२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप नकआउट : पोर्चुगल र बेल्जियम भिड्दै, नेदरल्यान्ड्स र चेक रिपब्लिकको खेल पनि आजै



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको युरो २०२० अन्तर्गत अन्तिम १६ को दोस्रो दिन आज दुई खेलहरु हुँदैछ । 

पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिकले प्रतिस्पर्धा गर्दैछन् । हंगेरीको पुस्कास एरेना मैदानमा ९ः४५ बजे सुरु हुने खेलमा दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् । 

समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले समूह 'सी' को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३९२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २९० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गरेको नेदरल्यान्ड्स युरो कपको बलियो दाबेदार हो ।

यता चेक रिपब्लिकले भने समूह 'डी' बाट नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको हो  । 

समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा चेक रिपब्लिक इंग्ल्यान्डसँग १-० ले  पराजित भएको थियो । 

यी दुई टिमले ११ पटक प्रतिस्पर्धा गरेका छन् । जसमा ५ खेलमा चेक रिपब्लिक विजयी भएको छ । ३ खेल नेदरल्यान्ड्सले जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ । यी दुई टिमबीचको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । 

यस्तै आज राति नै बेल्जियम र पोर्चुगलले पनि प्रतिस्पर्धा गर्दैछन् । यी दुई बीचको खेल स्पेनको सेभियामा इस्टेडीओ ला कार्टुजा डी मैदानमा राति १२ः४५ बजे सुरु हुनेछ । 

बेल्जियम समूह 'बी' को विजेता बनेर समूह चरणमा शतप्रतिशत जित निकाल्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको पहिलो स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २-० ले हराएको थियो ।

पोर्चुगल भने ग्रुप अफ डेथ मानिएको समूह 'एफ' बाट नकआउट चरणमा पुगेको हो ।

साविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो । पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २-२ गोलको बराबरी खेलेको थियो ।

जसमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत २ गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या १०९ पुर्याएका थिए । उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने इरानका अलि दाईसँग गोल संख्या बराबरी गरेका हुन् । 

दुबै टिम यसपटकको युरो विजेताको प्रमुख दाबेदार रहेकाले खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछ । यी दुई टिम हालसम्म १८ पटक आमनेसामने भएका छन् । जसमा पोर्चुगल ६ पटक विजयी भएको छ भने बेल्जियम ५ पटक विजयी भएको छ । यस्तै ७ खेल बराबरीमा सकिएको छ । यी दुईबीचको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।