२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री पदको प्रलोभनमा परेर पाँच दलिय गठबन्धनलाई धोका दिन्नँः माधव कुमार नेपाल



अ+ अ-

काठमाडौं । पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ५ दलिय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको प्रलोभनमा परेर धोका नदिने बताउनुभएको छ । 

संघीय संसद भवनमा सनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसंग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्ति विरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको बताउनुभएको हो । एमाले नै भएर एमालेकै सरकार विरुद्ध लाग्नुलाई उहाँले पार्टी भित्रको विद्रोही आवाज र क्रान्तिकारी आवाजको संज्ञा दिनुभयो । आफुले विगतमा पार्टी भित्र समस्या देखिने वित्तिकै जिम्मेबारीबाट आफु मुक्त भएको स्मरण गर्दै प्रधानमन्त्री ओली भने सत्तामोहमा लिप्त भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “हाम्रो लडाई केपी ओली व्यक्ति विरुद्धको लडाई होइन । केपी ओली प्रवृत्ति विरुद्धको लडाई हो । जब सत्ता, शक्ति र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाहे हुन्छ । केपी ओली जी मा त्यही सत्ताको, शक्तिको र पैसाको मात लागेको छ । तानाशाहहरु डेमोक्रेटिक सिस्टमबाट पनि जन्मिदा रहेछन् । हाम्रो देशमा पनि केपी ओलीको रुपमा नयाँ चरित्र हामीले पाएका छौ । त्यही पार्टीभित्र हामी पनि रहेका हौ । पार्टीभित्र समस्या हुने वित्तिकै राजीनामा दिएका थियौ प्रधानमन्त्रीबाट । नैतिकताको आधारमा पार्टीको प्रमुख पदबाट राजीनामा दिएका थियौ । तर केपी ओलीलाई सत्ता भईरहेपछि त्यो भन्दा बाहेक केही पनि छैन । त्यसकारण उहाँ भन्नुहुन्छ कि कुर्सी माग्ने हो भने कुर्सी ने भाँचिदिन्छु । कुर्सी ताक्ने प्रचण्डले ? भाँचिदिन्छु । कुर्सी ताक्ने माधव नेपालले भाँचिदिन्छु । अहिले शेर बहादुर जीले कुर्सी ताक्नुभयो, कुर्सी नै भाँचिदिनुभयो । न रहे बाँस न बजे बासुरी । ”

प्रधानमन्त्री ओलीले विगतमा पनि आफु, पुष्पकमल र बामदेवलाई एकै प्रकारका प्रलोभन देखाउने गरेको प्रसंग उल्लेख गर्दे उहाँले अब भने कुनै पनि किसिमले विच्चलित नहुने स्पष्ट पार्नुभयो । केपी ओलीको धेरैपटकको धोका र पटक पटकको चालबाजीबाट आफै हैरान भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीको पद दिएपछि माधव कुमार नेपालको मन विचल्लित हुने हो कि खुट्टा काम्ने हो कि ? समय छैन अब । राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संविधान र परिर्वतनको पक्षमा उभिएको र त्यसैमा उभिनुपर्छ भन्ने मान्यता बोकेर अघि बढेको हो । ओलीले गलत नीति, गलत विचार, चिन्तन र प्रवृत्ति छोडेर बुद्ध भएर फर्कनुहुन्छ भने ठिक छ । हुन त मलाई त्यत्ति विश्वास त छैन । ” उहाँले आफु कुर्सीका लागि नभई संविधान र लोकतन्त्रको रक्षाका लागि लडेकाले आफुले गठबन्धनलाई धोका नदिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “माधव नेपाललाई प्रधानमन्त्री आउँछ भन्ने होइन, आईसक्यो तर माधव नेपाल धोका दिने मान्छे होइन । प्रस्ताव फिर्ता गर्ने । कुनै पनि हालतमा यो प्रश्न छैन । ”