१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटेबाघका लागि प्रख्यात शुक्लाफाँटा



फाईल फोटो
अ+ अ-

दोधारा चाँदनी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघको प्रमुख बासस्थानका रूपमा प्रख्यात रहेको छ । पाटेबाघका लागि थोरै क्षेत्रफल भए पनि यहाँ ३६ बाघ रहेका छन् ।

विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात हुन थालेको छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थान लगायतले गर्दा बाघको सङ्ख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जभन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताउनुभयो । “शुक्लाफाँटा बाघको राम्रो बासस्थान बनेको छ”, उहाँले भन्नुभयो, “यहाँ बाघको आहाराका प्रजाति धेरै हुनुले पनि बाघको सङ्ख्या बढेको हो ।”

उहाँले शुक्लाफाँटाभित्र रहेको ठूलो घाँसेमैदान, तालतलैया र बाघका लागि प्रशस्त आहारा प्रजाति रहेको बताउनुभयो । शुक्लाफाँटामा बाघको प्रमुख आहारा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन् । “निकुञ्जभित्र प्राकृतिक ताल र तीन ठूला नदी छन्”, सहायक संरक्षण अधिकृत ऐरले भन्नुभयो, “योबाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ, त्यसले गर्दा वन्यजन्तुलाई प्यास मेटाउन सहज भएको छ ।”

निकुञ्ज क्षेत्रमा चौधर नदी, स्याली नदी र महाकाली नदी रहेका छन् । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख नदी रहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिको पनि संरक्षणले चोरीसिकारी शून्य भएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको हो ।

सन् २०१३ को गणनाअनुसार १७ बाघ रहेको यस निकुञ्जमा २०२२ को गणनामा सङ्ख्या ३६ पुगेको हो । निकुञ्जको वरिपरि मानव बस्ती भए पनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जमा सन् २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ । रासस