२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : रोमाञ्चक खेलमा इटाली विजयी, भाग्यशाली रहेन अस्ट्रिया



अ+ अ-

युइएफए युरो २०२० अन्तर्गत शनिबार मध्यराति भएको नकआउट चरणको दोस्रो खेलमा इटालीले सङ्घर्षपूर्ण खेलमा अस्ट्रियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

दुबै टिमबाट आक्रमण र प्रत्याक्रमण भए पनि निर्धारित ९० मिनेटको खेलमा दुबै टिमबाट गोल हुन सकेको थिएन । इटालीका खेलाडीले प्रहार गरेको एउटा बल गोलपोस्टमा लागेर फर्किएको थियो भने अस्ट्रियाका फर्वार्ड मार्को अर्नोटोभिचले दोस्रो हाफमा गरेको गोल “भार” बाट अफसाइड घोषित भएको थियो ।  

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटालीले अस्ट्रियामाथि पहिलो हाफको अधिकांश समय निकै दबाबमा राखे पनि दोस्रो हाफमा अस्ट्रिया निकै आक्रामक देखिएको थियो ।

निर्धारित ९० मिनेटमा गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको पहिलो हाफमा इटालीले दुई गोल गरेको थियो । पहिलो गोल ९५औं मिनेटमा फेडेरिको चिसाले गरेका थिए भने दोस्रो गोल म्याटिओ पेसिनाले १०५औं मिनेटमा गरे ।

तर ११४ औं मिनेटमा अस्ट्रियाका सासा कालात्जिकले कर्नर बललाई हेड मार्फत सुन्दर गोल गरेका थिए । त्यसपछि खेल बराबरी गर्ने गरी अस्ट्रियाले लगातार इटालीको पोस्टमा आक्रमण गरेको थियो, र सुन्दर मौका पनि सिर्जना गरेको थियो ।

यो जितसँगै इटाली क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अब आज आइतबार राति दुई भिषण खेल हुँदैछन् । पहिलो खेल नेपाली समय अनुसार राति ९.४५ बजे नेदरल्यान्ड्स र चेक रिपब्लिक तथा दोस्रो खेल मध्यराति १२.४५ बजे बेल्जियम र पोर्चुगलबीच हुनेछ ।

डेनमार्कद्वारा वेल्स ४-० गाेल अन्तरले पराजित

यसैबीच, युइएफए युरो २०२० अन्तर्गत शनिबार राति भएको नकआउट चरणको पहिलो खेलमा डेनमार्कले प्रभावशाली खेल प्रस्तुत गर्दै वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।  

युरोको समूह चरणमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेको डेनमार्कले नेदरल्यान्ड्सको आम्स्टर्डममा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको थियो । तर दोस्रो हाफको शुरुमै अर्को गोल गरेको डेनमार्कले त्यसपछि पनि वेल्स विरुद्ध निरन्तर दबाब बनाएको थियो ।

पहिलो दुबै गोल क्यास्पर डोल्बर्गले २७ र ४८ औं मिनेटमा गरेका थिए । बाँकी दुई गोल खेलको अन्त्यतिर भएका थिए । ८८औं मिनेटमा जोकिम माहेलाले तथा ९४औं मिनेटमा मार्टिन ब्राथवेटले सुन्दर गोल गरेका थिए ।

डेनिस खेलाडीलाई फल गरेको भन्दै ९०औं मिनेटमा वेल्सका ह्यारी विल्सनले रातो कार्ड पाएका थिए ।

समग्र खेल अवधिमा डेनमार्कले ८ पटक वेल्सको गोलपोस्टमा प्रहार गरेका थिए भने वेल्सले एक पटक मात्र डेनिस गोलपोस्टमा प्रहार गरेका थिए । उता ९ पटक डेनमार्कले कर्नर हान्ने अवसर पाएको थियो भने वेल्सले एक पटक मात्र कर्नरको अवसर जुटाएको थियो ।

समग्रमा डेनमार्कको खेल कौशल, आक्रमण र सटिक पास लोभलाग्दो थियो । अब यो विजयसँगै डेनमार्क क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

लिग चरणमा फिनल्यान्ड र बेल्जियमसँग पराजित भएपनि रसियालाई ४–१ गोल अन्तरले हराएर डेनमार्क प्रिक्वार्टरफाइनलमा पुगेको हो ।
––