१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले शान्ति स्थापना: सभामुख

नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले शान्ति स्थापना: सभामुख
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिहरूको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ ।

अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा आइतबार साँझ सम्बोधन गर्दै सभामुख घिमिरेले नेपालका प्रमुख राजनीतिक शक्तिहरूको मौलिक पहलले नेपालमा एक दशक लामो सशस्त्र विद्रोहको अन्त्य भई शान्ति स्थापना भएको बताउनुभयो ।

“समावेशी सिद्धान्तलाई अङ्गीकार गर्दै सन् २०१५ मा जारी नेपालको संविधान कार्यान्वयनमा छ”, उहाँको भनाइ थियो, ‘यसैको परिणाम हाल हाम्रो सङ्घीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित हुन सफल भएका छन् ।”

सभामुख घिमिरेले ‘असहिष्णुता विरुद्ध लड्दै शान्तिपूर्ण सहअस्तित्व र समावेशी समाजको प्रवर्द्धन’ विषयमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्बोधन गर्नुभएको हो । सभामुखले नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको बताउँदै आफ्नो मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध नै शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्नुभएको छ । “ठूला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्वलाई स्वीकार र सहन गर्न नचाहँदाका दुष्परिणाम हामीले इतिहासका अनेक कालखण्डमा भोगिसकेका छौँ”, उहाँले भन्नुभयो, “असंलग्न आन्दोलनको संस्थापक सदस्य रहेको नेपाल सबै राष्ट्रहरूले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधँै अडिग छ ।”

नेपाली समाज विविधताले भरिएको बताउँदै सभामुख घिमिरेले नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्ने कुरामा संवैधानिक प्रतिबद्धता व्यक्त गरेको जनाउनुभयो । उहाँले भन्नुभयो, “यो नै हाम्रो सुन्दरता पनि हो र सामाजिक एकता र शान्तिको प्रतीक पनि ।”

सभामुख घिमिरेले प्रत्येक मानिस आफ्ना आकांक्षाहरूलाई प्राप्त गर्न र क्षमतालाई उजागर गर्न चाहने बताउँदै शान्ति र बृहत्तर एकता विना त्यसको प्राप्ति जटिल हुने उल्लेख गर्नुभयो । “शान्तिपूर्ण समाज निर्माणका लागि हरेक नागरिकको आत्मसम्मानसहितको लोकतान्त्रिक शासनको विकल्प छैन”, सुदृढ लोकतन्त्रका लागि समाजका हरेक व्यक्ति र समुदायले आफ्ना अधिकारहरू समान र सहभागितामूलक ढङ्गले उपभोग गर्न पाउनुपर्ने बताउँदै सभामुखले भन्नुभयो, “त्यसैले वञ्चितीकरणमा परेका समूहलाई मूलप्रवाहमा ल्याई निर्णय प्रक्रियामा सहभागी गराउन अपरिहार्य हुन्छ ।”

आजको समयमा सूचनामाथिको पहुँच बृहत् भएको बताउँदै सभामुख घिमिरेले भन्नुभयो, “सूचना प्रविधिको बढ्दो प्रयोगले गर्दा ससाना सूचना तत्कालै सजिलै विश्वव्यापी हुन्छन् । यद्यपि, आक्षेप, वादविवाद, झुठा विवरण, भ्रामक तथ्याङ्क, द्वेष, वितृष्णा र घृणात्मक अभिव्यक्तिहरूलाई निरूत्साहित गर्दै शान्ति, सहिष्णुता र सहअस्तित्वलाई प्रोत्साहन गर्नु आजको चुनौती हो । यसका लागि म यस मञ्चमार्फत विश्व समुदायको ध्यानाकृष्ट गर्न पनि चाहन्छु ।”

आईपीयुले एकता र समावेशीतालाई बारम्बार आफ्ना छलफलहरूको मुख्य विषय बनाउँदै आएको बताउँदै सभामुखले शान्तिपूर्ण सहअस्तित्व र समतामूलक समावेशी समाज स्थापनाका लागि नेपालका जनप्रतिनिधिहरूको तर्फबाट ऐक्यबद्धता समेत जनाउनुभएको छ । रासस