२२ असार २०८३, सोमबार
,
Latest
सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न नागढुङ्गा–मुग्लिङ सडक विस्तारः नौबिसे–मलेखु खण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान सम्पन्न अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा केप भर्डेको विश्वकप यात्राबाट प्रेरित हुँदै नयाँ पुस्ताका खेलाडी ‘बजेटमा राजनीतिक विवाद, ओझेलमा विकासको बहस’ २४ घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो घट्दै सर्पदंशको उपचार लिने बिरामी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँदरले हैरान पारेपछि जंगलमै भुलाउन फलफूल खेती



अ+ अ-

तनहुँ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको छ । बाँदर आतङ्क रहेको यस ठाउँमा बाँदरलाई जङ्गलमै भुलाउन विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण शुरु गरिएको हो । 

डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा नमूना फलफूल वन स्थापना गर्ने उद्देश्यले फलफूलका बिरुवा रोपिएको हो । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले फलफूलका बिरुवा रोपेर उक्त कार्यको शुभारम्भ गर्नुभएको छ । जङ्गलमा बाँदरको आहारा पाइन छाडेपछि त्यसको खोजीमा बाँदर मानव वस्ती छेउ आउने गरेका छन् । मानव वस्ती छेउमा आउन बाँदरले कृषकले उत्पादन गरेको खेतीबाली नष्ट गरिदिने गरेको छ । बाँदर आतङ्कका कारण यहाँका कृषक हैरान छन् । 

बाँदर आतङ्क न्यूनीकरण गर्दै बाँदरलाई जङ्गलमै भुलाउन फलफूल खेती शुरु गरिएको सबडिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको तीन हेक्टर क्षेत्रफलमा १४ प्रजातिका ८ सय ५० वटा फलफूलका बिरुवा रोपण गरिनेछ । तनहुँमै पहिलो पटक उमाचोकमा बाँदर भुलाउन जङ्गलमा फलफूलको बिरुवा रोपण गर्न लागिएको प्रमुख रानाभाटको भनाइ छ । “बाँदरले आफ्नो आहाराको अभावमा किसानको खेतीबाली नष्ट गर्ने तथा मानिसलाई नै आक्रमण गर्ने समस्या न्यूनीकरणका लागि फलफूलका बिरुवा लगाउन लागेका हौं”, उहाँले भन्नुभयो ।

यस कार्यक्रमका लागि डिभिजन वन कार्यालय तनहुँले रु सात लाख ५० हजार सहयोग गरेको छ भने २० प्रतिशत सामुदायिक वनले लागत साझेदारी गर्नेछ । “बुट्यान जङ्गलमा बाँदरले मन पराउने वर्षेनी उत्पादन हुने खालका बिरुवा लगाउन शुरु गरेका छौ, दुई तीन दिनमा सबै क्षेत्रमा बिरुवा रोपेर सकिन्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँ काफल, चिउरी, जामुन, अमला, लोकल आँपहरु, कटहर, चिली लगायतका बिरुवा उत्पादन गरिनेछ । दुई तीन वर्षमा फलफूल उत्पादन हुने भएपछि बाँदर जङ्गलमै भुल्ने र बस्तीसम्म नजाने विश्वास गरिएको छ । “म्याग्देका विभिन्न ठाउँमा बाँदर आतङ्क छ, त्यसमध्ये पनि उमाचोकमा बढी नै आतङ्क रहेको पाइयो,” प्रमुख रानाभाटले भन्नुभयो, “विगतमा धेरै पटक खेतबारीमै गएर महिलालाई आक्रमण गर्ने गरेको घटना छ ।” 

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले फलफूलका बिरुवा उत्पादन भएपछि सर्वसाधारणले बाँदर आतङ्कबाट मुक्ति पाउने बताउँदै फलफूलका बिरुवा रोपणका लागि गाउँपालिकाका तर्फबाट रु दश हजार सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । 

स्थानीयवासी इन्द्र अधिकारीले फलफूल खेतीले बाँदर आतङ्क न्यूनीकरणका साथै आयआर्जन पनि गर्न सकिने बताउनुभयो । उमाचोक सामुदायिक वनका अध्यक्ष श्यामलाल श्रेष्ठले वनमै फलफूल भएपछि बाँदर त्यतै भुलेर बस्तीतिर नआउने भएकाले फलफूलका बिरुवा रोपिएको जानकारी दिनुभयो । “खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण पनि गर्ने गरेको छ, बाँदर आतङ्कबाट हैरानै भइयो,” श्रेष्ठले भन्नुभयो, “फलफूल खेतीले बाँदर आतङ्कबाट छुटकारा पाइएला भन्ने आशा छ ।” 
—कृष्ण न्यौपाने