२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्ययन भन्छः एस्ट्राजेनेकाको खोप १० महिनाको अन्तरमा लगाउँदा झन् प्रभावकारी



अ+ अ-

एजेन्सी । अक्सफोर्ड युनिभर्सिटीद्वारा एस्ट्राजेनेकासँगको सहकार्यमा निर्मित कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको पहिलो र दोस्रो डोजको अन्तर ४५ साता (१० महिना) राख्दा प्रभावकारी हुने अध्ययनले देखाएको छ ।

अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनको नतिजामा यो खोपको तेस्रो डोजले प्रतिरोधी क्षमता अझै बढाउने बताइएको छ ।

अध्ययनमा दुई डोज लगाउने समयको अन्तर जति धेरै बढाइयो प्रतिरोधी क्षमता त्यति धेरै बढेको पाइएको थियो । दोस्रो डोज लगाएको ६ महिनापछि बुस्टरको रुपमा तेस्रो डोज दिँदा कोरोनाविरुद्धको प्रतिरोधी क्षमता थप वृद्धि हुने अध्ययनमा पाइएको छ । बुस्टरको रुपमा दिइएको तेस्रो डोज खोपले कोरोनाका नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि पनि सहयोग पुग्ने पाइएको छ ।

यस्तै अध्ययनमा पहिलो डोज खोप लिएका मानिसमा विकास भएको कोरोनाविरुद्धको प्रतिरोधी क्षमता कम्तीमा एक वर्षसम्म रहने भनिएको छ । पहिलो डोजको तुलनामा दोस्रो वा तेस्रो डोज खोप कम प्रतिक्रियाजनक हुने पनि अध्ययनको नतिजामा उल्लेख छ ।

अक्सफोर्ड युनिभर्सिटीले गरेको दुई अध्ययनमा १८ देखि ५५ वर्ष उमेर समूहका कोरोनाविरुद्धको पहिलो वा दोस्रो डोज खोप लिइसकेका मानिसहरुको सहभागीता रहेको थियो ।

अध्ययनको क्रममा सहभागी ३० जना स्वयंसेवकले एस्ट्राजेनेकाले पहिलो डोज खोपमात्र लिएका थिए । उनीहरुलाई १० महिनापछि दोस्रो डोज खोप दिइएको थियो ।