१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकै बेचेरै जीविकोपार्जन



अ+ अ-

कमलामाई । जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ ।

‘आउनुहोस् हजुर, मकै खानुहोस्
रसिलो, पोषिलो, दुधिलो मकै
स्वादिलो नून, खुर्सानी, टिमुर
खाए मकै, नखाए भोकै’

सिन्धुली सदमुकाम सिन्धुलीमाडी बजारको व्यस्त सडकमा सुनिने यो आवाजले पदैलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँ रहेका व्यापारी र व्यवसायी पनि ठेला वरिपरी झुमिन्छन् । लाग्छ, नीरबहादुर विकको कुरा सबैले सुनिरहेका छन्, उहाँले भन्नुभएको कुरा मानिरहेका छन् ।

पोलेको मकैै बेच्न नीरबहादुरलाई भ्याइनभ्याई हुन्छ । बिहानभर घरमा पिर्सलेर राखेको घोगाको खोस्टा निकालेर कोइलामा मकै पोल्न व्यस्त हुनुहुन्छ, नीरबहादुरकी श्रीमती ४० वर्षीया शान्ता विक । नीरबहादुर रक्तचाप, मधुमेहलगायत रोगबाट पीडित हुनुहुन्छ । उहाँ श्रीमतीलाई सकेको बेला सघाउनुहुन्छ । दुई छोराछोरीकी आमा शान्तालाई दिनभर मकै पोल्न भ्याइनभ्याइ हुन्छ ।

विक दम्पतीलाई साँझसम्म सडकमा मकै पोल्दै, बेच्दै गरेको भेट्न सकिन्छ । मौसमी मकैभन्दा बेमौसमी मकै बढी बिक्ने भएपछि असिनपसिन भएर मकै पोल्दै गर्नुभएकी शान्ताले आफूले पोलेको मकै श्रीमान्ले बेचिदिँदा मात्रै पनि व्यवसायमा सहयोग पुग्ने बताउनुहुन्छ ।

विक दम्पतीको सहकार्य उदाहरणीय छ । धनुषाको मिथुलानगरपालिका–११ कालीखोला पुख्र्यौलीघर भएका विक दम्पती सिन्धुली आएर दुई वर्षदेखि मकै बेचेको कमाइले जीविका धान्दै आएका छन् । दैनिक ५० भन्दा बढी मकै बिक्री हुने गरेको शान्ताले बताउनुभयो । “प्रतिगोटा ३० रुपैयाँले बेच्दा हामीलाई १० रुपैयाँ फाइदा हुन्छ । खर्च कटाएर दैनिक रु पाँच सय आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो । चर्को घाम लागोस् वा गर्जेर पानी परोस् यसको विक दम्पतीलाई कुनै प्रवाह हुँदैन् । तर सडकमा ठेला लिएर मकै बेच्न हिँड्दा ट्राफिक प्रहरीको खप्की सहनुपरेको शान्ताले दु:खेसो गर्नुभयो ।

दलित भएकै कारण आफूले पोलेको मकै कतिपय व्यक्तिले नखाएका कारण थर परिर्वतन गरेर मकै बेचेको पीडा पनि विक दम्पतीसित छ । “सुरुसुरुमा विक थर बताउँदा हामीले पोलेको मकै धेरैले खाएनन््, घरबेटीले कोठा दिएनन् । त्यसपछि थर परिर्वतन गरेर मकै बेच्न थाल्यौँ,’ शान्ताले भन्नुभयो, “अहिले पनि हाम्रो घरबेटीलाई हामी विक हौँ भन्ने थाहा छैन, सोध्दा ‘माझी’ भन्ने गरेका छौँ ”

मकै जीवन निर्वाह गर्ने आधार भएको विक दम्पतीको भनाइ छ । मकै बिक्री गर्नका लागि उनीहरुले रु १५ हजारमा ठेला किनेका छन् । प्रतिकिलो दाउरा रु १२ मा किन्ने गरेका छन् । प्रतिबोरा कोइला रु दुई सयमा खरिद गर्ने गरेको उहाँहरु बताउनुहुन्छ । “हरियो मकै किन्न अन्यत्र जानु पर्दैन्, बिक्री गर्न घरमै ल्याइदिन्छन्”, शान्ताले भन्नुभयो । रासस