४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

महङ्गियो चलचित्र निर्माण

महङ्गियो चलचित्र निर्माण
अ+ अ-

काठमाडौँ । केही समयअघि तेलुगु चलचित्र उद्योगले सुटिङ नै बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी चलचित्र निर्माणको खर्च बढेको र हलबाट आउने शेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि निर्माताहरूको सङ्घ एक्टिभ प्रोड्युसर्स गिल्डले यो निर्णय गरेको थियो ।

त्यसको केही समयपछि कलाकारले दैनिक पैसा नपाउने र चलचित्र हलमा रिलिज भएपछि कम्तीमा आठ हप्तापछि मात्र ओटीटीमा रिलिज गर्न सकिने निर्णय गर्दै ‘उद्योग र प्रणालीलाई बलियो बनाऊ’ कदम चालेको निर्माताले बताएका थिए ।

नेपाली चलचित्रको अवस्था अहिले उस्तै छ । यो वर्ष हालसम्म प्रदर्शनमा आएका कबड्डी ४, प्रेम गीत ३, महापुरूष र छक्का पञ्जा ४ ले मात्र घरेलु बजारबाट मुनाफा आर्जन गरेको छ । अन्य चलचित्रहरू झिङ्गेदाउ, दुई नम्बरी र के घर के डेराले लगानी सुरक्षित गर्दै केही प्रतिशत मात्र मुनाफा आर्जन गरेको छ । नेपाली चलचित्रको लागत बढ्दो रहेको र त्यो अनुपातमा कमाइ नहुँदा धेरै निर्माताहरू लगानी उठाउनै मुस्किल रहेको बताउँछन् ।

तेलुगु चलचित्रमा देखिएको उदाहरण नेपालमा पनि देखिन सक्ने सङ्केत नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले गरे । “कलाकारले बजारलाई हेरेर पारिश्रमिक लिने हो कि वा चलचित्र भवनमा प्रदर्शनमा लाग्ने लागतलाई कम गर्ने हो कि ? भन्ने लगायतका विषयमा छलफल भइरहेको छ”, उनले भने, “निर्मातालाई चलचित्र बनाउने वातावरण सिर्जना गर्न कलाकारसँगै प्राविधिक तथा हल सञ्चलाक पनि साथमा रहनु पर्छ ।”

उनले कलाकारलाई उच्च पारिश्रमिक दिएर चलचित्रको लगानी बढाउने कार्य रहरमा बनेका निर्मातामार्फत भएको स्वीकार गरे । उनले भने, “रहरिया निर्माताले गर्दा निरन्तर चलचित्र बनाउनेलाई समस्या परिरहेको छ । यसबारे सम्बन्धित सङ्घसंस्थाले सोच्नै पर्छ ।” उनले यसबारे सङ्घले आधिकारिकरूपमा निर्णय गरेर नै अगाडि बढ्ने जानकारी दिए ।

चलचित्र निर्माण लागत बढ्नुमा प्राविधिक कारण नरहेको नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताए । उनले भने, “प्राविधिकले सरकारमार्फत तोकिएबमोजिमको ज्यालामा काम गर्न अप्ठेरो छ । त्यसैले निर्मातासँगको सहमतिमा पारिश्रमिक तय हुन्छ । निर्माणको लागत बढ्नुमा प्राविधिकभन्दा अन्य पक्ष सक्रिय छन् ।”

उनले प्राविधिकले पूर्ण पारिश्रमिक नपाउने गुनासो आइरहेको जानकारी दिए । “महिनामै दुईभन्दा बढी गुनासो आउने गरेको छ । हामीले अब वैशाखदेखि लागु हुने गरी सम्बन्धित सङ्घसंस्थासँग समन्वय गरेर न्यूनतम पारिश्रमिक निर्धारण गर्दैछौँ”, अध्यक्ष लामाले भने, “अन्तर्राष्ट्रियरूपमा आठ घण्टा काम गर्ने नियम भएता पनि १२ घण्टाको शिफ्ट बनाउने छौँ । हामी अप्ठ्यारो नभई उहाँहरूको सहयोगी हौँ ।” अध्यक्ष लामाले विदेशी चलचित्रको छायाङ्कनमा ६५ प्रतिशत नेपाली प्राविधिकको अनिवार्य सहभागिता पनि कडाइका साथ कार्यान्वयनमा ल्याउने जानकारी दिए ।

निर्देशकसँगै निर्मातासमेत रहेका ज्ञानेन्द्र देउजाले कलाकारमा गरिएको लगानी फिर्ता आउने अवस्था हुनुपर्ने बताउँदै अभिनेता राजेश हमालको समयमा लिने पारिश्रमिकको तुलनामा पाँच गुणाभन्दा बढी व्यापार हुने गरेको स्मरण गरे । “बजार व्यस्थापनमा फितलो हुँदा नै सङ्कट बढिरहेको छ । चलचित्र निर्माण गर्न अन्य कठिनाइ पनि छन् । यसमै पारिश्रमिक पनि अहिले मुख्य कठिनाइ बनेको छ”, निर्देशक देउजाले भने ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले देखिएका समस्यालाई विस्तारै समाधान गर्ने बताए । आफू नवनिर्वाचित भएकाले समस्यालाई पहिचान गरी समाधानमा लाग्ने उनले प्रतिक्रिया दिए ।

यही सन्दर्भमा निर्मात्रीसँगै अभिनेत्रीसमेत रहेकी पूजा शर्माले पारिश्रमिकको विषयमा दिएको अभिव्यक्तिको चर्चा भइरहेको छ । उनले सामाजिक सञ्जालमार्फत आफूले बजार अनुकूल हुने पारिश्रमिक मात्र लिने जानकारी दिएकी हुन् । “म अभिनय गर्दा निर्माता भएर सोच्ने छु । मेरो पारिश्रमिकले निर्मातालाई असर नगरोस् भनेर नै घोषणा गरेकी हुँ”, अभिनेत्री शर्माले भनिन् ।

बजार अनुकूलभन्दा पनि अहिले एउटा चलचित्र निर्माणमा लाग्ने लागत अस्वाभाविक रहेको देखिन्छ । लगानी गरिएको चलचित्रले बजारबाट लगानी सुरक्षित गर्न नसक्दाका समस्याबारे छलफल हुन थालेको छ । लागत बढ्ने क्रम तीव्र हुँदा निर्माताहरूले विकल्प खोज्ने गरेका छन् ।