
एजेन्सी । जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड तथा जर्मनीका पूर्व मिडफिल्डर ओजिलले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।
पछिल्लो समय उनी टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए । ३४ वर्षीय ओजिलले चार एफए कप र सन् २०१२ मा स्पेनिस ला लिगा उपाधिसहित नौ उपाधि जितेका छन् ।
जर्मनीका लागि ९२ क्याप जितेका उनी सन् २०१४ मा ब्राजिलमा भएको विश्व कपको उपाधि जित्दा टोलीका प्रमुख सदस्य थिए ।
पाँच पटक जर्मनीको वर्ष खेलाडी घोषित भएका ओजिलले सन् २०१८ मा नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । जर्मनबाट ओजिलले ९२ खेलमा २३ गोल गरेका छन् । उनले व्यवसायिक फुटबलको सुरुवात भने जर्मन क्लब साल्केबाट गरेका थिए ।
ओजिलले भने – ‘सोचविचार पछि म मेरो व्यावसायिक फुटबलबाट तत्काल सन्यासको घोषणा गर्दैछु । मैले लगभग १७ वर्षको लागि एक व्यावसायिक फुटबल खेलाडी बन्ने विशेषाधिकार पाएको छु । म यो अवसरको लागि अविश्वसनीय रूपमा आभारी महसुस गर्छु ।’
हालैका हप्ताहरू र महिनाहरूमा आफूले केही चोटहरू पनि भोग्नुपरेको र त्यसबाट फुटबलको ठूलो चरण छोड्ने समय हो भन्ने कुरा अझ बढी स्पष्ट भएको ओजिलले उल्लेख गरेका छन् ।
अगाडिको जीवन आफ्नी पत्नी, अमिन र दुई छोरीहरू इडा र एलासँग सबै कुराको लागि पर्खिरहेको बताउँदै ओजिलले आफ्नो गतिबिधिबारे सामाजिक सञ्जालमार्फत समय–समयमा जानकारी गराउने विश्वास पनि दिलाएका छन् ।