२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

अफगानिस्तानबाट सेना फिर्ता भएपनि सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिज्ञा

अफगानिस्तानबाट सेना फिर्ता भएपनि सहयोग जारी राख्ने राष्ट्रपति बाइडेनको प्रतिज्ञा
अ अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानका शीर्ष नेताहरु समक्ष दिगो साझेदारीका लागि बचनवद्धता व्यक्त गर्नु भएको छ । अफगानिस्तानमा सक्रिय तालिबानीको हिंसात्मक कारबाही जारी रहेकै अवस्थामा अमेरिकी र नेटो फौज स्वदेश फर्कन लागेपछि दुई देशका शीर्ष नेताहरुबीच पछिल्लो घटनाक्रमबारे शुक्रबार साँझ समीक्षा भएको छ । 

अफगान राष्ट्रपति अश्रफ घानी र राष्ट्रिय मेलमिलापका लागि उच्च परिषदका अध्यक्ष अब्दुल्ला अब्दुल्लाहले ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनसँग भेट गर्नुअघि रक्षा मन्त्री लोयड अस्टिनसँग पेन्टागनमा अफगान सुरक्षा मामिला बारेमा छलफल गर्नु भएको थियो । 

राष्ट्रपति बाइडेनले अफगानिस्तानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अमेरिकी सेना स्वदेश फर्कने समय आइसकेकामा जोड दिनु भएको थियो । 

“अफगानिस्ताने आफ्नो भविष्यको निर्णय आफैं गर्नु पर्दछ,” राष्ट्रपति बाइडेनले अफगान नेताहरुसँगको आफ्नो भेटको शुरुमा संक्षिप्त टिप्पणी गर्दै भन्नुभयो । राष्ट्रपति बाइडेनले दिगो साझेदारी के हुन सक्छ भन्ने बारेमा विस्तृत वर्णन दिन चाहनु भएन । 

बाइडेन प्रशासनले आगामी सेप्टेम्बर ११ भन्दा अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना स्वदेश फर्काइसक्ने गरी तयारी भइरहेको अवस्थामा अफगान नेताहरु वासिङ्टन पुग्नु भएको हो । 

अफगानिस्तानमा अमेरिकी सेना बस्न थालेको २० वर्ष पुग्न लागेको छ । यस अवधिमा अमेरिकी र अफगानी सेना तथा सर्वसाधारणको ठूलो संख्यामा हत्या एवं मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् । 

राष्ट्रपति घानीले शुक्रबार नै अमेरिकी संसदकी सभामुख नान्सी पेलोसी र रिपब्लीकन पार्टीका सांसदहरुसँग भेटघाट गर्नु भएको थियो । उहाँले बिहीबार सिनेटमा रिपब्लीकन नेता मिच म्याक्कोनेलसँग पनि भेट गर्नुभयो ।

अमेरिकी रक्षा विभागका अनुसार सन् २००१ देखि जारी अफगान युद्धमा दुई हजार ४०० भन्दा बढी अमेरिकी सैनिकको मृत्यु हुनुका साथै २० हजारभन्दा बढी घाइते भएका छन् । युद्धका क्रममा तीन हजार ८०० भन्दा बढी अमेरिकी निजी सुरक्षागार्ड पनि मारिएको विभागको भनाई छ । 

यस युद्धबाट अफगानी सर्वसाधारण अझ बढी प्रताडित भएका थिए । युद्धमा ६६ हजार भन्दा बढी अफगानी सेनाको ज्यान गएको थियो भने २७ लाखभन्दा बढी मानिस विस्थापित भएका थिए । उनीहरुमध्ये अधिकांश इरानतर्फ पलायन भएका थिए ।

अमेरिकी सेनाको सबैभन्दा ठूलो हिस्सा स्वदेश फर्किए पनि अमेरिकी कुटनीतिज्ञको सुरक्षाका लागि करिब ६५० जना सैनिक मात्र अफगानिस्तानमा तैनाथ हुनेछन् । अमेरिकी अधिकारीहरुका अनुसार अर्को दुई साताभित्र कुटनीतिज्ञहरुको सुरक्षा व्यवस्था टुङ्गो लाग्नेछ । 

केही सय अतिरिक्त अमेरिकी फौज काबुल विमानस्थलमा सेप्टेम्बरसम्म रहने सम्भावना छ । उनीहरुले टर्कीका सेनालाई आवश्यक सुरक्षा प्रदान गर्नेछन् । 

समग्रमा, अधिकारीहरुले अमेरिकी र गठबन्धनको सैन्य कमान्ड, यसको नेतृत्व र अधिकांश सैनिकहरु जुलाई ४ सम्ममा वा त्यसको केही समयपछि फिर्ता हुने योजना रहेको बताएका छन् । यो योजना केही महिना अघि नै तयार भइसकेको बताइएको छ । 

यद्यपी सैन्य फिर्ता सम्बन्धी विस्तृत विवरण दिन अमेरिकी अधिकारीहरुले अस्वीकार गरेका छन् ।

पछिल्लो समय अफगानिस्तानमा चार हजारको हाराहारीमा अमेरिकी सेना बाँकी रहेको बताइएको छ । अमेरिकी सेनाको फिर्तीसँगै केही महिनाभित्रै अफगानिस्तानको सरकार र सैनिक पतन हुने अनुमान गरिएको छ । पछिल्लो समय तालिबान समूहले देशका धेरै जिल्लामा निरन्तर कब्जा गर्दै गएको र कैयौं जिल्लामा सेना एवं प्रहरीले आफ्ना पोस्टहरु छाड्न थालेका छन् । 

अमेरिकी राष्ट्रपतिको “ओभल कार्यालय”मा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति घानीले राष्ट्रपति बाइडेनसँगको छलफल सकारात्मक रहेको बताउनुभयो । उहाँले अमेरिकी सहयोग निरन्तर राख्ने बाइडेनको भनाईबाट आफूहरु आशावादी रहेको बताउनु भएको थियो । तर उहाँले आगामी दिनमा कठिनाईहरु रहेको पनि स्वीकार्नु भएको थियो । 

बाइडेनसँगको बैठकमा सहभागी अब्दुल्लाहले अमेरिकी सहयोगको निरन्तरताको आवश्यकताका बारेमा जोड दिनु भएको थियो । 

“हामीले के कुरा बिर्सिरहेका हुन्छौ भने अल–कायदाले अफगानिस्तानमा एक निश्चित तह पार गरेको थियो जुन सबै मुलुकको सुरक्षाका लागि खतरा थियो,” अब्दुल्लाहले एपीसँगको भेटमा भन्नुभयो । “यदि अफगानिस्तानलाई पूर्ण रुपमा परित्याग गरियो, समर्थन गरिएन भने अफगानिस्तान फेरि एकपल्ट आतंकवादी समूहहरुको आश्रयस्थलमा परिणत हुने खतरा छ ।”

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार पेरिसमा बोल्दै अफगानिस्तानमा बढ्दै गएको हिंसाका बारेमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “यदि तालिबान समूहले जबर्जस्ती शासन सत्ता हत्याउन खोजे युद्धको नवीकरण हुने वा त्योभन्दा खराब अवस्था सिर्जना हुनेछ ।”

तैपनि, राष्ट्रपति बाइडेनमाथि अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर केही रिपब्लीकनले तिखो आलोचना गरिरहेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नै सन् २०२० मा तालिबान समूहसँग सन् २०२१ को मे महिनाभित्र सबै अमेरिकी फौज स्वदेश फिर्ता गर्ने सम्झौता गर्नु भएको थियो ।

रिपब्लीकन नेता मिच क्याक्कोनेलले बिहीबार अफगानिस्तानबाट सेना फिर्ता गर्न बाइडेन प्रशासनले हतार गरेको बताउँदै सेना फिर्ताबाट आतंकवादी त्रास अरु बढ्ने बताउनुभयो । उहाँले अमेरिकी सैनिक फिर्तीमा ढिलाई गर्न पनि आग्रह गर्नु भएको थियो ।

तर ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले पूर्व राष्ट्रपति ट्रम्पले नै सेना फिर्ता गर्नेगरी तालिबान समूहसँग सम्झौता गरेको बताउँदै अहिले त्यस सम्झौताबाट अमेरिका पछि हट्न नसक्ने स्पष्ट गर्नुभयो ।

राष्ट्रपति बाइडेनले अफगान राष्ट्रपति घानी र अब्दुल्लाहले सामना गर्नुपर्ने कठिन परिस्थितिका बारेमा जानकार रहेको पनि साकीले उल्लेख गर्नुभयो ।