२१ असार २०८३, आईतवार
,
Latest
ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्कृष्ट कृषकलाई सुनको हलो



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सुनको हलो प्रदान गरिने बताउनुभएको छ । 

‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतमा आज धान दिवस मनाउने कार्यक्रममा कृषिमन्त्री शाहीले  आर्थिक वर्ष २०७८÷०७९ मा कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने र यसमा उत्कृष्टकार्य देखाउने कृषकलाई प्रदेश सरकारले सुनको हलोले सम्मान गर्ने बताउनुभयो । 

“कर्णालीमा १७ लाख जनसङ्ख्या छ तर एक लाख ३३ हजार मेट्रिकटन मात्र खाद्यान्न उत्पादन हुँदो रहेछ,” उहाँले भन्नुभयो, “उत्पादनमा वृद्धि ल्याई कृषिमा आत्मनिर्भरता बढाउन कृषकलाई हौसला मिलोस् भनेर प्रदेश सरकारले उत्कृष्ट कृषकसहित अन्य कृषकलाई पनि सम्मान गरिनेछ ।  ।” 

मन्त्री शाहीले कर्णालीमा कोदो, फापर, मर्कै, चिनो, कागुनोजस्ता रैथानी बाली उत्पादन गर्न कृषकलाई प्रेरणा मिल्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कर्णालीमा सातै प्रदेशमध्ये धान कम हुने  भए पनि प्रदेश सरकारले यो खेतीमा महत्व दिएको जनाउनुभयो । धान खेती मासिँदै जाँदा पोषण तथा खाद्य सुरक्षा सुनिश्चित हुन नसक्ने भएकोले खेती योग्य भूमि बचाउन सरकारदेखि नागरिक तहसम्मले जिम्मेवारीसाथ लाग्न उहाँले आग्रह गर्नुभयो । 

कर्णालीमा रोपाइँ आधा बढी
समयमै वर्षात हुँदा मध्य असारमै कर्णालीमा ५० प्रतिशत भन्दा बढी रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतले आकाशेपानीको भरमा धान रोप्नुपर्ने अधिकांश स्थानमा समेत रोपाइँ भइसकेको जनाएको छ । 

निर्देशनालयका अनुसार जुम्लामा सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ भएको छ । हुम्ला र डोल्पामा ८०÷८०, मुगुमा ७०, रुकुम पश्चिम र जाजरकोटमा ६५÷६५ प्रतिशत खेतमा रोपाइँ गरिएको छ । त्यस्तै, सल्यानमा ६०, दैलेख÷कालीकोटमा ४५ र सुर्खेतमा २० प्रतिशत रोपाइँ भइसकेको जनाइएको छ । निर्देशनालयका सूचना अधिकारी याम रानाले कर्णालीमा धान खेती हुने ४१ हजार ५०५ हेक्टरमध्ये २० हजार ४०० बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको जानकारी दिनुभयो । आज (असार १५) को तथ्याङ्क सङ्कलन हुन बाँकी रहेकाले यो संख्या बढ्ने उहाँको भनाई छ ।  

“यसपटक समयमै मनसुन सक्रिय भयो, किसानले समयमै बिउ राख्न, खेत खनजोत गर्न पाए”, सूचना अधिकारी रानाले भन्नुभयो, “समयमै वर्षा हुँदा उत्पादन राम्रो हुनेछ, कृषकहरु पनि उत्साही छन् ।” गतवर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ३।९५ प्रतिशत थियो । यस वर्ष बढ्ने अपेक्षा गरिएको छ । प्रदेशमा वर्षेनी झण्डै २६ हजार मेट्रिकटन खाद्यान्न अभाव हुने गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार कर्णालीमा तीन लाख १६ हजार ३९१ मेट्रिक टन हाराहारीमा धान उत्पादन हुन्छ । यहाँ तीन लाख ४८ हजार ७३२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ । कर्णालीका सुर्खेत र सल्यानमात्र धान उत्पादनमा आत्मनिर्भर मानिन्छन् ।