटेको छैन । पराजित हुने थाहा हुँदाहुँदै पार्टीका लागि आफू १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार बनेको उनी बताउँछन् । तर, त्यही कारण पौडेलले पदका लागि आसक्ति देखाएको भन्दै आलोचना हुने गरेको छ ।

५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसयता पौडेलले संविधान र लोकतन्त्रका पक्षमा गरेको वकालतले उनको पक्षमा जनमत बढेको उनीनिकट नेताहरू बताउँछन् । 

निधि : देउवाका सारथि, छिमेकको सद्भाव

उपसभापति निधिले १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनले लामो समयदेखिको तयारी र छलफलपछि मात्रै आफूले उम्मेदवारी दिएको भन्दै अहिले हल्का रूपमा उम्मेदवार गर्ने कुरा गरेको भनेर नबुझ्नसमेत आग्रह गरेका छन् । 

पार्टी विभाजन हुँदासमेत सभापति देउवाको साथ नछाडेका निधिले देउवालाई सहज रूपमा आफूलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् । ‘मैले अहिलेसम्म साथ दिएको छु । अब तपाईंको सहयोगमा म पार्टीको सभापति बन्ने हो । म पार्टी चलाउँछु । बरु तपाईं प्रधानमन्त्री बन्नुस्,’ निधिले देउवालाई भेटेर भनेका छन् । तर, सभापति उठ्ने अडान देखाएपछि देउवासँग उनको सम्बन्ध चिसिएको छ । 

देउवाले निधिले आफूलाई छाडे पनि खासै ठूलो असर नपर्ने ठानेका छन् । ‘विमलजी अहिले पनि पार्टीको उपसभापति हुनुहुन्छ । त्यसैले अब उहाँ सभापतिको स्वाभाविक उम्मेदवार हो । उहाँले सभापतिजीलाई पनि भेटेर भनिसक्नुभएको छ । अरूसँग पनि छलफलमा हुनुहुन्छ,’ निधिनिकट एक नेताले भने, ‘अहिले कोही छैन भन्ने देखिन्छ । तर, परिस्थिति बनेपछि थाहा हुन्छ । अहिले यत्ति मात्रै भन्छु ।’ देउवा आफैँ पुनः सभापतिमा दोहोरिन चाहेपछि निधि संस्थापनइतर समूहसँग निरन्तर छलफलमा छन् । कांग्रेस र भारतबीच सम्बन्धमा खटपट भइरहँदा निधिलाई छिमेकको सद्भाव रहेको कांग्रेसकै नेताहरूको दाबी छ ।

अब पहिलो पुस्ताबाट पार्टी र मुलुकको नेतृत्व सम्भव नरहेको बताउने निधि आफैँ ६५ वर्ष पुगिसकेका छन् । ‘अब पहिलो पुस्ताको नेतृत्व परीक्षण भइसक्यो । उहाँहरूप्रति सम्मान छ, तर अब पार्टीको नेतृत्व उहाँहरूले हामीलाई हस्तान्तरण गर्नुपर्छ । मैले सभापतिजीलाई पनि भनिसकेको छु, म सभापतिमा लड्छु,’ निधिले भनेका छन् । 

उपसभापति निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका छोरा हुन् । उनी ०३६ मा नेविसंघको सभापति बनेका थिए । तर, बुबा आफैँ सक्रिय राजनीतिमा भएकाले उनले केन्द्रीय राजनीतिमा मौका पाएनन् । नवौँ महाधिवेशनमा भीमबहादुर तामाङसँग केन्द्रीय सदस्यमा पराजित भएका उनी १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । 

कांग्रेस विभाजन हुँदा उनी देउवासँगै उभिए । देउवाले उनलाई विभाजित पार्टीको महामन्त्रीसमेत बनाए । पार्टी एकतापछि १२औँ महाधिवेशनमा महामन्त्री पदमा प्रकाशमान सिंहसँग पराजित भएका निधिले १३औँ महाधिवेशनमा पनि महामन्त्री दाबी गरेका थिए । तर, देउवालाई सभापति जिताउन उनी केन्द्रीय सदस्य मात्रै लडे । केन्द्रीय सदस्य जितेका निधिलाई ०७५ मा सभापति देउवाले उपसभापति मनोनीत गरेका थिए । 

डा. शशांक : बिपीका छोरा, धर्मनिरपेक्षताका पक्षपाती

महामन्त्री डा. कोइराला पनि सभापतिको स्वाभाविक र बलियो उम्मेदवार हुन् । कोइराला परिवारको बिरासतको नेतृत्व गरिरहेका कारण पार्टीमा उनको शक्ति बलियो छ । उनले आफ्नो दाबी मात्रै अघि सारेका छैनन्, आफ्नो टिमबाट देउवालाई पराजित गर्न सक्ने आफू मात्रै भएको बताउँदै आएका छन् । ‘कांग्रेसलाई बिपीले देखाएको बाटोमा अघि बढाउन पनि एकपटक सभापति बन्छु । कांग्रेसलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा लैजान्छु । देउवालाई जित्न सक्ने उम्मेदवार म मात्रै हो,’ उनले भनिरहेका छन् । 

कांग्रेसको राजनीतिमा ६३ वर्षे कोइरालाको अरूको जस्तो भ्रातृ संस्था वा तल्ला तहमा काम गरेको लामो अनुभव छैन । संस्थापक नेता बिपी कोइरालाका छोरा उनी ११औँ महाधिवेशनबाट कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । १२औँमा पनि उनी केन्द्रीय सदस्यमा नै दोहोरिए । 

सुशील कोइरालाको निधनपछि १३औँ महाधिवेशनमा उनी महामन्त्रीमा निर्वाचित भए । सुशील कोइरालासँग सु–सम्बन्ध र बिपीको छोरा भएका कारण कोइराला परिवारको बिरासतका अनुयायीहरू डा. शशांकसँगै छन् । उनीमाथि पार्टीमा महामन्त्रीका रूपमा राम्रो काम गर्न नसकेको आरोप छ भने कतिपय मुद्दामा सभापति देउवासँग साँठगाँठ गरेको आरोप पनि लागेको छ । 

उनले दाजु सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधानमाथि राख्ने फरक मतले पनि वेलावेलामा चर्चा पाउँदै आएको छ । संविधानमा धर्मनिरपेक्षताको व्यवस्था छ । तर, डा. कोइरालाले भने ‘धर्मसापेक्ष पनि नहुने र निरपेक्ष पनि नहुने भन्दै धर्म स्वतन्त्र’ हुनुपर्ने दाबी गर्दै आएका छन् । ‘उहाँ हाम्रो टिमको सम्भावित र बलियो उम्मेदवार हो । तर, उहाँको निष्क्रियता र स्वास्थ्यको कुरा पनि छ, मिलेसम्म हाम्रो टिमबाटै एकजना मात्रै उम्मेदवार बनाउने कसरत भइरहेको छ,’ उनीनिकट एक नेताले भने । 

सिंह : गणेशमानका छोरा, पहिलो निर्वाचित महामन्त्री

कांग्रेसको पहिलो निर्वाचित महामन्त्रीसमेत रहेका प्रकाशमान सिंह सभापतिको आकांक्षी छन् । तर, उनले पावर सेयरिङ गरेर सामूहिक नेतृत्वका लागि खुला रहेकोसमेत भनिरहेका छन् । उनले अब सभापतिका लागि आफू ‘नेचुरल क्यान्डिडेट’ भएको दाबी गरिरहेका छन् । 

‘यो महाधिवेशनबाट नेतृत्व परिवर्तन हुनुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको हुँ, पार्टीलाई बलियो बनाउन, मुलुकको संविधान, लोकतन्त्र र अहिलेको व्यवस्थालाई संस्थागत गर्न र जनताको चाहना, कार्यकर्ताको चाहनाबमोजिम काम गर्ने नेतृत्व आउनुपर्छ भन्ने मेरो कुरा हो,’ उनले भनेका छन् ।

उनी संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् । तर, आफू गणेशमानको छोरा भएकै कारण पार्टीको सभापति हुनुपर्ने दाबी नगरेको बताउँछन् । ‘म नेविसंघदेखि पार्टीको जिल्ला सभापति भएर केन्द्रमा पुगेको हुँ । केन्द्रमा पनि पहिलो निर्वाचित महामन्त्री हुँ । उपसभापति पनि भइसकेँ,’ उनी भन्छन्, ‘ग्रास लेबलदेखि काम गरेको अनुभव र ज्ञान मसँग छ । पार्टी, देश र जनताका लागि काम गर्न सक्छु । त्यसैले सबै हिसाबले पार्टीको फस्र्ट म्यानका लागि म न्याचुरल क्यान्डिडेट हुँ ।’ उनले आफू पावर सेयरिङका लागि पनि तयार भएको बताए । 

०१३ मा जन्मिएका सिंह ०३६ मा नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष भए । ०३८ मा पार्टीको जिल्ला सदस्य, ०४३ मा जिल्ला सचिव, ०४५ मा सभापति भए । दुई कार्यकाल जिल्ला सभापति भएपछि १०औँ महाधिवेशनबाट उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भए । कांग्रेस विभाजन हुँदा देउवासँग गएका उनी उपसभापति थिए । एकतापछि पनि उपसभापति नै रहे । तर, १२औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भए । र, १३औँ मा केन्द्रीय सदस्य निर्वाचित भए । 

डा. शेखर :कोइराला परिवारका सदस्य, ‘लो प्रोफाइल’का बलियो उम्मेदवार

आसन्न महाधिवेशनमा सभापतिका लागि कांग्रेसभित्र ‘लो प्रोफाइल’का बलियो उम्मेदवार हुन् डा. शेखर । १३औँ महाधिवेशनमा महामन्त्री दाबी गरे पनि भाइ डा. शशांकका लागि छाडेर केन्द्रीय सदस्य लडेका थिए । केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित भएपछि उनी पार्टीको नेतृत्वका लागि देश दौडाहामा निस्किए । ७१ वर्षे कोइराला पार्टी वरीयतामा भने ३५औँ नम्बरमा छन् । तर, अधिकांश नेता–कार्यकर्ताले उनलाई आगामी महाधिवेशनपछि सभापतिका रूपमा हेर्न चाहेको उनको दाबी छ । 

००७ मा जन्मिएका उनी चिकित्सा पेसाबाट सेवानिवृत्त भएपछि राजनीतिमा आएका हुन् । पार्टी र सरकारी पदमा अनुभव नभए पनि आफ्नो उमेर भएकाले अब अर्कोपटकसम्म कुर्न नसक्ने उनी बताउँछन् । ‘मसँग कांग्रेसलाई अघि बढाउन सक्ने योजना छ । स्पष्ट भिजन छ । मसँग पार्टीलाई बलियो बनाएर चलाउन सक्ने इच्छाशक्ति छ,’ डा. कोइरालाले भनेका छन्, ‘मसँग युवा र अनुभवी पुस्तालाई मिलाएर सँगै डोर्‍याउन सक्ने क्षमता छ ।’ उनले पार्टी बलियो बनाउन केन्द्रदेखि तल्लो तहसम्म युवा पुस्ताको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउँदै आएका छन् । 

उनको अर्को लोकप्रिय बनेको एजेन्डा हो– एक व्यक्ति एक पद । ‘म सभापति बन्छु, पार्टी चलाउँछु । प्रधानमन्त्री अरू कोही बन्ने हो । एउटै व्यक्ति सबैतिर बसेर काम गर्न सक्दैन । फेरि म एकपटक मात्रै हो,’ उनले भनेका छन् । सबैजसो जिल्ला घुमिसकेका कोइरालाले केन्द्रीय समितिमा युवा नेताहरूको साथ खोजिरहेका छन् । उनले नेतृत्व परिवर्तन र पुस्तान्तरणका विषयमा युवा नेताहरू चन्द्र भण्डारी, बद्री पाण्डे, गगन थापा, धनराज गुरुङ, जीवन परियार र प्रदीप पौडेललगायत नेताहरूसँग पटक–पटक आवासीय छलफल नै गरेर रणनीति बनाएका छन् ।

सिटौला : तेस्रो समूहका नेता, निर्णायक भूमिका

पूर्वमहामन्त्री सिटौला अहिले पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका छन् । महाधिवेशन नजिकिँदै गर्दा पनि उनले आफ्नो उम्मेदवारीबारे बोलेका छैनन् । तर, महाधिवेशनबाट नेतृत्व चयनमा उनको भूमिका महत्वपूर्ण देखिन्छ । ‘अहिले वेला भएको छैन । समय आएपछि बोल्ने हो,’ उनले भनेका छन् । 

१३औँ महाधिवेशनमा उम्मेदवार बनेका कारण उनलाई अहिले स्वाभाविक दाबेदारका रूपमा मान्न सकिन्छ । तर, उनी अहिले आफैँ उठ्छन् वा अरू कसैलाई सघाउँछन्, निश्चित छैन । ००६ मा तेह्रथुममा जन्मिएका सिटौला झापाबाट राजनीतिमा सक्रिय छन् । उनी झापा कांग्रेसमा सिके प्रसाईंको कार्यसमितिमा जिल्ला सदस्य हुँदै ०४४ मा उपसभापति भए ।
०५३ मा झापा सभापति भएका सिटौला १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने । तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निकटमा रहेर काम गरेका उनले १२बुँदे समझदारी र ०६२/६३ को आन्दोलनमा महत्वपूर्ण भूमिका खेले । पार्टीको १२औँ महाधिवेशनमा सुशील कोइराला प्यानलबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । पछि कोइरालाले सिटौलालाई महामन्त्री मनोनीत गरे । 

गिरिजासँग निकट रहेर काम गरेका कारण कांग्रेसपंक्ति उनलाई राम्रो नेता मान्न तयार छ । सुशील कोइरालाको निधनपछि रामचन्द्र पौडेलसँग असन्तुष्ट बनेका सिटौला १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार भए । दोस्रो राउन्डमा उनले शेरबहादुर देउवालाई सघाए । अहिले उनी तेस्रो धारको नेतृत्व गर्छन् । उनीसँग युवा नेताहरू गगन थापा र प्रदीप पौडेललगायत भएकाले पनि उनको समूह चर्चामा रह्यो ।

तर, अब १४औँ महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेमा एकमत देखिँदैन । उनीनिकट एक केन्द्रीय सदस्य भन्छन्, ‘महाधिवेशनका मतदाता हेरेर तयारी गर्ने कुरा छ । अहिल्यै के गर्ने भन्ने टुंगो लागेको छैन । जोसँग सहकार्य गरे पनि जित्ने गरी सहकार्य गर्ने भन्ने तयारी छ ।’ ती नेताले सिटौला समूहले एकताबद्ध रूपमा कोही एउटा समूहलाई सहयोग गरे हारजित फरक पार्न सक्ने आकलन गरे ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।